२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मलमा कालोबजारी : बोराकै २८ सयसम्म तिर्छन् किसान

सरिता श्रेष्ठ

धादिङ — १० रोपनी जग्गामा मकै लगाएकी नीलकण्ठ नगरपालिका वडा नं १२ की सुशीला कुमाल मल लिन हरेक दिन सदरमुकाम धादिङबेसी झर्छिन् । तर बजारबाट रित्तै घर फर्कनु पर्छ । उनी मात्रै नभएर धादिङका अधिकांश किसानले धान रोप्ने मौसम सुरु भइसक्दा पनि बजारमा मल पाएका छैनन् ।

मलमा कालोबजारी : बोराकै २८ सयसम्म तिर्छन् किसान

‘मल नहाली खेती हुँदैन । मल आउला र हालेर गोडमेल गरौंला भन्दा भन्दै बितिसक्यो,' कुमाल भन्छिन्, कृषिमा आश्रित हुने हामी किसानलाई अहिले उत्पादन घट्ने चिन्ताले पिरोलेको छ ।’

मकै खेती गर्ने किसान मात्र होइन । धान खेतीको तयारी गरेका किसानहरू पनि मल अभावले पिरोलिएका छन् । नीलकण्ठ ३ की संगीता श्रेष्ठ कहिले फोन त कहिले आफैं मल बिक्री गर्ने नीलकण्ठ सहकारी संस्था लिमिटेडमा पुग्छिन् । तर मलको पर्खाइमा रहेकी उनले एक मुठी मल नपाएको गुनासो गर्छिन् । 'हरेक वर्ष मल अभाव हुन्छ । जहिले गए पनि मल छैन मात्र भन्छन्,' उनले भनिन्, ‘समयमा न बिउ पाइन्छ, न मल । किसानलाई ज्युँदै मार्ने भए । मल नहुँदा बालीसमेत लागेको छैन ।'

मल अभावले उत्पादन घट्नेमा किसानहरू चिन्तित छन् । मल नपाइने भएपछि नीलकण्ठ नगरपालिका ९ का तुलबहादुर गुरुङले दोहोरो मकै मल बिना नै गोडेर सके । ‘मल कुर्‍यो भने मकै गोड्नसमेत पाइँदैन जस्तो लागेर बिना मल दोहोरो गोडेँ,' उनी भन्छन्, ‘मलका लागि १५ दिनजति त बजारै धाएँ तर पछि महङगो मूल्य हालेर मल पाइयो । जेठ महिनाभर मकैमा हाल्ने मल खोज्दैमा बित्यो । अब धानमा हाल्ने बेलामा मल पाइएको छैन ।’

धादिङका किसानहरूले मलको अभाव यस वर्ष मात्रै नभएर प्रत्येक वर्ष भोग्दै आएका छन् । किसानहरूले जसोतसो बाली लगाएपछि त्यसलाई हुर्काउने समयमा मलको हाहाकार हुने गर्छ । यो क्रम यसपटक पनि दोहोरिएको छ । मल नपाएपछि ग्रामीण क्षेत्रका किसानहरू सदरमुकाम धादिङबेसी लगायत मुख्य बजारहरू धाइरहेका छन् । तर मलको समाधान हुन सकेको छैन ।

एकातर्फ मकैबालीमा हाल्न पाएका छैनन् भने अर्कोतर्फ धान रोपाइँ गर्ने सिजनमा मल नपाउँदा किसानहरू आक्रोसित बनेका छन् । बजारमा मल अभावले किसानहरूलाई सताएको छ । ज्वालामुखी गाउँपालिका वडा नं ५ का हरि थापा एक बोरा यूरिया मलको दुई हजार एक सय परेको बताउँछन् । उनी भन्छन्, ‘सानो खालको मलको दुई हजार एक सय । ठूलो खालको मलको दुई हजार ६ सयको दरले बेचिरहेका छन् ।’

नेपाल सरकारले सहुलियतमा मल ल्याउन नसक्दा व्यवसायीहरू भने कालोबजारी गर्दै फाट्टफुट्ट रुपमा मल बेचिरहेका छन् । त्यही पनि खोसाखोस हुने गर्छ । मल अभाव झेलिरहेका किसानहरू व्यवसायीले भनेजति नै महंगो मूल्य तिर्न बाध्य बनेका छन् ।

नीलकण्ठका किसान राजकुमार श्रेष्ठ भन्छन्, ‘मलमा चरम कालोबजारी छ । ९ सयमा पाइने मल २८ सयसम्म तिरेको छु, त्यही पनि भनेको बेला पाइँदैन । यतिबेला हामीलाई पैसा भन्दा मलको महत्त्व छ । जति भन्यो त्यतिमा ल्याउन बाध्य छौँ ।’

यूरिया मलमा व्यवसायीहरूले महंगो मूल्य असुलेकोको किसानहरूको गुनासो छ। व्यवसायीहरू भने गाडी भाडा र थोरै फाइदा राखेर बिक्री गरेको दाबी गर्छन् । अहिले ल्याइएको यूरिया मल सरकारको आयातित माल नभई भारतबाट चोरी निकासी भएर आउने गरेकोले महङगो हुने गरेको धादिङबेसीका व्यावसायी बताउँछन् ।

एक हजार नौ सय ४० रुपैयाँ आफ्नै पर्ने र भाडामा ५/१० रुपैयाँ फरक हुनसक्ने भएकाले दुई हजारमा मल बिक्री गर्ने गरेको व्यवसायीहरूको भनाइ छ । नीलकण्ठ सहकारी संस्था लिमिटेडले भने जिल्लाका किसानहरूलाई सहुलियत दरमा मल उपलब्ध गराउँदै आएको छ । सहकारीले यूरिया मलको प्रतिबोरा एक हजार ३० को दरले बिक्री गर्ने गरेको संस्थाका अध्यक्ष बलराम श्रेष्ठ बताउँछन् ।

तैपनि गोदाममा मल नभएको श्रेष्ठको भनाइ छ । सहकारीमा आएको मल हरेक किसानलाई १५ केजीका दरले वितरण गरेपछि गोदाम खाली भएको उनले बताए । उनका अनुसार धादिङका किसानलाई आवश्यकता अनुसार वितरण गर्दा ३० हजार बोरा मल चाहिन्छ । तर चाहेजति मल नपाउने गरेको किसानको गुनासो छ ।

प्रकाशित : असार ५, २०७९ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?