गणपुरक संख्या नपुगेपछि हेटौंडाको नगरसभा स्थगित- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गणपुरक संख्या नपुगेपछि हेटौंडाको नगरसभा स्थगित

सुवास विडारी

हेटौंडा — गणपुरक संख्या नपुगेपछि हेटौंडा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ । नगरसभामा बहुमत रहेको नेकपा एमालेका जनप्रतिनिधिले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा हेटौंडा उपमहानगरपालिकाको नगरसभा प्रभावित बनेको हो ।

बिहान १० बजेका लागि बोलाइएको ११औं अधिवेशनमा एमालेबाट निर्वाचित नगरसभा सदस्य उपस्थित भए पनि हस्ताक्षर नगरेपछि शुक्रबार नगरसभाको बैठक स्थगित गरिएको हो । नगरसभा आइतबार बिहान १० बजेका लागि पुन: बोलाइएको छ ।

हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा नगरसभाको बैठक बोलाइएको थियो । बैठकमा एमालेबाट निर्वाचित जनप्रतिनिधि हलमा प्रवेश नगरी बाहिरै बसेका थिए । एमालेले मेयरको अधिकार कटौती गर्नुपर्ने माग राख्दै पहिलो कार्यपालिकाको बैठकबाटै नेकपा (एस)बाट निर्वाचित मेयर मीना लामालाई असहयोग गरिरहेको छ ।

एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १५(२) र १५(३) मा रहेको व्यवस्थालाई संशोधन गरिनुपर्ने माग राख्दै आएको छ । एमालेले नगरसभामा बहुमत रहेको दलसँग समन्वय नै नगरी नीति तथा कार्यक्रम र बजेट तयार पारेको भन्दै विरोधसमेत गर्दै आएको थियो । कुल ९७ नगरसभा सदस्यमध्ये नेकपा एमालेका ५४ जना रहेका छन् ।

वाग्मती प्रदेशको एक मात्रै उपमहानगर हेटौंडाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न करिब २ अर्ब ७१ करोड ७९ लाख बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रकाशित : असार १०, २०७९ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्

शिक्षालाई प्राथमिकता दिँदै छत्रेश्वरीले ल्यायो ५० करोडको बजेट 

विप्लव महर्जन

सल्यान — सल्यानको छत्रेश्वरी गाउँपालिका सल्यानले शिक्षालाई पहिलो प्राथमिकता दिँदै आर्थिक वर्ष ०७९/८० का लागि ४९ करोड ५१ लाख ६२ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ ।

पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै १२औं गाउँसभाबाट गाउँपालिकाले बजेट सार्वजनिक गरेको हो ।

गाउँपालिकाकी उपाध्यक्ष बुद्धा केसीले बजेट सार्वजनिक गरेकी हुन् । बजेटको स्रोत संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १९ करोड १० लाख ७५ हजार, ससर्त अनुदान २३ करोड ५ लाख, विशेष अनुदान २ करोड र प्रदेश सरकारबाट वित्तीय समानीकरणमा १ करोड ८ लाख, ससर्त १ करोड ९० लाख ४० हजार, आन्तरिक स्रोत ४ करोड ३७ लाख ४० हजारलगायत रहेको उपाध्यक्ष केसीले जानकारी गराइन् ।

गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले भौगोलिक विकटता र जनसंख्यालाई मुख्य आधार बनाई नीति तथा कार्यक्रममा व्यवस्था भएबमोजिम आर्थिक, सामाजिक, कृषि, पशुपालन, भौतिक, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास सुशासनसमेतका विषयलाई समेटिएको र सबैभन्दा बढी शिक्षालाई प्राथमिकता दिएको बताए । उनले चिस्यान केन्द्र, टिमुर तथा अदुवा प्रशोधन केन्द्रलाई पनि प्राथमिकता दिएको जानकारी गराए ।

आगामी वर्षदेखि कक्षा १ देखि ८ कक्षासम्म स्थानीय पाठयक्रम बनाएर पठनपाठन सुरु गरिने पनि उनले जानकारी गराए । पर्यटनलाई पनि उत्तिकै प्राथमिकता दिएको उनको भनाइ छ । पालिकाभित्र भएको बेरुजु दाखिलाका लागि ताकेता गरेर शून्यमा ल्याउने र सार्वजनिक सेवा प्रवाहलाई नागरिकको पहुँचयोग्य बनाउने नीति बनाएको उनको भनाइ छ ।

प्रकाशित : असार १०, २०७९ १४:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×