अवरुद्ध मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालनमा [अपडेट]- वाग्मती - कान्तिपुर समाचार

अवरुद्ध मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालनमा [अपडेट]

रमेशकुमार पौडेल

काठमाडौँ — पहिरो खसेपछि अवरुद्ध चितवनको नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । पहिरो र पुरिएका गाडीहरु हटाइएपछि एकतर्फी सडक खुला भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

नारायणगढ-मुग्लिन सडकअन्तर्गत पर्ने जिल्लाको इच्छाकामना गाउँपालिका ६ नाग्दी खोला नजिकै शनिबार अपराह्न साढे ५ बजे सुख्खा पहिरो खसेको थियो । पहिरोमा माइक्रोबस र कार पुरिएका थिए । केही यात्रु घाइते भएका थिए ।

...........

चितवनको नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका ६ नाग्दी खोला नजिकै शनिबार अपराह्न साढे ५ बजे माथिबाट सुख्खा पहिरो खसेको छ । पहिरो परी माइक्रो बस र कारमा क्षति पुगेको छ भने केही व्यक्ति घाइते भएका छन् ।

घटनाको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय, मुग्लिनबाट प्रहरी निरीक्षकको टोली त्यसतर्फ गएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए । पहिरोको कारण बाटो अवरुद्ध छ । घाइतेलाई उपचारका लागि भरतपुरतर्फ पठाइएको छ ।

प्रकाशित : जेष्ठ १४, २०७९ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्

सातामा २ दिन बिदाले समस्या थपियो : उद्योगी 

शंकर आचार्य

पर्सा — साताको २ दिन बिदा दिने सरकारको निर्णयले मुलुकको आर्थिक अवस्थामा समस्या हुने उद्योगी व्यवसायीले गुनासो गरेका छन् । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले साताको २ दिन बिदा दिने निर्णयले व्यवहारमा समस्या ल्याउने बताए । 

‘सातामा २ दिन सार्वजनिक बिदा दिँदा उद्योग व्यवसायमा नकारात्मक प्रभाव परिरहेको छ,’ उनले भने, ‘कुनै साता बीचमा अर्को कुनै दिन बिदा पर्दा हप्तैभर काम हुन नसक्ने अवस्था आएको छ ।’ यस बाहेक बैंक तथा वित्तीय संस्थाहरुमा समेत साताको २ दिन बिदाले समयमा बैंकिङ्ग कार्य नहुने यथार्थलाई मनन् गरिनुपर्ने उनले बताए । ‘हामी अल्पविकसित अवस्थामै छौं, देशलाई विकसित मुलुकको श्रेणीमा पुर्‍याउन हामीले थप कठोर मिहेनत गर्नुपर्ने छ,’ उनले भने, ‘हामीले बढी मिहेनत गर्नुको साटो संघीय, प्रदेश र स्थानीय सरकारले बढी बिदा दिने प्रतिस्पर्धा गर्दा समग्र उद्योग, व्यवसाय, शैक्षिक, स्वास्थ्य आदि क्षेत्रमा यसले नकारात्मक असर मात्र पुर्‍याउँछ ।’

अर्का उद्योगी माधव राजपालले वीरगन्जका दुबै भन्सारहरु ३ सय ६५ दिन सञ्चालन हुने गरेकोमा सातामा २ दिन सार्वजनिक बिदा दिने निर्णयले बैंकबाट क्लियरिङ नहुँदा भन्सारको कामकामजमा समस्या हुने गरेको बताए । वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय अन्य कार्यालयमा सार्वजनिक बिदा हुँदा पनि सञ्चालन हुने गरेका छन् । ‘यो निर्णयले यहाँको शिक्षा क्षेत्र पनि खुसी छैन, विद्यालयहरु आइतबार पनि खुल्न थालिसकेका छन्,’ उनले भने, ‘साताको २ दिन बिदा दिँदा पनि डिजेल/पेट्रोलको खपत घटेको छैन, बिदामा छुट्टी मनाउन निस्कनेहरुले पनि इन्धनको खपत भइरहेकै हुन्छ ।’

वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले साताको २ दिन बिदा दिनेजस्तो महत्वपूर्ण निर्णय लिनुअघि सरोकारवालासँग आवश्यक छलफल र राय सल्लाह गरेको भए अहिले जस्तो विरोध नहुने बताए । ‘सरकारले यस सम्बन्धमा निजी क्षेत्र लगायत अन्य सरोकारवालाहरुसँग गम्भीर छलफल गरेर मात्र निर्णय लिनु पर्थ्यो, यहाँ सरकार चुकेकै हो,’ उनले भने, ‘वीरगन्ज जस्तो वर्षैभर आर्थिक कारोबार र गतिविधि हुने व्यापारिक तथा औद्योगिक सहरमा पक्कै पनि साताको २ दिन बिदाले प्रभाव पार्छ ।’

प्रकाशित : जेष्ठ १४, २०७९ १७:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×