बसको ठक्करबाट युवाको मृत्यु भएपछि बालाजुमा आफन्त र प्रहरीबीच झडप- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बसको ठक्करबाट युवाको मृत्यु भएपछि बालाजुमा आफन्त र प्रहरीबीच झडप

कान्तिपुर संवाददाता

काठमाडौँ — बसको ठक्करबाट युवाको मृत्यु भएको घटनालाई लिएर आइतबार काठमाडौंको बालाजु प्रहरी वृत्तमा मृतकका आफन्त र प्रहरीबीच झडप भएको छ । झडपमा मृतकका केही आफन्त र प्रहरी घाइते भएका छन् । 

बस व्यवसायी समितिका प्रतिनिधि र पीडित पक्षबीच दोषीलाई कानुनी दायरामा ल्याउने र मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउने विषयमा छलफल चलिरहँदा एक्कासी विवाद बढेर झडपको स्थिति सिर्जना भएको हो । महानगरीय प्रहरी परिसर बालाजु वृत्तका डीएसपी गौतम मिश्रले छलफल चलिरहँदा समितिका प्रतिनिधिमाथि पीडित पक्षले हातपात गरेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको र त्यही बखत बाहिरबाट प्रहरी वृत्तमा ढुंगामुढा भएकोले केहीबेर झडप भएको बताए । डीएसपी मिश्रका अनुसार प्रदर्शनकारीलाई तितरबितर पार्नेक्रममा केही व्यक्ति र प्रहरी घाइते भएका छन् । उनले ढुंगामुढा गर्ने ५ व्यक्तिलाई नियन्त्रणमा लिएको समेत जानकारी गराए ।

पीडितपक्षका समरसिं लामाले छलफलमा आएका बस व्यवसायी प्रतिनिधिले कुनै जवाफ दिन नसकेकोले समितिकै मान्छे बोलाउनुपर्ने माग गर्दा आलटाल भएको बताए । उनले भने, 'प्रहरीले समितिका मान्छे आउँछ, आउँछ भन्यो तर नआएपछि हाम्रा साथीहरू आक्रोशित हुनुभयो । त्यसपछि प्रहरीले हामीमाथि अन्धाधुन्द लाठी र बुट प्रहार गर्न थाले । म पनि घाइते भएँ अरु साथीहरुलाई पनि चोट लागेको छ ।'

वार्तामा नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका ४ का सन्च तामाङलगायत सहभागी थिए । प्रतिनिधिहरुले कानुनीरुपमा जुनसुकै कारबाही भोग्न तयार रहेको बताएका डिएसपी मिश्रले जानकारी दिए । पीडित पक्षले भने समझदारीमा उचित क्षतिपूर्ति दिनुपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउने ज्यारेन्टी गराउन छलफल आवश्यक रहेको बताएका छन् ।

काठमाडौं महानगरपालिका १६ अन्तर्गत वनस्थली चोक नजिकको सडकखण्डमा शनिबार दिउँसो मध्यउपत्यका १ नम्बर यातायात समितिको बा ४ ख ५७३९ नम्बरको बसले स्कुटरलाई ठक्कर दिँदा नुवाकोट पञ्चकन्या गाउँपालिका ४ थप्रेकका २० वर्षीय राज दोङको मृत्यु भएको थियो । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल राखिएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा राखेको जनाएको छ । अहिले अवस्था सामान्य बनेको डिएसपी मिश्रले बताए ।

प्रकाशित : जेष्ठ ८, २०७९ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्

नयाँ जनप्रतिनिधिको नयाँ जोस

डीबी बुढा

जुम्ला — पहिलो कार्यकालका जनप्रतिनिधिको प्राथमिकतामा सडक‚ विद्युत्, पुलपुलेसा र भौतिक संरचना निर्माणजस्ता एजेन्डा परे । हरेक पालिकामा ठूल्ठूला बंगला ठडिएका छन् । बस्तीसम्म सडक जोडिएका छन्  । विद्यालयका संरचना निर्माण भएका छन् ।

तर नवनिर्वाचित जनप्रतिनिधिहरूले भने सूचना, सञ्चार,स्वास्थ्य क्षेत्रका विषयमा ध्यान दिन थालेका छन् । जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले नागरिकको स्वास्थ्य बिमा निःशुल्क गर्ने पहिलो निर्णय गरेका छन् । उनी नेपाली कांग्रेसबाट पालिका अध्यक्षमा विजयी भएका हुन् ।

‘जबसम्म नागरिक स्वस्थ हुँदैनन्‚ तबसम्म पालिका स्वस्थ हुन सक्दैन । पहिलो प्राथमिकता नागरिक स्वास्थ्य हो,’ नवनिर्वाचित अध्यक्ष शाहीले भने, ‘पालिकाभित्रका नागरिक स्वस्थ भए मात्र सिंगो पालिकाको विकास निर्माण र समृद्धि ल्याउन सकिन्छ । नत्र सम्भव देखिँदैन ।’

उनले सामुदायिक तथा सरकारी विद्यालयमा अंग्रेजी शिक्षा सुरु गर्ने, सबै सरकारी कार्यालयमा फ्री वाइफाई जडान गर्ने, सीसीटीभी जोडेर हरेक कामको निगरानी राख्ने निर्णयमा दस्तखत गरे । जेष्ठ नागरिक, गर्भवती महिला, विपन्न नागरिक, अपांगता भएका व्यक्तिका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णयमा समेत अध्यक्ष शाहीले हस्ताक्षर गरेका हुन् ।

सबै पालिकामातहतका सरकारी कार्यालय र विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउँदै निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रणबहादुर शाहीले जानकारी दिए । हिमामा २ हजार एक सय ५८ घरधुरीमा १३ हजार १ सय ३४ जनसंख्या छ ।

सिंजा गाउँपालिकाका अध्यक्ष पुर्णप्रसाद धितालले पदभार ग्रहण गरेको पहिलो दिनमै अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा ल्याए । सिंजाको टेलिफोन सेवाले नियमित सेवा दिन सकेको थिएन । नेपाल टेलिकमको कार्यालय आफै पुगेर टावरमा ब्याट्री जडान गर्न लगाएका थिए ।

बिजुलीको पावर कम भएकाले सञ्चार सुविधा प्रभावकारी हुन सकेको थिएन । अध्यक्ष धिताल दुई सय भोल्टका ४८ वटा ब्याट्र्री र प्राविधिक लिएर धिताल आफैं खटिए । उनले भने, ‘सिंजावासी अब सञ्चार सुविधाबाट वञ्चित हुनु पर्दैन ।’


प्रकाशित : जेष्ठ ८, २०७९ १६:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×