‘स्वास्थ्य बिमा धान्नै मुस्किल’

काभ्रे‍ — स्वास्थ्य बिमा बोर्डले समयमा रकम भुक्तानी नगर्दा स्वास्थ्य बिमा कार्यक्रम धान्न मुस्किल परेको धुलिखेल अस्पतालले जनाएको छ । जेठ मसान्तसम्म बोर्डले अस्पताललाई उपचार र औषधिबापत २५ करोड ७८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । असार मसान्तसम्म भुक्तानी नभए साउन १ बाट सेवा स्वतः बन्द हुने अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजूले बताए ।

‘स्वास्थ्य बिमा धान्नै मुस्किल’

‘भुक्तानी नहुँदा आपूर्तिमा समस्या भएर बिरामीलाई सबै प्रकारका औषधि उपलब्ध गराउन सकिएको छैन,’ डा. मकाजूले भने, ‘असार १५ सम्म भुक्तानी भए आंशिक सेवा उपलब्ध गराउने र मसान्तसम्म भुक्तानी नभए सेवा स्वतः बन्द हुनेछ ।’ बोर्डसँग सम्झौता गरेर अस्पतालले २०७४ सालदेखि यो सेवा दिँदै आएको छ ।

अस्पताल प्रशासनका अनुसार दैनिक सरदर १३ सय जनाले उपचार लिँदै आएका छन् । एक साताको अन्तरालमा मात्रै एक करोडको हाराहारीमा औषधि तथा उपचार खर्च थपिने गरेको छ । अस्पतालले तलबलगायत अन्य भुक्तानीबापत ३२ करोड रुपैयाँ तिर्न बाँकी छ । स्वास्थ्यकर्मी र अन्य कर्मचारीले समयमा तलब पाउन सकेका छैनन् । भुक्तानी ढिला भएपछि आपूर्तिकर्तालाई पैसा बुझाउन नसक्दा केही औषधिको आपूर्ति रोकिएको छ । पछिल्लो समय मधुमेह, उच्च रक्तचापलगायत दीर्घरोगका केही औषधिको अभाव हुँदा बिरामी मारमा परेका छन् । बोर्डले १ हजार १ सय ३३ प्रकारका औषधि सूचीकृत गरे पनि अस्पतालमा सबै उपलब्ध छैन ।

मध्यपहाडी जिल्लालाई स्वास्थ्य सेवा दिँदै आएको धुलिखेल अस्पतालमा बिरामीको चाप छ । स्वास्थ्य बिमा लागू भएका अन्य स्वास्थ्य संस्थाभन्दा गुणस्तरीय सेवा भएको कारण बिरामीको रोजाइमा यो अस्पताल पर्दै आएको छ । काभ्रेका लागि धुलिखेलसहित मेथिनकोट अस्पताल, खोपासी, सुन्थान, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा बिन्दु तोकिएको भए पनि पहिलो रोजाइमा यही अस्पताल पर्दै आएको छ । सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोकका बिमितले समेत धुलिखेल अस्पताललाई प्रथम सेवा बिन्दु छनोट गरेका छन् । भक्तपुरका बिमितसमेत सेवाका लागि धुलिखेल नै आउने गरेका छन् ।

बोर्डको सम्पर्क शाखा कार्यालय काभ्रेका संयोजक मुना निरौलाका अनुसार काभ्रेका ३० हजार ४५ परिवारका १ लाख १५ हजार ९ सय ६३ जना बिमा कार्यक्रममा आबद्ध छन् । ५ जनासम्मको परिवारका लागि ३५ सय तिरेर बिमा गरेपछि एक वर्षसम्म १ लाख बराबर स्वास्थ्य सेवा उपलब्ध हुन्छ । एचआईभी संक्रमित, एमडीआर टीबी, पूर्ण अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, कुष्ठरोगीले तिर्नुपर्ने प्रिमियम रकममा सरकारले छुट गरेको छ भने महिला स्वास्थ्य स्वयंसेविकाले तिर्नुपर्ने प्रिमियम रकममा ५० प्रतिशत छुट दिइएको छ ।

प्रकाशित : असार ८, २०७९ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?