२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

अक्करे भीरको पहिरो छिचोलेर विद्यालयमा

राजकुमार कार्की

सिन्धुली — गोलन्जोर गाउँपालिका ६ हैबारकी दिलमाया श्रेष्ठ कक्षा ५ की छात्रा हुन् । गाउँमै रहेको विद्यालय छाडेर अंग्रेजी जान्ने हुटहुटीले गत वर्षदेखि उनले विद्यालय परिवर्तन गरेकी छन् । दूरीको हिसाबले खासै टाढा नभए पनि अक्करे भीर छिचोलेर खुर्कोटमा रहेको जनज्योति माध्यमिक विद्यालयमा अध्ययनका लागि दैनिक धाउने दिलमायालाई वर्षात्‌को समयमा भने पिरलो हुन्छ ।

अक्करे भीरको पहिरो छिचोलेर विद्यालयमा

हैबार र खुर्कोटको दूरी पाँच किलोमिटर मात्र भएपनि बीचमा अक्करे भीर छ । मध्यपहाडी लोकमार्गको हैबार नजिकैको अक्करे भीरमा वर्षात्‌को समयमा सधैंजसो पहिरो खस्ने भएकाले दिलमाया र अन्य तीन दर्जनको हाराहारीमा गुणस्तरीय शिक्षाका लागि धाउने विद्यार्थीहरूका लागि बाधक बन्ने गरेको छ । पानी परेपछि अक्करेमा पहिरो खस्ने भएकाले विद्यालयको बस वारपार नहुँदा पढ्न जान नपाएकोमा उनले गुनासो पोखिन् । ‘अक्करे भीरमा पहिरो झरेपछि बस चल्दैन,’ उनले भनिन्, ‘अनि पढ्न जान पाँइदैन । यो पहिरो नखस्ने बनाइदिए पनि त हुने थियो ।’ जनज्योति माविलाई वाग्मती प्रदेश सरकारले बस सहयोग गरेको छ ।

वडा नं. ६ को हैबारका अलावा, वलेनी, सुँगुरेलगायत ठाउँबाट गुणस्तरीय शिक्षाका लागि विद्यार्थीहरूले जनज्योति माविलाई रोजेका छन् । कक्षा १ देखि नै अंग्रेजी माध्यममा पढाइ हुने भएकाले अक्करे भीर छिचोलेर विद्यार्थीको पढ्न जाने रहरले गर्दा अभिभावकले समेत सहयोग गरेका छन् । अक्करे भीरका कारण बेलाबेलामा बाटो नै अवरोध हुँदा भने उनीहरू खिन्न छन् । दिलमायाका बुबा सुमन मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको दशक बित्दा पनि अक्करे भीरमा पहिरो नजाने गरी लोकमार्ग नबनाएको बताउँछन् । ‘विद्यार्थीहरू मात्र होइन, अक्करेको पहिरो खसेपछि यात्रुहरू पनि तीन-चार दिनसम्म रोकिन्छन्,’ उनले भने, ‘फराकिलो गरी दीर्घकालीन रुपमा नबनाउँदा सबैले दु:ख पाएका छन् ।’

बीपी राजमार्ग र मध्यपहाडी लोकमार्गको संगम स्थल खुर्कोटमा अवस्थित जनज्योति मावि पुरानो विद्यालय हो । ७ दशकअघि विसं. २००९ सालमा स्थापना भएको यो विद्यालय सामुदायिक विद्यालयमा पढाइको गुणस्तर खस्किएर विद्यार्थी नहुँदा अरु विद्यालयजस्तै थला पर्नै लागेको थियो ।

शिक्षकहरूको उत्साह र व्यवस्थापन समितिको सक्रियताले दशकयता भने विद्यालयको मुहार फेरिँदै गएको छ । छिमेकी जिल्ला रामेछापको सेलेघाटबाट समेत विद्यार्थीहरू सुनकोसी पार गरेर विद्यालयमा आउन थालेका छन् । यतिखेर विद्यालयमा बालविकासदेखि १२ कक्षासम्म नै व्यवस्थित अध्यापन हुने गरेको छ । विद्यालयमा भौतिक संरचना बन्ने क्रम पनि बढिरहेको छ; विद्यार्थीहरू खचाखच छन् । विद्यालयले प्रविधिमैत्री शिक्षालाई जोड दिइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमूल कार्की बताउँछन् । ‘विद्यालयमा अध्ययनरत छात्रालाई छुट्टै शौचालय र नि:शुल्क सेनेटरी प्याडको व्यवस्था छ‚’ उनले भने, ‘शिक्षकहरूमा एकता छ । मधेश प्रदेशबाट समेत विद्यार्थीहरू अध्ययनका लागि यहाँ आउने गर्छन् ।’

तालिमप्राप्त शिक्षक, पर्याप्त भौतिक संरचना, फर्निचर, शौचालय, खेल मैदानसमेतको व्यवस्था हुने हो भने टिक्ने र बजारमा बिक्ने शिक्षाको हब जनज्योति मावि बन्ने शिक्षकहरूको दावी छ ।

प्रकाशित : असार ८, २०७९ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?