वाग्मती प्रदेश सभामा पाँच अध्यादेश पेस- वाग्मती - कान्तिपुर समाचार

वाग्मती प्रदेश सभामा पाँच अध्यादेश पेस

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशसभा बैठकमा ५ वटा अध्यादेश पेस भएको छ । शुक्रबार बिहान ११ बजेबाट सुरु भएको वर्षे अधिवेशनको पहिलो बैठकमा सरकारले अध्यादेश पेस गरेको हो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा तय भएको कार्यसूची अनुसार प्रदेश सभामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेस गरेका छन् ।

यस्तै युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद्‍ ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेस गर्ने भएका छन् । प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ मुख्यमन्त्री राजेन्द्र पाण्डेले पेस गरेका थिए ।

प्रकाशित : जेष्ठ १३, २०७९ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्

एमालेलाई कमजोर बनाएर गठबन्धन शक्तिशाली बन्न खोज्दैछ : अष्टलक्ष्मी शाक्य

‘एमालेलाई कमजोर बनाएर देश बलियो हुँदैन’
सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा एमालेलाई कमजोर बनाएर सत्तारुढ गठबन्धन शक्तिशाली बन्न खोजेको आरोप लगाएकी छन् ।शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दसौं अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै विपक्षी दलकी नेता शाक्यले सत्ता गठबन्धन शक्तिको दुरुपयोग गरेर लोकतन्त्र कमजोर बनाउनेतर्फ उद्दत भएको आरोप लगाएकी हुन् ।

उनले स्थानीय तह निर्वाचन सकिएसँगै गठबन्धन प्रदेश र संघको चुनावको मिति तोक्न हतारिएको बताइन् । उनले मंसिरअगावै संघ र प्रदेशको निर्वाचन गर्न वर्तमान सरकारको तयारी भइरहेको बताइन् ।

‘स्थानीय तहको निर्वाचनमा गठबन्धनले देखाएको चरित्रका कारण हाम्रो निर्वाचन प्रणाली, संघीयता र राजनीतिक दलप्रति नै प्रश्न उठेका छन्,’ उनले भनिन् । उनले एमालेलाई कमजोर बनाएर देश बलियो नहुने बताइन् । ‘लोकतन्त्र, गणतन्त्र र संघीयता जोगाऔं । यो हाम्रो साझा विषय हो । दललाई कमजोर बनाएर लोकतन्त्र बलियो हुँदैन । दल बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ,’ उनले भनिन् ।

शाक्यले वाग्मतीमा प्रदेश सरकार जनताले महसुस गर्न नपाएको बताइन् । ‘केन्द्रीय राजधानीमा दैनिक रूपमा विभिन्न घटनाहरू भइरहेका छन् । यस विषयमा प्रदेश सरकार मौन देखिन्छ । काठमाडौं पनि प्रदेशको एउटा जिल्ला हो । त्यहाँको समस्या समाधानमा पनि हाम्रो ध्यान जान जरुरी छ । यस्ता विषयलाई पनि हाम्रो कानुनमा समेट्न जरुरी छ,’ उनले भनिन् ।

शाक्यले प्रदेशसभा समितिलाई प्रभावकारी बनाउन जरुरी रहेको औंल्याइन् । ‘सदन र समितिलाई चलायमान, प्रभावकारी र जवाफदेही बनाउनुपर्ने अहिलेको आवश्यकता हो । हामी जेजति अप्ठेरो भए पनि बाँकी समय प्रभावकारी रूपमा सदनलाई अगाडि बनाउनु हाम्रो दायित्व हो,’ उनले भनिन् ।

प्रकाशित : जेष्ठ १३, २०७९ १२:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×