कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रतिपरिवार ७ गाग्री पानी

केदार शिवाकोटी

दोलखा — बिहान मिरमिरेमै गाग्री बोकेर पानी भर्न लाइन बस्न पुग्छिन् गोपिनी बोहोरा । छिटो पुगे पानी भर्न पाइन्छ नभए रित्तै गाग्री लिएर फर्किनुपर्छ । वर्षौंदेखि उनको बिहानीपखको समय गाग्री लिएर हतार हतार पानी भर्न लाइनमा बस्नुपर्ने तालिका बनिसक्यो । मेलुङ गाउँपालिका-१ बोहोरा टोलमा ४५ घरका लागि एउटा धारो छ । त्यसमा पनि जम्मा ३ घण्टाका लागि मात्रै पानी आउँछ । 

प्रतिपरिवार ७ गाग्री पानी

हरेक घरको भागमा बिहानको ३ घण्टा पूरै समय धारामा पानी आएको दिन मुस्किलले दैनिक ७ गाग्री पानी भागमा पर्छ । टोलभरिकै लागि एउटा मात्रै धारा भएकाले झिसमिसेमै पानी जोहो गर्न पुग्नुपर्ने बाध्यता भएको उनले बताइन् । ‘पानी भर्नकै लागि झिसमिसेमै लाइनमा बस्न झर्छु‚’ उनले भनिन्, ‘कतिले त काम नलाग्ने पानी भर्ने भाँडा पनि राति नै लाइनमा राखेका हुन्छन्; त्यसमै झगडासमेत पर्ने गरेको छ ।’ दैनिक ७ गाग्री पानीका लागि मासिक एक सय बुझाउनुपर्ने नियम पनि रहेको उनले बताइन् ।

वर्षाको समयमा मुस्किलले ३ घण्टा पानी छाडे पनि हिउँमा निकै समस्या पर्ने गरेको उनले बताइन् । बिहान ६ बजेदेखि ९ बजेसम्मका लागि बोहोरा गाउँको एउटा धाराका लागि पानी छाड्ने नियम रहेको राजन बोहोराले बताए । पानी अभावकै कारण वस्तुभाउ पाल्नसमेत स्थानीयले छाड्दै गएको उनले बताए । ‘पिउनकै लागि पानी भर्न मारामार पर्छ,’ उनले भने, ‘वस्तुभाउका लागि कहाँबाट पानी ल्याउनु; मान्छेकै लागि त एक बिहान जान्छ पानी भर्दा ।’

पटक पटक स्थानीय सरकारसँग खानेपानीको व्यवस्थापनका लागि आग्रह गरे पनि सुनुवाइ नभएको उनले बताए । बोहोरा गाउँ मात्र होइन; छिमेकी सार्की गाउँ, विक टोलका ५६ घरधुरीका लागि जम्मा २ वटा धारा छन् । तर‚ मुहान भने एउटै हो । यी टोलमा पनि बिहान झिसमिसेमै पानी भर्न लाइन बस्नुपर्छ । विक टोलका २८ घरका लागि एउटा धारा छ । सोही धाराको भरमा खानेपानीको जोहो गर्नुपर्ने बाध्यता छ । पानी भर्न सहज होस् भनेर राति नै लगेर थोत्रा भाँडा लाइनमा राख्ने गरेको तारा रसाइलीले बताइन् ।

‘राति लगेर थोत्रा भाँडा राख्ने गरेको छु; त्यो पनि अरुले फाल्दिने र हराउने गर्छ,’ उनले भनिन्, ‘अरु टोलको धारामा पानी भर्न पाइँदैन‚ आफ्नोमा पालो पाउनै मुस्किल पर्छ ।’ खानेपानीको समस्या झेलेको दशक नाघिसकेको उनले बताइन् । यी टोलहरूमा चुनावको बेलामा मुख्य मुद्दा खानेपानीको बन्ने गरेको उनले सुनाइन् । ‘चुनावका बेलामा घरघरै धारा बनाइदिने भन्दै भोट माग्न आउँछन्,’ उनले भनिन्, ‘खानेपानीको समस्या लिएर चुनाव जितेकाहरुकोमा गएमा हार्छौं भन्दै टारिदिने गरेका छन् ।’

‘एक जनाले कति पानी जोहो गर्न र बोक्न सक्छ र !’ उनले भने, ‘बिहानै झिसमिसेमा धारामा गएर लाइन बसेर ५/७ गाग्री पानी भरेर जोहो गर्ने गरेका छौं ।’ यी टोलमा पक्की धारा बनाइएको छैन । गाउँको माथिल्लो भागमा रहेको ट्याङ्कीबाट सिधै पाइपमार्फत पानी टोलमा ल्याइएको छ ।

प्रकाशित : असार १२, २०७९ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?