भूकम्प पीडितले पाएनन् अनुदान

टीकाप्रसाद भट्ट

रामेछाप — घर निर्माण सकेको वर्ष दिन पुग्दा पनि रामेछापका भूकम्प पीडितले अझै अनुदानको रकम पाउन सकेका छैनन् । तर वैदेशिक स्रोत फुकुवा नहुँदा जिल्लामा निकासा भएको २० करोड रुपैयाँ भने सरकारी ढुकुटीमै थन्किएको छ । 

भूकम्प पीडितले पाएनन् अनुदान

प्राविधिकबाट निरीक्षण सकेका घरहरूको अनुदान नपाउँदा पीडितहरूले डकर्मी र निर्माण सामग्री खरिदको रकम भुक्तानी गर्न कठिनाइ झेल्दै आएका छन् । ‘चुनाव प्रचारमा जाँदा पनि जनताले किस्ताको बारेमा सोधपुछ गर्छ; चुनाव सकिएपछि पनि दिनहुँ वडा कार्यालयमा किस्ता नपाएकै गुनासो लिएर आउनेहरूको संख्या बढेको छ‚’ रामेछाप नगरपालिका ८ का वडाध्यक्ष सन्तोष तामाङले भने‚ ‘जनप्रतिनिधि हुनेबित्तिकै नागरिकको समस्या समाधानका लागि जिल्ला दौडन थालेको छु ।’

तामाङ मात्र होइन, जिल्लाका अधिकांश वडामा निर्वाचित जनप्रतिनिधिको सबैभन्दा ठूलो समस्या नै भूकम्पको किस्ता नपाएको भन्ने गुनासो समाधान गर्नु रहेको छ । मन्थली १२ का वडाध्यक्ष खिलेन्द्रबहादुर खत्री भन्छन्‚ ‘अरु काम एकातिर, भूकम्पको किस्ताको काम एकातिर बराबरजस्तै छ । उनले नागरिकले घर बनाएको वर्ष दिन कट्दा पनि अनुदान पाउन नसकेकोमा चिन्ता व्यक्त गरे ।

२०७२ सालको विनाशकारी भूकम्पमा परेर भत्किएका घरको पुनर्निर्माणका लागि रामेछाप जिल्लामा विश्व बैंकले सहयोग गर्दै आएको छ । अनुदान वितरणको काम गर्ने जिम्मेवारी पाएको सघन शहरी तथा भवन निर्माण विभाग रामेछापका आयोजना प्रमुख सुरेशकुमार वाग्लेले वैदेशिक स्रोत फुकुवा नहुदा किस्ता वितरणमा ढिलाइ भएको बताए ।

‘हामीले विगतमा निकाशा फुकुवा भएको करिब २१ करोड रुपैयाँ अनुदान वितरण गरिसकेका छौं‚’ वाग्ले भन्छन्‚ ‘अझै रामेछापमा करिब ३० करोड रुपैयाँ आवश्यक छ । त्यसमध्ये २० करोड रुपैयाँ केहि दिनअघि मात्र निकाशा भएको तर उक्त रकमको वैदेशिक स्रोत फुकुवा नहुँदा भुक्तानी गर्न मिलेको छैन । स्रोत फुकुवा हुनासाथ हामी २० करोड रुपैयाँ वितरण गर्न सक्ने गरी तयारी अवस्थामा छौं‚’ उनले भने ।

रामेछापमा करिब ५९ हजार भूकम्पपीडित निजी आवास बनाउनका लागि तीन पटक गरी ३ लाख अनुदान पाउनेको सूचीमा समावेश छन् । साविकको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान नपाउने सूचीमा राखेका कतिपयले पुनरावेदन गरेकाले उक्त सूची अझै बढ्ने जनाइएको छ । रामेछापबाट पुनरावेदन गर्नेको संख्या करिब ४ हजार ३ सय रहेको छ ।

प्रकाशित : जेष्ठ १४, २०७९ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?