कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

मन्थलीमा निकास नहुँदा सडकमै भेल

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको जिल्ला सदरमुकाम मन्थली हरेक वर्षायाममा हिलो र धूलो हुने गरेको छ । स्थानीय खोलाखोल्सीहरूको उचित निकास नहुँदा सडकमै भलबाढी बग्ने गर्छ । 

सडक कालोपत्र भए पनि अलिकति पानी पर्नासाथ सडकमा भलको पानी बग्न थाल्छ । खोल्सीहरू जथाभावी फर्काउँदै आफ्नो संरचना निर्माण गर्नेले पानीको निकासका बारेमा चासो नदिँदा समस्या अझ थपिँदो छ । सडक डिभिजन कार्यालय खुर्कोटका सुपरभाइजर शंकर कार्की भन्छन्, ‘परम्परादेखि खोला बग्ने स्थानमा कजवे बनाएका थियौं । कजवेको निकास बन्द गरेर घर बनेका छन् ।’

साविकमा खोलाखोल्सीसमेत नापी भएकाले बजार क्षेत्रमा समस्या हुन थालेको हो । नापी भएको र लाखौं रुपैयाँ आनामा जाने जग्गामा खोला अन्यत्र फर्काएर घर बन्छ भने किन नबनाउने भन्ने होडबाजी नै छ । सबैको जग्गा बचाएर पानी तर्काउन सम्भव नभएकाले खोला सडकबाटै बग्ने अवस्था रहेको उनले बताए ।

आकाशे क्षेत्रमा साविकमा ३ वटा खोल्सीको पानी झर्ने गरेको थियो । अहिले ३ वटै खोल्सीको पानीको बहाव क्षेत्रमा स्थानीयले संरचना निर्माण गरिसकेका छन् । पानी बग्ने ठाउँ छेकेर घर बनाएकाले हरेक वर्ष सडक हिलाम्मे हुने गरेको छ । मन्थली बजारदेखिको सडक किनारका नालाबाट बगेको पानी बसपार्कमा पुग्छ । तर बसपार्क क्षेत्रबाट नालाको निकास नभएकाले उक्त क्षेत्र हिलाम्मे हुने गरेको छ । ‘बजारदेखिको पानी ल्याएर हाम्रो जग्गामा छोडेका छन्,’ स्थानीय मनोज माझी भन्छन् । ‘सडक तथा नाला नहुँदा बसपार्क नजिक वर्षायाममा खहरे बग्छ ।’

मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ निकासका लागि पहल भइरहेको बताउँछन् । ‘सहर हिलो र धूलोमुक्त बनाउन र सधैंको डुबान समस्या कम गर्न बसपार्कबाट तामाकोसी किनारसम्म निकास बनाउने प्रयास भइरहेको छ । केही जग्गामा सहमति गर्न बाँकी रहेकाले सरोकारवालासँग बसेर छलफल चलाउँदै छौं ।’

प्रकाशित : असार १२, २०७९ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?