कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

प्रदेशका सबैजसो पालिकाले ल्याए बजेट

शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र पूर्वाधार विकास मुख्य प्राथमिकतामा, एमालेका जनप्रतिनिधिले बहिष्कार गरेपछि हेटौंडाको नगरसभा स्थगित
प्रदेश ब्युरो

हेटौंडा — वाग्मती प्रदेशका अधिकांश स्थानीय तहहरूले आगामी आर्थिक वर्ष ०७९/८० का लागि शुक्रबार बजेट ल्याएका छन् । स्थानीय तहमा जेठ मसान्तसम्म एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा गरी असार ५ सम्म कार्यपालिकाबाट स्वीकृत गराई असार १० भित्र गाउँ/नगरसभामा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेशका सबैजसो पालिकाले ल्याए बजेट

जसअनुसार शुक्रबार स्थानीय तहहरूले आगामी वर्षका लागि राजस्व र व्ययको अनुमानित विवरण (बजेट) र नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । धेरैजसो स्थानीय तहले बजेट अंक मात्रै तय गरेका छन् भने केहीले नीति तथा कार्यक्रम मात्रै तय गरेका छन् । कतिपयको नगर/गाउँसभा नै स्थगन भएको छ ।

प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडाको नगरसभा गणपूरक संख्या नपुगेपछि स्थगन गरिएको छ । नगरसभामा बहुमत रहेको एमालेका जनप्रतिनिधिले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा नगरसभा प्रभावित बनेको हो । बिहान १० बजेका लागि बोलाइएको ११ औं अधिवेशनमा एमालेबाट टिकट पाएर निर्वाचित नगरसभा सदस्यहरू उपस्थित भएर पनि हस्ताक्षर नगरी बहिष्कार गरेपछि उपमहानगर प्रमुख मीनाकुमारी लामाले बैठक स्थगन गरेकी हुन् । नगरसभा आइतबार दिउँसो १ बजेका लागि पुनः बोलाइएको छ । नगरसभा सञ्चालनबारे सर्वदलीय छलफल भए पनि सहमति नजुट्दा प्रमुख लामाले ३ दिनका लागि स्थगन गरेकी हुन् ।

एमालेबाट निर्वाचित जनप्रतिनिधि सभाहलमा प्रवेश नगरी बाहिरै बसेका थिए । एमालेले प्रमुखको अधिकार कटौती गर्नुपर्ने माग राख्दै पहिलो कार्यपालिकाको बैठकबाटै नेकपा (एस) बाट निर्वाचित प्रमुख लामालाई असहयोग गरिरहेको छ । एमालेले बैठक सञ्चालन कार्यविधि, २०७४ को दफा १५(२) र १५(३) मा रहेको व्यवस्थालाई संशोधन गरिनुपर्ने माग राख्दै आएको छ ।

लामा भने बैठक सञ्चालन कार्यविधि संशोधन नगर्ने पक्षमा छिन् । तत्कालीन एमालेको बहुमत रहेकै समयमा एमालैबाट निर्वाचित प्रमुख हरिबहादुर महतको प्रस्तावमा पारित कार्यविधि संशोधन गर्नु नपर्ने तर्क उनको छ । एमालेले नगरसभामा बहुमत रहेको दलसँग समन्वय नै नगरी नीति तथा कार्यक्रम र बजेट तयार पारेको भन्दै विरोधसमेत गर्दै आएको छ । कुल ९७ नगरसभा सदस्यमध्ये एमालेका ५४ जना छन् ।

एमालेले विषयगत समिति गठन नगरी बजेट र नीति तथा कार्यक्रम ल्याएको आरोप लगाएको छ । नगर प्रमुख र उपप्रमुखले एकलौटी, मनोमानी र असम्बन्धित व्यक्तिको संलग्नतामा बजेट निर्माण गरेको आरोपसमेत लगाएको छ । उपमहानगरले करिब २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ ।

मकवानपुरकै थाहा नगरपालिकाले पनि वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । बजेटमा पर्यटन र कृषिलाई प्राथमिकता दिइएको छ । थाहाले आगामी आवका लागि १ अर्ब ८ करोड ८४ लाख ७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । शुक्रबारको नगरसभा तथा ११ औं अधिवेशनमा उपप्रमुख भरत गोपालीले कुल बजेटमध्ये चालुतर्फ ९ करोड ९७ लाख ५४ हजार, पुँजीगततर्फ ५१ करोड ७२ लाख १३ हजार, ससर्ततर्फ ३२ करोड १४ लाख ४० हजार र सामाजिक सुरक्षातर्फ १५ करोड रुपैयाँ विनियोजन गरेका छन् । बजेटमा भीमफेदी–सिमभन्ज्याङ र सिमभन्ज्याङ–चन्द्रागिरि खण्डमा केबलकार सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ ।

सिन्धुलीका २ पालिका असमर्थ

सिन्धुलीका ९ स्थानीय तहमध्ये शुक्रबार ७ वटाले आगामी आर्थिक वर्षका लागि बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । हरिहरपुरगढी गाउँपालिकाले तयारी नपुगेको र गोलन्जोर गाउँपालिकाले आन्तरिक विवादका कारण ल्याउन सकेनन् । दुवै पालिकाले असार १५ भित्र बजेट ल्याइसक्ने जनाएका छन् ।

कमलामाई नगरपालिकाले बजेटमा कृषि एम्बुलेन्स सञ्चालन गरी कृषि क्षेत्रको व्यवस्थापन, उत्पादन र बजारीकरणलाई पहिलो प्राथमिकतामा राखेको छ । कमलामाईले कुल १ अर्ब ३४ करोड ७६ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको हो । यस्तै, सूर्यगढी गाउँपालिकाले ५१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

‘समृद्ध सूर्यगढी, सुखी सूर्यगढी’ को आकांक्षा पूरा गर्ने अठोटका साथ नीति तथा कार्यक्रम र बजेट ल्याइएको पालिका अध्यक्ष सन्तबहादुर घलेले बताए । उपाध्यक्ष मञ्जु बुढाथोकी ढकालका अनुसार आगामी वर्षका लागि ५१ करोड २५ लाख ४२ हजार रुपैयाँको बजेट ल्याइएको छ । बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

त्यसैगरी, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि र वातावरण क्षेत्रमा पनि बजेटको ठूलो हिस्सा लगानी गर्ने पालिकाको लक्ष्य छ ।

शिक्षामा भक्तपुरको २० प्रतिशत बजेट

शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकता दिँदै भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि बजेट ल्याएको छ । शुक्रबार १२ औं नगरसभामा उपप्रमुख रजनी जोशीले २ अर्ब १८ करोड ४२ लाख रुपैयाँ बराबरको अनुमानित आयव्यय प्रस्तुत गरिन् । पालिकाको आन्तरिक स्रोत, संघ र प्रदेश सरकारको अनुदान रकम, ऋण सापटीलगायत आधारमा बजेट तय गरिएको उनको भनाइ छ ।

पालिकाले सबैभन्दा धेरै शिक्षा क्षेत्रमा १९.४३ प्रतिशत बजेट विनियोजन गरेको जनाएको छ । त्यस्तै, स्वास्थ्य क्षेत्रमा ४.९५ प्रतिशत, सम्पदा संरक्षण तथा विकास निर्माणमा ४.१२ प्रतिशत, भौतिक पूर्वाधार निर्माणमा १८.०७ प्रतिशत, फोहोरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ६.१८ प्रतिशत, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा २३.६६ प्रतिशत र वित्तीयतर्फ २.११ प्रतिशत बजेट छुट्याएको छ ।

चाँगुनारायण नगरपालिकाले पनि शुक्रबारै १ अर्ब ८२ करोड २३ लाख ६१ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख जीवन खत्रीको अध्यक्षता बसेको ११ औं नगर अधिवेशनमा उपप्रमुख रमेश बुढाथोकीले पुँजीगततर्फ १ अर्ब ९ करोड ३ लाख ६३ हजार (५९.८ प्रतिशत) र चालुतर्फ ७२ करोड ७१ लाख ८३ हजार रुपैयाँ (४०.२ प्रतिशत) विनियोजन गरेको जनाए ।

त्यसैगरी, सूर्यविनायक नगरपालिकाले १ अर्ब ९२ करोड १८ लाख रुपैयाँको बजेट अघि सारेको छ । नगर उपप्रमुख सरिता तिमसिना भट्टराईले प्रस्तुत गरेको बजेटमा ससर्तका अनुदानका कार्यक्रम सञ्चालन गर्न २६ करोड ६७ लाख ८४ हजार, चालुतर्फ २५ करोड २५ लाख र पुँजीगततर्फ ९९ करोड ४३ लाख ५८ हजार रुपैयाँ विनियोजन गरिएको उल्लेख छ । सामाजिक सुरक्षा भत्ता वितरण गर्न १६ करोड रुपैयाँ छुट्याइएको भट्टराईले जानकारी दिइन् । मध्यपुर थिमि नगरपालिकाले नीति तथा कार्यक्रम ल्याए पनि बजेट सार्वजनिक गर्न सकेको छैन ।

चुनावी घोषणा नै नीति तथा कार्यक्रममा

काभ्रेका स्थानीय तहमा जनप्रतिनिधिले चुनावी घोषणापत्रमा भएका विषयलाई नै समेटेर नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नमोबुद्ध नगरपालिकाले रासायनिक मलको आपूर्तिलाई सुनिश्चित गर्न कृषि सहकारीसँगको समन्वयमा मल बैंक स्थापना गर्नेलगायत कार्यक्रम अघि सारेको छ । नगर प्रमुख कुन्साङ लामाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा माटो मिनी ल्याब, भेटेनरी ल्याब स्थापना गर्ने उल्लेख छ ।

विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्न संघीय सरकारको अनुदानमा सतप्रतिशत अनुदान थप गर्ने पनि नगरको नीति छ । नमोबुद्ध–९ मा रहेको नगर अस्पताललाई १५ शय्यामा स्तरोन्नति गरिने पनि नगर प्रमुख लामाले जानकारी दिए । ज्येष्ठ नागरिकको हेरचाह र पालनपोषणमा असल अभ्यास गर्नेलाई ‘नमोबुद्ध असल बुहारी’ पुरस्कार प्रदान गर्ने, सामुदायिक शैक्षिक संस्थामा स्नातक र सोभन्दा माथि अध्ययन गर्ने बुहारीलाई पूर्ण छात्रवृति उपलब्ध गराउने कार्यक्रम पनि अघि सारिएको उनको भनाइ छ ।

बनेपा नगरपालिकाले २ सय शय्याको अस्पताल, १५ शय्याको नगर अस्पताल निर्माण गर्ने विषयलाई प्राथमिकता दिएको छ । धुलिखेल नगरपालिकाले दीर्घरोगीहरूलाई घरघरमा औषधि पुर्‍याउने र स्वास्थ्य परीक्षणको व्यवस्थापन गर्ने कार्यक्रम प्रस्ताव गरेको छ । नगर क्षेत्रमा महामारी प्रभावित, अतिअशक्त विपन्न नागरिक, सुत्केरी, गर्भवती तथा उत्तर प्रसूति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने कार्यक्रम पनि अघि सारिएको छ । पनौती नगरपालिकाले पनि आधारभूत स्वास्थ्य सेवालाई घरदैलोमुखी बनाउन ‘स्वास्थ्य ज्येष्ठ नागरिक अभियान’ सञ्चालन गर्ने जनाएको छ । टेलिमेडिसिन र मोबाइल हेल्थ प्रणाली सुरुवात गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पनौतीले १ अर्ब ६० करोड १३ लाख, बनेपाले १ अर्ब ५५ करोड २४ लाख, धुलिखेलले १ अर्ब ३५ करोड, पाँचखालले १ अर्ब २९ करोड ९६ लाख, मण्डनदेउपुरले १ अर्ब १ करोड र नमोबुद्ध नगरपालिकाले ७४ करोड ४८ लाख ४५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् । रोसी गाउँपालिकाले ७१ करोड ४६ लाख ८२ हजार, बेथानचोकले ५९ करोड ११ लाख ८२ हजार, खानीखोलाले ४७ करोड ४ लाख ७ हजार र महाभारतले २८ करोड ५० लाखको बजेट अघि सारेका छन् ।

तर, जिल्लाका ३ स्थानीय तहले भने नीति तथा कार्यक्रम मात्रै ल्याएका छन् । जसमा भुम्लु, तेमाल र चौंरीदेउराली गाउँपालिका छन् । केही दिनमा नै बजेट प्रस्तुत गर्ने तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले बताए ।

प्रकाशित : असार ११, २०७९ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?