भारतबाट भन्सार छली ल्याइएको मल धादिङमा किसानले कब्जा गरे- वाग्मती - कान्तिपुर समाचार

भारतबाट भन्सार छली ल्याइएको मल धादिङमा किसानले कब्जा गरे

सरिता श्रेष्ठ

धादिङ — धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६ धार्के बजारमा रासायनिक मल बोकेको ट्रक स्थानीय किसानहरूले कब्जा गरेका छन् । भारतबाट भन्सार छली गरेर ल्याइएको मल धार्केमा किसानले कब्जा गरेका हुन् ।

भन्सार छली गरेर ल्याउँदै गरिएको दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिएपछि व्यापारीहरूको संलग्नतामा किसानहरूलाई जानकारी गराएका थिए ।

मलको अभाव भोगिरहेका किसानहरूले पृथ्वी राजमार्गको बीच सडकमै ट्रक नियन्त्रणमा लिएर मल लिएका हुन् । राजमार्गमा जम्मा भएका करिव ५ सय जना किसानले मल लिएका छन् ।

व्यापारीहरूले भने भन्सार छली गर्दै धादिङका स्थानीय बजारमा कालोबजारी गर्दै मल बेच्दै आएको आरोप पनि लागेको छ ।

विशेष सुराकीको आधारमा राजश्व अनुसन्धान विभागले मल नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा स्थानीय किसानलाई मल 'लुट्न लगाएको' किसानहरूले बताएका छन् । किसानहरूले मल कब्जा गर्ने क्रममा प्रहरीले भीडलाई तितरवितर गर्न लाठी प्रहारसमेत गरेको छ ।

प्रकाशित : असार ४, २०७९ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्

मुगुका ७९ विद्यालयमा अझै पुगेन पाठ्यपुस्तक

राजबहादुर शाही

मुगु — मुगुको खत्याड र सोर गाउँपालिकाका ७९ वटा सामुदायिक विद्यालयमा अझै नयाँ पाठ्यपुस्तक नपुग्दा करिव ७ हजार विद्यार्थीको पढाइ प्रभावित बनेको छ ।

शैक्षिक सत्र सुरु भएको डेढ महिनासम्म पनि सोरु र खत्याड गाउँपालिकामा रहेका हजारौं विद्यार्थीहरू नयाँ पुस्तकको खोजीमा भौंतारिरहेका छन् ।

छायाँनाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालिकाका विद्यार्थीले नयाँ पाठ्यपुस्तक प्राप्त गरे पनि सोरु र खत्याड गाउँपालिकामा अध्यायरत ७ हजार विद्यार्थी भने नयाँ पुस्तकबाट वञ्चित भएका छन् ।

विद्यालय सञ्चालन भएको डेढ महिनासम्म विद्यार्थीले पाठयपुस्तक नपाउँदा पढाइमा असर परेको सोरु गाउँपालिकास्थित जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक सुवास रावलले बताए । पुस्तक नहुँदा शिक्षक शिक्षिकालाई पनि पढाउन मुस्किल हुन थालेको उनी बताउँछन् ।

कतिपय विद्यार्थीहरू भने पुस्तक अभावका कारण घरेलु कामतिर समेत लाग्ने गरेको अभिभावकहरू बताउँछन् । खत्याड गाउँपालिकामा रहेका ४१ वटा सामुदायिक विद्यालयमा पढ्ने छात्रछात्राहरूले पाठ्यपुस्तक नपाएको गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीको भनाइ ।

छिटो पुस्तक ढुवानी गरिदिन सम्बन्धित निकायलाई आग्रह गर्दा सुनुवाइ नभएको पनि उनको गुनासो छ । तर शिक्षकहरूले सोरु गाउँपालिकामा लेखापालको समस्याका कारण पाठ्यपुस्तक खरिदको निम्ति अझै विद्यालयको खातामा पैसा निकासा नभएको गुनासो गरेका छन् ।

जिल्ला शिक्षा विकास इकाइ कार्यालयले भने स्थानीय निर्वाचनका कारण समयमै पुस्तक विद्यालयसम्म नपुगेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी खडकबहादुर रोकायाले भने खत्याड र सोरु गाउँपालिकामा छिट्टै पुस्तक पठाउन सम्बन्धित निकायसँग पहल गर्ने जनाएका छन् ।

प्रकाशित : असार ४, २०७९ १७:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×