२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

वाग्मती सरकारले नेता कार्यकर्ता पोस्ने बजेट ल्याएको भन्दै एमालेको विरोध

सुवास विडारी

हेटौंडा — नेकपा एमालेले वाग्मती प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि व्यक्त गरेको छ । वाग्मती प्रदेश सरकारले ल्याएको बजेट सन्तुलित नभएको उल्लेख गर्दै एमालेले आइतबारको संसद् अवरुद्धसमेत गर्ने तयारी गरेको छ ।

वाग्मती सरकारले नेता कार्यकर्ता पोस्ने बजेट ल्याएको भन्दै एमालेको विरोध

आइतबार बसेको प्रदेश संसदीय दलको बैठकले सदन अवरोध गर्ने निर्णय गरेको छ । साथै मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई बजेट पुस्तिका फिर्ता गर्नेसमेत बैठकमा निर्णय भएको संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । जनताको पक्षमा भन्दा पनि चुनावकेन्द्रित बजेट आएको एमालेको प्रतिक्रिया छ ।

असार १ गते प्रदेश सरकारले राजस्व संकलनको दर र खर्च गर्ने क्षमतालाई पूर्णरूपमा बेवास्ता गर्दै आगामी आर्थिक वर्ष २०७९/८० का लागि ठूलो आकारको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेलले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

सरकारले नजिकिँदै गरेको प्रदेश र संघीय चुनाव लक्षित गरेर कार्यकर्ता पोस्ने गरी समेत बजेट विनियोजन गरेको छ । सरकारले प्रदेशभित्रका केही वडा छनोट गरी नमुना वडा समाजवादी कार्यक्रम लागू गर्न २५ करोड रुपैयाँ विनियोजन गरेको हो ।

देशभर भ्युटावर निर्माणको विरोध भइरहेको अवस्थामा सरकारले बजेट व्यक्तव्यमार्फत हिल स्टेसन निर्माणको घोषणा पनि गरेको छ । सरकारले निजी क्षेत्र र व्यवसायीसँगको सहकार्यमा हिल स्टेसन निर्माण गर्ने जनाएको हो । प्रदेशले आगामी वर्षलाई घुमफिर वर्ष घोषणा गरेको भए पनि यसका लागि बजेट वक्तव्यमा केही उल्लेख गरिएको छैन । अघिल्लो सरकारले ‘घुम्न जाऔं दामन वर्ष’ घोषणा गरेपनि त्यसको उपलब्धि शून्य भएको थियो ।

कृषि तथा पशु पालनको क्षेत्रमा प्रदान गर्दै आएको अनुदान खारेज गरेको प्रदेश सरकारले वास्तविक किसानलाई प्रोत्साहन गर्ने भन्दै घुम्तीकोष स्थापना गरी किस्ताबन्दीमा निर्ब्याजी बीउ पुँजी वितरण गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण प्रवाह कार्यक्रम शीर्षकमा २ अर्ब बजेट छुट्याएको छ । त्यस्तै, कर्मचारीको तलब संघीय निजामतीसरह अर्थात् १५ प्रतिशत वृद्धि गरिएको छ । निजामती र करार कर्मचारीलाई मासिक २ हजार रुपैयाँ महँगी भत्ता दिने जनाइएको छ ।

प्रकाशित : असार १२, २०७९ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?