अनिल परियार हत्या प्रकरण : महिना दिनपछि तीन जना पक्राउ- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनिल परियार हत्या प्रकरण : महिना दिनपछि तीन जना पक्राउ

रमेशकुमार पौडेल

चितवन — नेपाली कांग्रेसका कार्यकर्ता भरतपुरका अनिल परियारको हत्या भएको महिना दिनपछि चितवन प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान सुरू गरेको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार गिरफ्तार हुनेमा भरतपुर-१५ का ३५ वर्षीय विश्व भन्ने हेमन्त बास्तोला, भरतपुर-१२ का २३ वर्षका राहुल परियार र चितवन माडी घर भइ भरतपुर-१५ मा डेरा गरी बस्ने वर्ष २५ का रोहित सिलवाल रहेका छन् । बास्तोला काठमाडौं र अरू चितवनमै समातिएका हुन् । कांग्रेसको वाग्मती प्रदेश अधिवेशन प्रतिनिधि परियारको वैशाख २५ गते साँझ हत्या भएको थियो । भरतपुर महानगरपालिका-१२ बस्ने परियारलाई भरतपुर-७ कृष्णपुरको प्लटिङ फुटबल मैदान नजिक धारिलो हतियार प्रहार गरेर ज्यान लिएको प्रहरीले जनाएको छ ।

स्थानीय तह निर्वाचनको माहोल उत्कर्षमा रहेका बेला हत्या घटना भएको थियो । उक्त घटनाको भोलिपल्ट नेपाल तरूण दल चितवनले भरतपुरमा विरोध प्रदर्शन गरेको थियो । त्यसअघि स्वस्फूर्त प्रदर्शनमा उत्रेका परियारका समर्थकले केही गाडी पनि तोडफोड गरेका थिए ।

परियार केही आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्ति थिए । प्रहरीका अनुसार उनी ज्यान मार्ने उद्योग गरेको अपराधमा एक वर्षअघि मात्रै समातिएर पछि छुटेका थिए । परियार हत्याको कारण प्रहरीले अझैसम्म केही खुलाउन सकेको छैन । घटनामा संलग्न मुख्य व्यक्तिसमेत पक्राउ परेका छैनन् ।

प्रकाशित : जेष्ठ २६, २०७९ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्

मुख्यमन्त्री पोखरेल र संयुक्त राष्ट्रसंघ सहायक महासचिवबीच भेटवार्ता

दिगो पर्यटनका लागि सहकार्य गर्ने प्रतिबद्धता
कान्तिपुर संवाददाता

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली र संयुक्त राष्ट्रसंघका सहायक महासचिव कान्नी विंगाराजा नेतृत्वको टोलीबीच मुख्यमन्त्री कार्यालयमा बिहीबार औपचारिक भेटवार्ता भएको छ । 

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)को एसिया प्यासिफिक रिजनल ब्युरो डाइरेक्टरसमेत रहेकी कान्नीसँगको भेटमा मुख्यमन्त्री नेपालीले गण्डकी प्रदेश देशको पर्यटकीय राजधानी भएकाले पर्यटन क्षेत्रको समग्र विकासमा सहकार्य गर्ने इच्छा व्यक्त गरे ।

संघीयताको सुदृढीकरण, सेवा प्रवाहको प्रभावकारिता, जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धि, तथ्यांक तथा अभिलेख व्यवस्थापन र अनुभवको आदानप्रदानका लागि संयुक्त राष्ट्रसंघको सहयोगको अपेक्षा आफूहरूले गरेको भन्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सरकारले यूएनडीपीसँगको सहकार्यमा ‘दिगो पर्यटन पुनरुत्थान परियोजना’ सञ्चालन गर्न नेपाल सरकारले स्वीकृति दिएको जानकारी दिए ।

त्यस्तै सहायक महासचिव कान्नी विंगाराजाले दिगो पर्यटन विकासका लागि नेपालसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताइन् । ‘दिगो पर्यटन पुनरुत्थान परियोजना’ सञ्चालनका लागि नेपाल सरकारले अनुमति दिएकोमा खुसी व्यक्त गर्दै उनले भनिन्, ‘साझा समस्या समस्या समाधान गर्न साझा प्रयत्न जरुरी छ । गरिबी, भोकमरी अन्त्यका लागि दिगो विकासका लक्ष्य हाँसिल गर्न सबैले सँगै यात्रा गर्नुपर्छ ।’

उक्त भेटमा नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओ, नेपालका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका नेपाल प्रतिनिधि आइसाने मेडागान्गोडा लाबे, इसिमोडका महासचिव एवं कोइकाका नेपाल प्रतिनिधिलगायतको सहभागिता थियो ।

गण्डकी प्रदेशका तर्फबाट पर्यटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल, नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्ले, प्रमुख सचिव रविलाल पन्थ, सचिव ज्ञानेन्द्र पौडल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल पनि भेटमा सहभागी थिए ।

प्रकाशित : जेष्ठ २६, २०७९ १९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×