१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बिदा भए म्यादी प्रहरी

शिव पुरी

रौतहट — स्थानीय तह निर्वाचनमा झन्डै चालीस दिन खटेका म्यादी प्रहरी आइतबारबाट बिदा भएका छन् । निर्वाचनको बेला मतदानस्थल, मतगणनास्थल र अन्य बेला चोक बजारमा ड्युटी गर्दै आएका म्यादी प्रहरीले प्रमाणपत्र बुझेर ‘बाई-बाई’ भन्दै बिदा भए । 

बिदा भए म्यादी प्रहरी

रौतहट चौतमा २ हजार ४ सय ८७ म्यादी प्रहरी भर्ना भएका थिए । उनीहरू दश दिनको सामान्य प्रशिक्षणपछि लौरोको साथमा ड्युटीमा खटिएका थिए । मतदानस्थल र मतगणना स्थलमा शान्ति सुरक्षा कायम गर्न उनीहरूलाई सरकारले खटाएको हो । जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुनील मल्लले जिल्लाभरि ५ सय १७ महिला र १ हजार ९ सय १७ पुरुष म्यादी प्रहरी भर्ना गरिएको जनाए ।

‘निर्वाचनसम्बन्धी शान्ति सुरक्षा कायम राख्न खटिएका म्यादीहरूलाई चालीस दिनपछि बिदा गरियो,’ उनले भने, ‘निर्वाचनका बेला म्यादीको भूमिका पनि निकै प्रशंसनीय रह्यो ।’ जिल्ला प्रहरीले भर्नाका बेला भूपू प्रहरी, सेनालाई प्राथमिकतामा राखेको थियो । म्यादी प्रहरी बिदाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, जिल्ला प्रहरी प्रमुख एसपी बिनोद घिमिरेलगायत सुरक्षा अधिकारीहरू थिए ।

निर्वाचनका बेला उनीहरूलाई आफ्नो घर भएको क्षेत्रबाट अन्यत्र खटाइएको थियो । घरपायक राख्दा निर्वाचनमा त्रुटि हुन सक्ने र स्थानीयले हेप्न सक्ने भन्दै अन्य पालिकामा पठाएको हो । चालिस दिनको ड्यूटी बस्दा सधैंको प्रहरीजस्तो अनुभव भएको म्यादी मनोज ठाकुरले बताए ।

‘हातमा लौरो बोकेर प्रहरीको जस्तै निलो बर्दी लगाएर चोकमा ड्युटी गर्दा निकै खुसी लागेको थियो,’ उनलेभने, ‘समय बितेको थाहै भएन । शान्ति सुरक्षामा कुनै समस्या भएन । हाम्रो भूमिका पनि सकारात्मक रह्यो ।’ उनले प्रमाणपत्र बुझेर जाने बेला बाईबाई नेपाल प्रहरी भनेर हात हल्लाए ।

प्रकाशित : जेष्ठ ८, २०७९ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?