१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भरतपुर महानगरपालिकाको बजेट पौने ६ अर्ब

दूधमा किसानलाई प्रतिलिटर ३ रुपैयाँ अनुदान दिइने
रमेशकुमार पौडेल

चितवन — भरतपुर महानगरपालिकाको ११औं अधिवेशन तथा नगरसभा शुक्रबारबाट सुरू भएको छ । नगरसभामा मेयर रेनु दाहालले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपमेयर चित्रसेन अधिकारीले बजेट पेस गरेका छन् । 

भरतपुर महानगरपालिकाको बजेट पौने ६ अर्ब

आर्थिक वर्ष २०७९/८० का लागि महानगरको बजेट ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ प्रस्ताव भएको छ । जसमा आन्तरिक आय १ अर्ब ५० करोड ररुपैयाँ रहने छ । त्यसैगरी विकास निर्माणका लागि जनसहभागितामार्फत ३६ करोड रुपैयाँ जुटाइने बजेट वक्तव्यमा उल्लेख छ ।

चालू आर्थिक वर्षमा महानगरको बजेट ५ अर्ब ५१ करोड रुपैयाँ छ । जसमा आन्तरिक आय ९७ करोड रुपैयाँ प्राप्त भएको छ । मेयर रेनु दाहालले दूध उत्पादन गर्ने किसानलाई दिँदै आएको अनुदान १ रुपैयाँबाट बढाएर प्रतिलिटर ३ रुपैयाँ पुर्‍याउने घोषणा गरिन् ।

कृषि एम्बुलेन्सको व्यवस्था गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । अबदेखि फोहोर व्यवस्थापनका लागि घरघरमै कुहिने नकुहिने फोहोर छुट्याएर संकलन गरिने पनि मेयर दाहालले बताइन् । दाहालले एकीकृत सहरी विकास गुरुयोजनासमेत बनाइने बताइन् ।

महानगरमा तत्काल तीनवटा रुटमा विद्युतीय बस चलाउने, भरतपुर देवघाटधामसम्म जेष्ठ नागरिकका लागि विद्युतीय बस चलाउने दाहालले बताइन् । भरतपुरको केन्द्रीय बसपार्कमा चार्जिङ स्टेसन बनाइने पनि उनले बताइन् । वि.सं. २०८० साललाई 'भ्रमण वर्ष घोषणा' गरेर पर्यटन प्रवर्धन गर्ने दाहालले बताइन् ।

प्रकाशित : असार १०, २०७९ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?