काभ्रेका १३ पालिकाको पहिलो निर्णय : नि:शुल्क स्वास्थ्य बिमादेखि छात्रवृत्तिसम्म

नगेन्द्र अधिकारी

काभ्रे — स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले शपथ ग्रहणपछि पदभार ग्रहण गरेलगत्तै विभिन्न निर्णय गरेका छन् । पदभार ग्रहण गरेका १३ वटै स्थानीय तहका अध्यक्ष र प्रमुखले आफ्नो प्राथमिकताका आधारमा पहिलो निर्णयको रुपमा लोकप्रिय योजनामा हस्ताक्षर गरेका हुन् ।

काभ्रेका १३ पालिकाको पहिलो निर्णय : नि:शुल्क स्वास्थ्य बिमादेखि छात्रवृत्तिसम्म

नमोबुद्ध नगरपालिकाले नगरपालिकाभित्रका महिला उद्यमी तथा साना उद्यमीलाई सहुलियत दिने निर्णय गरेको छ । नवनिर्वाचित प्रमुख कुन्साङ लामाले पदभार ग्रहण गर्दै ५ वटा निर्णयमा हस्ताक्षर गरेका छन् ।

स्थिर पूँजी पाँच लाखसम्म भएका लघु उद्यमहरुलाई नगरपालिकामा व्यवसाय दर्ता गर्दा कानुन बमोजिम लाग्ने दस्तुर वा शूल्कमा पूर्ण रुपमा छुट गर्ने निर्णय भएको हो ।

महिला उद्यमीको मात्र स्वामित्व रहने उद्योग दर्ता गर्दा लाग्ने दस्तुर पनि पूर्ण रुपमा छुट गर्ने निर्णय भएको लामाले जानकारी दिए । उनका अनुसार जेष्ठ नागरिक, पूर्ण अशक्त र अति विपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र मासिक कार्यतालिका तयार गरी कम्तीमा महिनाको एक पटक दक्ष र विज्ञ जनशक्तिबाट घुम्ती स्वास्थ्य परिक्षण शिविर संचालनमा ल्याउने निर्णय समेत भएको छ ।

निम्न आयस्तर भएका र अति विपन्न वर्गको नि:शुल्क स्वास्थ्य बिमा कार्यक्रम क्रमश: संचालन गर्ने, पूर्ण अशक्त वर्ग, बैंकिङ सेवासम्म पुग्न नसक्ने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई भत्ता वितरण गर्ने वित्तीय संस्थाहरुसँग समन्वय र सहकार्य गरी सामाजिक सुरक्षा भत्ता वितरणको लागि स्थानीयस्तर र वडास्तरीयमा नै घुम्ती बैंकिङ सेवा उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।

नगरस्तरीय शैक्षिक छात्रवृत्ति कोष स्थापना गरी ‘एक वडा एक कृषि प्राविधिक’ उत्पादन गर्न आवश्यक छात्रवृत्ति उपलब्ध गराउने पनि नगर प्रमुख लामाले निर्णय गरेका छन् ।

यस्तै रोसी गाउँपालिकाले ६० वर्षमाथिका नागरिकको स्वास्थ्य बिमा नि:शुल्क गर्ने निर्णय गरेको अध्यक्ष दिनेश लामाले जानकारी दिए । उनका अनुसार ३ हजार ७ सय ७० जनाले बिमा वापत बुझाउने ३ हजार ५ सय रुपैयाँ गाउँपालिकाले बेहोर्नेछ । संघीय सरकारले ७० वर्ष पूरा गरेका नागरिकको स्वास्थ्य बिमा नि:शुल्क गर्दै आइरहेको छ ।

बेथानचोक गाउँपालिकाले पनि ६० वर्षभन्दा माथिका नागरिकको पूर्ण स्वास्थ्य परिक्षण गर्ने निर्णय गरेको छ । स्नातक तहमा अध्ययनरत प्राविधिक (चिकित्सा, इञ्जिनियरिङ, कृषि, भेटेनरी लगायत) र अप्राविधिक विषयका जेहेन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति उपलब्ध गराउने र प्रत्येक आर्थिक वर्षमा कम्तीमा ५ किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने निर्णय गरेको अध्यक्ष भगवान अधिकारीले जानकारी दिए ।

पनौती नगरपालिकाले ७० वर्ष पुगेका जेष्ठ नागरिकलाई घरदैलो स्वास्थ्य परिक्षण सेवा उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख रामशरण भण्डारीले जानकारी दिए ।

चौरीदेउराली गाउँपालिकाले जेष्ठ नागरिकलाई गाउँपालिका अस्पतालमा नि:शुल्क औषधि उपचार र टोल–टोलमा स्वास्थ्य शिविर सञ्चालन गर्ने, प्राविधिक शिक्षा अध्ययन गर्नेलाई सहयोग गर्ने र अध्यक्षसँग प्रत्यक्ष जनगुनासो कार्यक्रम सञ्चालन गर्ने र उत्कृष्ट कृषि र पशुपालन गर्नेलाई प्रोत्साहन गर्ने निर्णय भएको अध्यक्ष रेणुका चौलागाईंले जानकारी दिइन् ।

यस्तै भुम्लु गाउँपालिकाले जटिल प्रकारको रोग निवारण कोष स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष प्रेमबहादुर भुजेलले संघीय सरकारले दिने १ लाख अनुदान पर्याप्त नभएकोले सरकारी, निजी सबै क्षेत्रको सहयोगमा कोष सञ्चालन गर्ने निर्णय भएको बताए ।

धुलिखेल नगरपालिकाले जेष्ठ नागरिक, गर्भवती, सुत्केरी र विपन्नलाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको छ । महाभारत गाउँपालिकाले पनि जेष्ठ नागरिक, गर्भवती, सुत्केरी र अपांगता भएका व्यक्तिलाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेको अध्यक्ष कान्छालाल जिम्वाले जानकारी दिए ।

पाँचखालमा अपांगता भएका नगरवासीको निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेको नगर प्रमुख महेश खरेलले जानकारी दिए । पाँचखालमा क वर्गका १ सय १०, ख वर्गका १ सय ९१, ग वर्गका १ सय ९ जना तथा घ वर्गका ४८ जना गरी ४ सय ५८ जना अपांगता भएका व्यक्ति सूचिकृत छन् ।

खानीखोला गाउँपालिकाले यस वर्ष माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने अल्पसंख्यक र दलित समुदायका १ छात्र र १ छात्रालाई स्नातक तहमा जुनसुकै विषय अध्ययन गरे पनि छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए ।

यस्तै तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङले मृगौला रोगबाट पीडित एक नागरिकलाई १ लाख रुपैयाँ राहतको रुपमा सहयोग गर्ने गरी भएको निर्णयमा हस्ताक्षर गरेका छन् । मण्डन देउपुर नगरपालिकाले ६० दिनभित्र सबै जनप्रतिनिधिको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर लोप्चनले जानकारी दिए । पदभार ग्रहण गर्दै बनेपा नगर प्रमुख शान्तीरत्न शाक्यले जनप्रतिनिधिको शपथग्रहणसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका थिए ।

प्रकाशित : जेष्ठ १२, २०७९ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?