कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नुवाकोटमा बाढीपहिरोले १० घर विस्थापित, १५ जोखिममा, ४ पशुचौपाया मरे

कृष्ण थापा

नुवाकोट — जिल्लामा शुक्रबारको भारी वर्षाका कारण आएको बाढी र पहिरोले ककनी, लिखु र शिवपुरी गाउँपालिकामा १० घर धुरी विस्थापित भएका छन् । ककनी गाउँपालिका ५ ढुंग्यानटोलमा भीर खस्न थालेपछि १० घरधुरी विस्थापित भएका हुन् । भारी वर्षाले ढुंग्यानटोलबस्ती माथिको चट्टानेभीर चिरा परेर पहिरो आउन थालेपछि ती घरहरुलाई स्थानान्तरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

नुवाकोटमा बाढीपहिरोले १० घर विस्थापित, १५ जोखिममा, ४ पशुचौपाया मरे

ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले भने,‘ठाडो भीर छ । भीर फुटेको छ । अहिल्यै पहिरो आइहाल्ने संम्भावना छ ।’ टोलवासीलाई स्थानबाट २ सय मिटर टाढा खेतको गह्रामा स्थानान्तरण गरिएको छ । त्यहाँ पहिरो नजाने र सुक्षित स्थान भएको गाउँपालिका अध्यक्ष तामाङले बताए । ‘अहिले बाँस र त्रिपाल हालेर उनीहरुका लागि बस्ने बास बनाउँदैछौं,’ उनले भने,’जोखिम मोलेर गाउँलेलाई पहिरोमा पार्न दिन त भएन ।’ स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्न गाउँपालिकाका पदाधिकारी, स्थानीय, नेपाल प्रहरी खटिएका छन् ।

शिवपुरी गाउँपालिका ६ गुर्जेका चन्द्रबहादुर तामाङको घर, गोठ पहिराले पुर्दा २ वटा बाख्रा मरेका छ्न् । ढुंगा, माटोले बनाएको गोठघरमा माथिबाट पहिरो आएर बाख्रा मरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिलीपकुमार हुमागाईंले बताए । सोही वडामा ७ घर उच्च जोखिममा परेका छन् । उनीहरुलाई सुरक्षित स्थानमा बस्न भनिएको प्रहरीले जनाएको छ ।

लिखु गाउँपालिका ३ मा भाल्डाँडामा २ वटा घर बाढीले क्षति पुर्‍याई पशु चौपाया नास गरेको छ । घरनजिकै आएको बाढीले मेघनाथ श्रेष्ठको घरमा बाढी छिरेको छ । बाढीले डुबान गर्दा भूइँतलामा बाँधिएको खसी र बोका मरेका छन् । त्यसैगरी उनका छिमेकी दामोदर न्यौपानेको घरमा पनि भल छिरेर क्षति पुर्‍याएको छ । दुवै घरधुरीलाई सुरक्षित स्थानमा बस्न भनिएको छ ।

लिखु गाउँपालिका २ मा ६ घर जोखिममा परेका छन् । उक्त वडा हुँदै सूर्यगढी गाउँपालिका ३ चोगते जाने बाटो निर्माणको क्रममा वर्षाको भेल सहितको लेदो ती घरहरुमा पसेपछि घरहरु जोखिममा परेका हुन् ।

स्थानीय प्रशासन र प्रहरी मिलेर नागरिकलाई सुरक्षित स्थानमा सारिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । ‘जोखिमयुक्त घरलाई सरकारको नीतिअनुसार क्षतिपूर्ति र राहत प्रदान छौं,’ प्रजिअ रिसालले भने ।

मध्यपहाडी लोकमार्गको म्यागङ गाउँपालिका ५ मा बैकुण्ठेमा सडक खुलाइएको छ भने छहरे–टोखा सडकखण्डको गुर्जेमा पनि बन्द रहेको सडक एकतर्फी खुल्ला गरिएको इन्स्पेक्टर दिलीपकुमार हुमागाईंले बताए ।


प्रकाशित : असार ११, २०७९ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?