हेटौंडामा अतिविपन्न परिवारलाई स्वास्थ्य बिमा

सुवास विडारी

मकवानपुर — हेटौंडा उपमहानगरपालिकाले अतिविपन्न परिवारको नि:शुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । हेटौंडाकी मेयर मीना लामाले शपथ ग्रहणसँगै सोमबार महत्त्वकांक्षी निर्णय सार्वजनिक गरेकी हुन् । उनले पाँच बुँदे निर्णय गर्दै आफूले सार्वजनिक गरेको घोषणपत्र कार्यान्वयनका लागि अगाडि बढेको संकेत गरेकी छन् ।

हेटौंडामा अतिविपन्न परिवारलाई स्वास्थ्य बिमा

हेटौंडा उपमहानगरभित्र बसोबास गर्ने अतिविपन्न परिवारमध्ये १ हजार ५ सय ४१ परिवारको पहिलो चरणमा स्वास्थ्य बीमा गरिदिने निर्णय गरेकी छन् । उनले अतिविपन्न परिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत् नि:शुल्क उपलब्ध गराइने बताइन् ।

आर्थिक अवस्थाका कारण शिक्षा हासिल गर्न बञ्चित भएका विद्यार्थीलाई अध्ययनमा सहजता प्रदान गर्न मेयर छात्रवृत्ति कार्यक्रम लागू गर्ने निर्णय समेत भएको छ । बाटो विस्तारको क्रममा बीच भागमै छाडिएको पोलहरु सडकको छेउमा स्थानान्तरण गर्ने र महिला जागरण समूहमार्फत् लैंगिक हिंसाविरुद्ध अभियान सञ्चालन गर्ने जनाइएको छ ।

‘हिंसा पीडित र प्रभावित महिला तथा बालबालिकाका लागि आश्रयस्थल (सेफ हाउस) मार्फत् प्रभावकारीरुपमा पुन:स्थापना कार्यक्रम सञ्चालन गरिनेछ’, निर्णयमा भनिएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७९ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?