कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

एमालेले हस्ताक्षर नगर्दा हेटौंडाको नगरसभा प्रभावित

सुवास विडारी

मकवानपुर — नगरसभामा बहुमत रहेको नेकपा एमालेले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा हेटौंडा उपमहानगरपालिकाको नगरसभा प्रभावित बनेको छ ।

एमालेले हस्ताक्षर नगर्दा हेटौंडाको नगरसभा प्रभावित

बिहान १० बजेका लागि बोलाइएको ११ औं अधिवेशन एमालेबाट निर्वाचित नगरसभा सदस्यहरुले उपस्थितिमा हस्ताक्षर नगर्दा अझै सुरु हुन सकेको छैन । हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा नगरसभाका लागि सत्तारुढ गठबन्धन र नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि उपस्थित रहेका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधि हलमा प्रवेश नगरी बाहिरै बसिरहेका छन् । उनीहरुले उपस्थिति पुस्तिकामा हस्ताक्षर पनि गरेका छैनन् ।

एमालेले मेयरको अधिकार कटौती गर्नुपर्ने माग राख्दै पहिलो कार्यपालिकाको बैठकबाटै नेकपा (एस)बाट निर्वाचित मेयर मीना लामालाई असहयोग गरिरहेको छ । एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १५(२) र १५(३) मा रहेको व्यवस्थालाई संशोधन गरिनुपर्ने माग राख्दै आएको छ । एमालेले नगरसभामा बहुमत रहेको दलसँग समन्वय नै नगरी नीति तथा कार्यक्रम र बजेट तयार पारेको भन्दै विरोध समेत गर्दै आएको थियो ।

कुल ९७ नगरसभा सदस्यमध्ये नेकपा एमालेका ५४ जना रहेका छन् । बहुमत नगरसभा सदस्य बाहिर बसे पनि मेयर लामा र उपमेयर राजेश बानियाँ पनि बाहिरै बसिरहेका छन् । नगरसभा सञ्चालन गर्ने विषयमा आवश्यक छलफल समेत अगाडि बढ्न सकेको छैन ।

वाग्मती प्रदेशको एक मात्रै उपमहानगर हेटौंडाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न करिब २ अर्ब ७१ करोड ७९ लाख बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । अनुमान गरिएको खर्च बेहोर्ने आन्तरिक स्रोतबाट ९४ करोड ३६ लाख, राजस्व बाँडफाँटबाट ५८ करोड ९३ लाख, प्रदेश सरकारको विभिन्न अनुदानबाट ९ करोड ५८ लाख, संघीय सरकारको अनुदानबाट १ अर्व ६ करोड ९५ लाख बेहोरिने गरी तयारी गरिएको बुझिएको छ । अन्य आय र संघसंस्था अनुदानबाट १ करोड ९६ लाख बेहोरिने गरी बजेट ल्याउने तयारी भएको आन्तरिक स्रोतले जनाएको छ ।

प्रकाशित : असार १०, २०७९ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?