१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रसुवामा चोरीका घटना बढ्दै

बलराम घिमिरे

रसुवा — पछिल्लो समय रसुवा जिल्लाका विभिन्न स्थानमा चोरीका घटना बढ्न थालेका छन् । एक हप्ताको अवधिमा दुई गरी दर्जनौं घर, सहकारी तथा सरकारी भवनबाट चोरी भएको छ ।

पछिल्लो बिहीबार राति मात्रै उत्तरगया गाउँपालिका–५ मा रहेको दुई वटा सहकारीका कार्यालयमा चोरी भएको छ ।

कालिका बहुउद्देश्य सहकारी संस्था र जनजागरण वचत तथा ऋण सहकारी संस्थामा चोरी भएको हो । कालिका बहुउद्देश्य सहकारी संस्थाबाट ७३ हजार ४ सय ४५ चोरी भएको सहकारीका व्यवस्थापक गोविन्द घिमिरेले बताए ।

त्यस्तै उत्तरगया गाउँपालिका–४ कर्मीडाँडामा रहेको लहरेपौवा स्वास्थ्य चौकी र स्थानीयको घरमा पनि एकै पटक चोरी भएको छ । बिहीबार चोरी गर्ने व्यक्तिले जनजागरण वचत तथा ऋण सहकारी संस्थाको कार्यालय तोडफोडसमेत गरेको संस्थाका अध्यक्ष ओम आचार्यले बताए ।

कार्यालय तोडफोड गरे पनि संस्थाबाट चोरले नगद भने नलिएको उनले जानकारी दिए । दर्जनौं घर, सहकारी तथा सरकारी भवनबाट चोरी भए पनि अहिलेसम्म चोरीमा संलग्न व्यक्ति वा समूह पक्राउ परेका छैनन् ।

यस्तै अघिल्लो साता पनि कालिका गाउँपालिकाको कालिकास्थान धारापानी एवं बेतिनी तथा उत्तरगया गाउँपालिका–५ को माझगाउँ र बनुवा घुम्तीमा चोरीको घटना भएको थियो ।

कालिका गाउँपालिकामा विभिन्न स्थानमा सातवटा निजी घर तथा बेतिनीमा रहेको सामुदायिक स्वास्थ्य एकाइ साथै सहकारी संस्था र उत्तरगया गाउँपालिका–५ वडा कार्यालय निजी घरसमेत तोडफोड भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

त्यस्तै डेड महिनाअघि पनि उत्तरगया गाउँपालिका–२ डाँडागाउँ क्षेत्रमा दर्जनौं घरमा चोरी भएको थियो । चोरीमा संलग्न व्यक्तिको पहिचान गर्ने काम अगाडि बढिरहेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । जिल्लामा पछिल्लो समय चोरीको घटना बढ्दै गएकोमा स्थानीय प्रशासनले गम्भीर रुपमा लिएको जनाएको छ।

प्रकाशित : जेष्ठ १३, २०७९ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?