कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

योजनाको भुक्तानी सिधै उपभोक्ता समितिको खातामा

काभ्रे — धुलिखेल नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न योजनाको भुक्तानी सोझै सम्बन्धित उपभोक्ता समितिको खातामा जम्मा (इलेक्ट्रोनिक फन्ड ट्रान्सफर) गर्न थालेको छ । महालेखा नियन्त्रण कार्यालयले विकास गरेको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) प्रयोग गर्ने मुलुकभरका ७५३ स्थानीय तहमध्ये यो सेवा थाल्ने धुलिखेल वाग्मती प्रदेशकै पहिलो स्थानीय तह हो ।

योजनाको भुक्तानी सिधै उपभोक्ता समितिको खातामा

‘विभिन्न योजनाको भुक्तानी सम्बन्धित उपभोक्ता समितिको खातामा नै जाने व्यवस्था गरेका छौं,’ नगरपालिकाका वरिष्ठ लेखा अधिकृत धनबहादुर बस्नेतले भने, ‘चेकलेस व्यवस्थाले चेक जम्मा गर्ने, क्लियरिङलगायत काममा लाग्ने समय बचत हुन्छ ।’ बेलायती दूतावासको प्राविधिक सहयोगमा नेपालकै सफ्टवेयर इन्जिनियरले निर्माण गरेको वेभमा आधारित सफ्टवेयरका कारण बजेट निर्माण, लेखांकन र प्रतिवेदनमा सहजता थपिएको उनले बताए ।

यो प्रणालीका कारण मुलुकका सबै स्थानीय तहमा बजेट निर्माण तथा खर्च प्रणालीमा एकरूपता कायम भएको छ । महालेखामै सर्भर रहेकाले देशैभरको खर्च विवरण र प्रतिवेदन दैनिक अद्यावधिक हुन्छ । दैनिक अद्यावधिक हुने र तथ्यांकमा एकरूपता हुने भएकाले लेखापरीक्षण गर्नसमेत सहज हुने उनले बताए । संघीयता कार्यान्वयनमा आएको पहिलो वर्ष नै सुरु भएको यो प्रणाली बेलायती दूतावासले सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको बताइएको छ ।

प्रकाशित : असार ३, २०७९ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?