थाहा नगरको बजेट : कृषि र पर्यटनमा जोड- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थाहा नगरको बजेट : कृषि र पर्यटनमा जोड

सुवास विडारी

मकवानपुर — मकवानपुरको उत्तरी क्षेत्रमा अवस्थित थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा पर्यटन र कृषिलाई जोड दिएको छ । थाहा नगर पर्यटन र कृषिका लागि प्रख्यात स्थान पनि मानिन्छ ।

थाहाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८ करोड ८४ लाख ७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । शुक्रबारको नगरसभा तथा ११ औं अधिवेशनमा उपमेयर भरत गोपालीले कुल बजेटमध्ये ९ करोड ९७ लाख ५४ हजार रुपैयाँ चालुतर्फ, ५१ करोड ७२ लाख १३ हजार पुँजीगततर्फ, सशर्ततर्फ ३२ करोड १४ लाख ४० हजार रुपैयाँ र सामाजिक सुरक्षातर्फ १५ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

थाहाले खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक कर तथा राजश्वबाट १९ करोड ७१ लख ५ हजार, राजश्वबाट बाँडफाँटबाट १९ करोड ६८ लाख ८० हजार रुपैयाँ, संघीय सरकारबाट प्राप्त १९ करोड १६ लाख, प्रदेशबाट प्राप्त ५ करोड ५ लाख ८२ हजार रुपैयाँ र सशर्त अनुदानतर्फ प्राप्त हुने ३२ करोड १४ लाख र सामाजिक सुरक्षा भत्तावापत प्राप्त हुने १५ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

बजेटमा कृषिमा आत्मनिर्भर बन्न लघुउद्यम कार्यक्रम सञ्चालन गर्न अनुदान दिइने, सबै वडामा कृषि र पशु प्राविधिकको पहुँच विस्तार, हाट बजार सञ्चालन गर्न अध्ययन गरिने तथा कोसेली घर यसै वर्षबाट सञ्चालनमा ल्याइने उल्लेख छ । उपमेयर गोपालीका अनुसार थाहा नगरलाई दूध, अण्डा र मासुमा आत्मनिर्भर बनाउन थप कार्यक्रम समेत सञ्चालन गरिनेछ ।

बजेटमा भीमफेदी–सिमभन्ज्याङ र सिमभन्ज्याङ–चन्द्रागिरी खण्डमा केवलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने बताइएको छ । ‘पर्यटनमैत्री सार्वजनिक यातायात सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनेछौं,’ उनले भने । यस्तै सबै क्षेत्र समेटेर तथ्य र तथ्यांकसहितको गुरुयोजना निर्माण गरेर दिगो विकासको अवधारणलाई आत्मसाथ गरिने गोपालीले बताए ।

प्रकाशित : असार १०, २०७९ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्

सिद्धार्थ बैंकको डिबेन्चर निस्कासन 

कान्तिपुर संवाददाता

काठमाडौँ — सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र (डिबेन्चर) निस्कासन तथा बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले ४० लाख कित्ता डिबेन्चर निस्कासन गर्नेछ । यसमा लगानी गर्नेले १०.७५ प्रतिशत ब्याजदर पाउनेछन् । यस ऋणपत्रको अवधि १० वर्षको रहने छ ।

सर्वसाधारण र विभिन्न संघसंस्थाका लागि जारी गरिएको उक्त ऋणपत्रमा दिइएको ब्याजदर उच्चतम रहेकाे बैंकको दावी छ ।बैंकले ४० लाख कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात १६ लाख कित्ता सर्वसाधारण लगानीकर्तालाई र ६० प्रतिशत अर्थात २४ लाख कित्ता विभिन्न संघसंस्थालाई बिक्री गर्ने छ । सर्वसाधारणका लागि निस्कासन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले यस ऋणपत्रका लागि नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सीआस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसको निस्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ ।


प्रकाशित : असार १०, २०७९ १४:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×