कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

निउरो टिप्न जानेहरू बाघको निसानामा, ९ दिनमा २ जनाको मृत्यु

रमेशकुमार पौडेल

चितवन — निउरो टिप्न चितवन राष्ट्रिय निकुञ्ज आडको मेघौली राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा गएकी भरतपुर महानगरपालिका–२७ की २३ वर्षीया रेखा बस्नेतको बाघले आक्रमण गर्दा मृत्यु भएको छ । बस्नेतसहित स्थानीय १०/१२ जना बिहीबार बिहान सात बजे जंगल गएका थिए ।

बस्नेतलाई त्यही बेला बाघले आक्रमण गरेर जंगलभित्र लगेको थियो । मध्याह्न १२ बजेतिर रेखाको शव फेला परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए । रेखा पूर्व म्यादी प्रहरी पनि हुन् ।

पछिल्लो समय चितवन निकुञ्ज आसपासमा बाघ आक्रमणको घटना बढेको छ । यसअघि जेठ २४ गते मंगलबार निकुञ्ज मुख्यालय कसराआडको घौलाघारी मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएकी भरतपुर–२३ जगतपुरकी मंगली बोटेको पनि बाघ आक्रमणमा परेर ज्यान गएको थियो । ९ दिन नहुँदै निउरो नै टिप्न गएकी अर्को महिलाको पनि बाघले नै ज्यान लिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य यो वर्ष घाँस काट्न, सालको पात टिप्न र निउरो टिप्न जंगल जाँदा आक्रमणका घटना भएको बताउँछन् ।

निकुञ्ज मुख्यालबाट प्राप्त विवरणअनुसार गत वर्षको असार ७ गतेयता बिहीबारको यो घटनासहित बाघ आक्रमणमा परेर ज्यान गुमाउनेहरुको संख्या १६ पुगेको छ । वर्ष दिन नहुँदै यति धेरैले ज्यान गुमाएको घटना यसअघि नभएको निकुञ्जका अधिकारी बताउँछन् । चितवन राष्ट्रिय निकुञ्ज नेपालमा बाघको मुख्य बासस्थल पनि हो । अघिल्ला वर्षहरुको तुलनामा बाघको संख्या बढेको निकुञ्जका अधिकारीहरुको अनुमान छ । त्यसैले आक्रमणका घटना पनि चिन्ताजनक रूपमा बढेका छन् ।

प्रकाशित : असार २, २०७९ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?