कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

नुवाकोट सूर्यगढीको बजेट ५१ करोड

कृष्ण थापा

नुवाकोट — सूर्यगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९/०८० लागि ५१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष मञ्जु बुढाथोकी ढकालले बिहीबार गाउँसभामा ५१ करोड २५ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

नुवाकोट सूर्यगढीको बजेट ५१ करोड

बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिइएको छ । त्यसैगरी स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि र वातावरण क्षेत्रमा बजेट विनियोजन गरिएको उपाध्यक्ष ढकालले जानकारी दिइन् ।

न्यून पारिश्रमिकमा सामुदायिक विद्यालयमा काम गर्ने बालविकास सहयोगीलाई प्रोत्साहित रकम दिने बजेटमा समेटिएको छ । विद्यालयहरुमा नि:शुल्क सेनेटरी प्याड वितरण, पठनपाठनमा गुणस्तर वृद्धि गर्न प्रत्येक विद्यालयमा इन्टरनेट तथा केही विद्यालयमा सीसी क्यामेरा व्यवस्थाका लागि समेत बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी जेष्ठ नागरिक लागि चाडपर्व भत्ता तथा तातो न्यानो कपडाका लागि वार्षिकरुपमा १ हजार ५ सय अतिरिक्त भत्ताको व्यवस्था गरिएको छ । दीर्घ रोगीलाई नि:शुल्क औषधि वितरणका कार्यक्रम राखिएको छ ।

सडक यातायातको स्तरवृद्धि गरिनुका साथै केही भागमा कालोपत्रेलाई निरन्तरता दिने भएको छ । 'एक घर एक धारा' खानेपानी कार्यक्रमलाई बजेटमा निरन्तरता दिइने उल्लेख छ । कृषि औजार, बीउबिजन तथा पशु विकासका कार्यक्रमहरु अनुदानलाई बजेटमा राखिएको छ ।

गाउँपालिकाले आय र राजस्वका स्रोत उल्लेख गर्दै आव ०७९/८० मा गाउँपालिकामा संघीय सरकारबाट वित्तीय समानीकरणतर्फ ८ करोड ६६ लाख, संघीय सशर्त अनुदानतर्फबाट १५ करोड १३ लाख, विशेष अनुदानबाट १ करोड ३० लाख, समपूरक अनुदान ५० लाख, राजस्व बाँडफाँडबाट ६ करोड ६३ लाख २० हजार र सामाजिक सुरक्षा भत्तातर्फ ८ करोड रुपैयाँ प्राप्त हुने विनियोजित बजेटमा उल्लेख गरेको ।

प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ ७३ लाख, ससर्त अनुदान २ करोड, राजस्व बाँडफाँटतर्फ १ करोड, विशेष अनुदान २ करोड, समपुरक अनुदान ३ करोड प्राप्त हुने अनुमान बजेटमा गरिएको छ । आन्तरिक आयतर्फ ३५ लाख राजस्व संकलन हुने अनुमान बजेटमा छ ।

बजेट प्रस्तुत गर्नुअघि गाउँपालिका अध्यक्ष सन्तबहादुर घले तामाङले समृद्ध सूर्यगढी र सुखी सूर्यगढीको आकांक्षा पूरा गर्ने अठोटका साथ आर्थिक वर्ष ०७९।८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रकाशित : असार ९, २०७९ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?