२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

खानेपानीका लागि खोलाकै भर

सरिता श्रेष्ठ

गुर्दुङ, धादिङ — धुनीबेसी नगरपालिका–७ गुर्दुङकी साइँलीको बिहान उठेपछिको पहिलो काम नै खानेपानीको जोहो गर्नु हो । बिहान ५ बजे रित्तो ग्यालिन बोकेर ओरालो झर्छिन् । एक घण्टा हिँडेपछि आइपुग्छ पँधेरी खोला । खोलामा पाइपको सहायताले धारा बनाइएको छ ।

खानेपानीका लागि खोलाकै भर

त्यहीं पानी थाप्छिन् र ग्यालिन बोकेर उकालो लाग्छिन् । ‘२० लिटर पानीको ग्यालिन बोकेर उकालो चढ्न हम्मे पर्छ,’ उनी भन्छिन्, ‘अरू उपाय पनि छैन । उकालोमा थकाइ मार्दै साढे दुई घण्टामा घर पुगिन्छ ।’ हरेक दिन पानी लिन खोलामा ओरालो लाग्नेहरूको लाम हुन्छ, फर्कंदा पनि उस्तै । ‘भीरको बाटो, पानी बोकेर फर्किंदा परानै जालाजस्तो हुन्छ । तर त्यही पानीले दिनभरलाई पुर्‍याउनुपर्छ,’ उनले भनिन् ।

३४ वर्षीय शर्मिला तामाङको दैनिकी पनि उस्तै छ । घरको काम, खेतबारी, बालबच्चा हेरचाह, मेलापात गरेरै उनको दैनिकी बित्ने गरेको छ । ‘पानीका दुःख सम्झिँदा न भोक लाग्छ न निद्रा नै । पानी कसरी जुटाउने, बस्तुभाउलाई कहाँबाट ल्याउने भन्ने चिन्ताले हरेक दिन सताउँछ,’ उनले भनिन् । बर्खाको समय कतिबेला पानी पर्छ पत्तो हुन्न । बाढीपहिरोको पनि उत्तिकै डर छ । कैयौं पटक खानेपानी लिन खोलामा पुग्दा भल आएका कारण कि त रित्तै, कि धमिलो पानी लिएर घर फर्किएको अनुभव उनीसँग छ ।

‘बर्खामा खोलामा भल आउँछ, पानी लिन गयो रित्तै फर्कनुपर्छ,’ उनले भनिन्, ‘खोलामा भल आएका बेलामा आकाशेपानी खानुपर्ने बाध्यता छ । त्यो नभए उही धमिलो पानीकै भर त हो ।’

घरमा उनले २ वटा ड्रममा आकाशेपानी जम्मा गर्ने गरेकी छन् । खाना पकाउन आकाशेपानी नै प्रयोग गर्छिन् । लुगा धुन, नुहाउन खोलामा नै जान्छन् । एक हल गोरु, भैंसी र बाख्रालाई दिने पानी पनि खोलाबाटै ल्याउनुपर्छ । ‘पानीको जोहो गर्दैमा बिहान सकिन्छ, काम गर्न पनि भ्याइँदैन,’ उनले सुनाइन् ।

साइँली र शर्मिलाको मात्र होइन, यस्तो दैनिकी हरेक गुर्दुङवासीको छ । ६८ घरधुरी बसोबास गर्ने यो गाउँमा एउटै मात्र धारा छ । त्यसमा पनि पानी आउने टुंगो हुन्न । खोलाको पानीलाई २ वटा मोटरको सहायताले धारामा ल्याइने गरिएको छ । तर, बिजुलीले नधान्दा नियमित पानी आउँदैन । अहिले हावाहुरी र पहिरोले मोटरमा क्षति पुगेपछि स्थानीयलाई पानी लिन खोलाकै मात्र भर छ ।

करिब ८ वर्षअघि खोलाको पानी जम्मा गरेर बिजुली बत्ती निकाल्ने र गाउँमा पानी ल्याउन स्थानीय तम्सिएका थिए । त्यसका लागि प्रत्येक घरबाट १/१ जना खटिए । सय दिनसम्मको निरन्तर मिहिनेतपछि बिजुली बल्यो । तर ६ महिना पनि टिक्न सकेन । बर्खामा आएको भेलले बिजुली बत्ती बाल्ने र गाउँमै खानेपानी पुर्‍याउने गुर्दुङवासीको सपना बगाइदियो । अनि फेरि उस्तै दुःख सुरु भयो । हिउँदमा ड्याम बनाउने र बर्खामा भलले बगाउने सिलसिला अहिलेसम्म पनि जारी छ ।

प्रकाशित : असार ९, २०७९ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?