नीलकण्ठ नगरपालिकाको बजेट १ अर्ब २२ करोड- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नीलकण्ठ नगरपालिकाको बजेट १ अर्ब २२ करोड

सरिता श्रेष्ठ

धादिङ — धादिङको नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष  २०७९/०८० का लागि १ अर्ब २२ करोड ९१ लाख २३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

दोस्रो नगरसभाको पहिलो अधिवेशनमा उपप्रमुख दीपक विश्वकर्माले चालु खर्चतर्फ ७६ करोड ७९ लाख ६ हजार र पूजिगततर्फ ४६ करोड १२ लाख १७ हजार विनियोजन गरेको बताए । यो अघिल्लो आर्थिक वर्षको भन्दा २० करोड ७९ लाख कम हो । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ का लागि १ अर्ब २ करोड १२ लाख ७७ हजार ५ सय २५ रुपैयाको बजेट विनियोजन गरिएको थियो ।

नगरसभाले आगामी आर्थिक वर्षका लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापनलगायतका शीर्षकमा बजेट विनियोजन गरिएको छ ।

आर्थिक क्षेत्रमा ८ करोड २८ लाख बजेट विनियोजन गरिएको छ । ‘कृषिमा सीप, प्रविधि र पुँजीसहितको आत्मनिर्भर, किसानका लागि स्थानीय सरकार’ भन्ने नाराका साथ कृषि क्षेत्र प्रवर्द्धनका लागि ५ करोड २९ लाख विनियोजन गरिएको छ । ‘एक वडा एक उत्पादन, उत्पादनमा आधारित अनुदान’ नारासहित प्रत्येक वडामा कृषिजन्य तथा दुग्धजन्य उत्पादनको प्रवर्द्धन कार्यक्रम ल्याइने उपप्रमुख विश्वकर्माले बताए । उद्योग तथा लघु विकासका लागि १ करोड ४७ लाख छुट्याइएको छ ।

नगरपालिकाको वडा नम्बर ८ मा औद्योगिक ग्राम निर्माण गर्ने कार्यलाई निरन्तरता दिने बताइएको छ । कृषि तथा पर्यटन प्रवद्र्धनका लागि १ करोड ३० लाख, सहकारी विकास कार्यक्रम अगाडि बढाउन ३० लाख विनियोजन गरिएको छ । नीलकण्ठ नगरपालिकाको भाषा कला संस्कृति एवम् प्राज्ञिक क्षेत्रको प्रवर्द्धन विकासका लागि स्थापित नीलकण्ठ प्रज्ञा प्रतिष्ठान स्थापना गरिने बताइएको छ । जसका लागि २० लाख विनियोजन गरिएको छ ।

सामाजिक विकासतर्फ ५२ करोड ४६ लाख विनियोजन गरिएको छ । जसअन्र्तगत स्वास्थ्यमा ७ करोड ४६ लाख, शिक्षामा ३९ करोड ४३ लाख, युवा तथा खेलकुदमा २५ लाख बजेट विनियोजन गरिएको छ । नगरवासीको प्रेसर, सुगर, ब्लडगु्रप छुट्टाउने, होलबडी चेकअप जस्ता स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्य स्वंयसेविकालाई प्रोत्साहन भत्ताबापत मासिक एक हजार दिने व्यवस्था मिलाइएको छ । नगरपालिकामा बहुप्राविधिक शिक्षालय स्थापना गर्न १ करोड ५० लाख विनियोजन गरिएको छ ।

पूर्वाधार विकासअन्तर्गत आगामी पाँच वर्षसम्म वडा कार्यलयसम्म पुग्ने सडक कालोपत्रे गरिने गरी ३० करोड ३७ लाख बजेट विनियोजन गरिएको बताइएको छ । सडक, पुल, भवन, सिंचाइका लागि २७ करोड ६४ लाख, कार्यसम्पादनलाई प्रविधिमैत्री बनाउन २ करोड १५ लाख विनियोजन गरिएको छ । जल उत्पन्न प्रकोप उद्धार भू तथा जलाधार संरक्षण कार्यक्रम संचालनका लागि ३५ लाख, विपद्जन्य घटना न्यूनीकरणलगायत विभिन्न विपद् प्रतिकार्यका लागि ९० लाख विनियोजन गरिएको छ ।

नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई संरक्षण अनुदान कार्यक्रमलाई निरन्तरता दिएको छ । बजेटमा महिला उद्यमशीलता एवम् आर्यआर्जन, सीप विकास, दलित समुदायको उत्थान कार्यक्रमका लागि पनि कार्यक्रम सञ्चालन गरिने बताइएको छ । बालबालिकालाई विपद् तथा हिंसाबाट जोगाउन चेतनामूलक कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख भीमप्रसाद ढुङगानाले बताए । जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुका लागि वपन प्रवर्धनात्मक कार्यक्रम संचालन गरिने बताइएको छ ।

बजेट प्रस्तुत गर्नुपूर्व नगरप्रमुख भीमप्रसाद ढुङ्गानाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माण गर्नुपूर्व वडाभेला गरी वडाले प्राथमिकतामा छुट्याएर पठाएका योजनाहरुलाई नगरपालिकाले समेटेको बताइएको छ ।

अघिल्लो कार्यकालमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा उत्कृष्ट नगरपालिकाका रूपमा नीलकण्ठ नगरपालिका पुरस्कृत भएको थियो ।

प्रकाशित : असार ७, २०७९ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्

मलमा कालोबजारी : बोराकै २८ सयसम्म तिर्छन् किसान

सरिता श्रेष्ठ

धादिङ — १० रोपनी जग्गामा मकै लगाएकी नीलकण्ठ नगरपालिका वडा नं १२ की सुशीला कुमाल मल लिन हरेक दिन सदरमुकाम धादिङबेसी झर्छिन् । तर बजारबाट रित्तै घर फर्कनु पर्छ । उनी मात्रै नभएर धादिङका अधिकांश किसानले धान रोप्ने मौसम सुरु भइसक्दा पनि बजारमा मल पाएका छैनन् ।

‘मल नहाली खेती हुँदैन । मल आउला र हालेर गोडमेल गरौंला भन्दा भन्दै बितिसक्यो,' कुमाल भन्छिन्, कृषिमा आश्रित हुने हामी किसानलाई अहिले उत्पादन घट्ने चिन्ताले पिरोलेको छ ।’

मकै खेती गर्ने किसान मात्र होइन । धान खेतीको तयारी गरेका किसानहरू पनि मल अभावले पिरोलिएका छन् । नीलकण्ठ ३ की संगीता श्रेष्ठ कहिले फोन त कहिले आफैं मल बिक्री गर्ने नीलकण्ठ सहकारी संस्था लिमिटेडमा पुग्छिन् । तर मलको पर्खाइमा रहेकी उनले एक मुठी मल नपाएको गुनासो गर्छिन् । 'हरेक वर्ष मल अभाव हुन्छ । जहिले गए पनि मल छैन मात्र भन्छन्,' उनले भनिन्, ‘समयमा न बिउ पाइन्छ, न मल । किसानलाई ज्युँदै मार्ने भए । मल नहुँदा बालीसमेत लागेको छैन ।'

मल अभावले उत्पादन घट्नेमा किसानहरू चिन्तित छन् । मल नपाइने भएपछि नीलकण्ठ नगरपालिका ९ का तुलबहादुर गुरुङले दोहोरो मकै मल बिना नै गोडेर सके । ‘मल कुर्‍यो भने मकै गोड्नसमेत पाइँदैन जस्तो लागेर बिना मल दोहोरो गोडेँ,' उनी भन्छन्, ‘मलका लागि १५ दिनजति त बजारै धाएँ तर पछि महङगो मूल्य हालेर मल पाइयो । जेठ महिनाभर मकैमा हाल्ने मल खोज्दैमा बित्यो । अब धानमा हाल्ने बेलामा मल पाइएको छैन ।’

धादिङका किसानहरूले मलको अभाव यस वर्ष मात्रै नभएर प्रत्येक वर्ष भोग्दै आएका छन् । किसानहरूले जसोतसो बाली लगाएपछि त्यसलाई हुर्काउने समयमा मलको हाहाकार हुने गर्छ । यो क्रम यसपटक पनि दोहोरिएको छ । मल नपाएपछि ग्रामीण क्षेत्रका किसानहरू सदरमुकाम धादिङबेसी लगायत मुख्य बजारहरू धाइरहेका छन् । तर मलको समाधान हुन सकेको छैन ।

एकातर्फ मकैबालीमा हाल्न पाएका छैनन् भने अर्कोतर्फ धान रोपाइँ गर्ने सिजनमा मल नपाउँदा किसानहरू आक्रोसित बनेका छन् । बजारमा मल अभावले किसानहरूलाई सताएको छ । ज्वालामुखी गाउँपालिका वडा नं ५ का हरि थापा एक बोरा यूरिया मलको दुई हजार एक सय परेको बताउँछन् । उनी भन्छन्, ‘सानो खालको मलको दुई हजार एक सय । ठूलो खालको मलको दुई हजार ६ सयको दरले बेचिरहेका छन् ।’

नेपाल सरकारले सहुलियतमा मल ल्याउन नसक्दा व्यवसायीहरू भने कालोबजारी गर्दै फाट्टफुट्ट रुपमा मल बेचिरहेका छन् । त्यही पनि खोसाखोस हुने गर्छ । मल अभाव झेलिरहेका किसानहरू व्यवसायीले भनेजति नै महंगो मूल्य तिर्न बाध्य बनेका छन् ।

नीलकण्ठका किसान राजकुमार श्रेष्ठ भन्छन्, ‘मलमा चरम कालोबजारी छ । ९ सयमा पाइने मल २८ सयसम्म तिरेको छु, त्यही पनि भनेको बेला पाइँदैन । यतिबेला हामीलाई पैसा भन्दा मलको महत्त्व छ । जति भन्यो त्यतिमा ल्याउन बाध्य छौँ ।’

यूरिया मलमा व्यवसायीहरूले महंगो मूल्य असुलेकोको किसानहरूको गुनासो छ। व्यवसायीहरू भने गाडी भाडा र थोरै फाइदा राखेर बिक्री गरेको दाबी गर्छन् । अहिले ल्याइएको यूरिया मल सरकारको आयातित माल नभई भारतबाट चोरी निकासी भएर आउने गरेकोले महङगो हुने गरेको धादिङबेसीका व्यावसायी बताउँछन् ।

एक हजार नौ सय ४० रुपैयाँ आफ्नै पर्ने र भाडामा ५/१० रुपैयाँ फरक हुनसक्ने भएकाले दुई हजारमा मल बिक्री गर्ने गरेको व्यवसायीहरूको भनाइ छ । नीलकण्ठ सहकारी संस्था लिमिटेडले भने जिल्लाका किसानहरूलाई सहुलियत दरमा मल उपलब्ध गराउँदै आएको छ । सहकारीले यूरिया मलको प्रतिबोरा एक हजार ३० को दरले बिक्री गर्ने गरेको संस्थाका अध्यक्ष बलराम श्रेष्ठ बताउँछन् ।

तैपनि गोदाममा मल नभएको श्रेष्ठको भनाइ छ । सहकारीमा आएको मल हरेक किसानलाई १५ केजीका दरले वितरण गरेपछि गोदाम खाली भएको उनले बताए । उनका अनुसार धादिङका किसानलाई आवश्यकता अनुसार वितरण गर्दा ३० हजार बोरा मल चाहिन्छ । तर चाहेजति मल नपाउने गरेको किसानको गुनासो छ ।

प्रकाशित : असार ५, २०७९ १९:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×