एमाले सांसदले मुख्यमन्त्रीलाई फिर्ता गरे बजेट पुस्तिका

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पुस्तिका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई फिर्ता गरेका छन् ।

एमाले सांसदले मुख्यमन्त्रीलाई फिर्ता गरे बजेट पुस्तिका

प्रदेशको सबैभन्दा ठूलो दललाई बाइपास गरेर बजेट निर्माण गरिएको‚ आफ्नो सरकार हुँदा सुरु गरिएका योजनाहरू कटौती भएको र चुनाव लक्षित कार्यक्रम ल्याएको भन्दै सांसदहरूले मुख्यमन्त्री पाण्डेलाई बजेट पुस्तिका फिर्ता गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर एमालेका सांसदहरूले आफूहरूको योजना बजेटमा नसमेटिएको भन्दै विरोध गरेर बजेट वक्तव्य फिर्ता गरेका थिए ।

‘बजेट सन्तुलित छैन; यसले जनताको हित पनि गर्दैन । चुनाव लक्षित गरेर साना योजना ल्याइएको छ; यो असाध्यै गलत हो‚’ एमाले सांसद अरुण नेपालले भने । उनले प्रतिपक्षी दलले भनेको कुनै पनि योजना बजेटमा नसमेटिएको बताए ।

एमालेले बजेटप्रति आपत्ति जनाउँदै आइतबारको प्रदेशसभा बैठकमा समेत अवरोध सिर्जना गरेको थियो । एमालेको विरोधसँगै आइतबार बिहान ११ बजेसम्मका लागि सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक स्थगित गरेका थिए ।

प्रकाशित : असार १२, २०७९ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?