३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

मकवानपुरमा कांग्रेस पहिलो पार्टी

सुवास विडारी

मकवानपुर — नेकपा एमालेको विभाजन र सत्तारुढ गठबन्धनको तालमेलकाबीच मकवानपुरमा नेपाली कांग्रेसले आफूलाई पहिलो पार्टीको रुपमा उभ्याउने निश्चित भएको छ ।

मकवानपुरमा कांग्रेस पहिलो पार्टी

बहुदल प्राप्ति पश्चात् २०४८ सालमा भएको आमनिर्वाचन, २०५१ सालको मध्यावधी निर्वाचनसँगैबाट मकवानपुरमा बामे सर्न सुरु गरेको कांग्रेस स्थानीय तह निर्वाचन २०७९ सम्म आइपुग्दा जिल्लामा पहिलो पार्टीको रुपमा उदाएको छ ।

जारी स्थानीय तहको निर्वाचनमा कांग्रेसले दशवटा स्थानीय तहमध्ये पाँचवटामा प्रमुख, एउटा उपप्रमुखमा विजयी भइसकेको छ । हेटौंडा उपमहानगरपालिकासहित वाग्मती गाउँपालिकाका उपप्रमुखमा जित्ने करिब निश्चित छ । जिल्लाको १०२ वटा वडामध्ये वाग्मती र हेटौंडाको मतगणना जारी रहँदा ४१ वटा वडा कांग्रेसले आफ्नो नाममा दर्ता गराइसकेको छ । कांग्रेसले जिल्लामा माओवादी केन्द्र र नेकपा (एकीकृत) समाजवादीलाई साथमा लिएर खुशी बनाउँदै पाँचवर्षका लागि शासन सत्ता आफ्नो हातमा पार्न सफल भएको हो ।

२०४९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले तत्कालिन ४३ वटा गाविसमध्ये दशवटामा विजयी भएको थियो । २०५४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले एउटा मात्र गाविसमा विजयी भएको थियो । मकवानपुरे राजनीतिमा २०५४ सालमा कमल थापाको उदयसँगै कांग्रेस क्रमश: थप कमजोर बन्न पुग्यो ।

‘कमल थापाको प्रभाव, कम्युनिष्टको चुस्त संगठनका कारण हामी लामो समय सांगठनिकरुपमा खुम्चिएर बसेका थियौं । २०५२ सालपश्चात् माओवादी युद्धका कारण कांग्रेसलाई आफ्नो कार्यकर्ता र संगठन गर्नै समस्या भइसकेको थियो’, कांग्रेसका पूर्वजिल्ला सभापति रामचन्द्र अर्यालले भने । कांग्रेसको संगठन संरचना पूर्णरुपमा क्रियाशील भएको र जनताले परिवर्तन खोजेका कारण स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो पार्टीको रुपमा स्थापित भएको उनको टिप्पणी छ ।

मकवानपुरमा लामो समय राप्रपा नेता थापा र रुपचन्द्र विष्टको प्रभाव रहेको थियो । माओवादी युद्धपश्चात् जिल्लामा थापाको शक्ति असाध्यै कमजोर बन्न पुग्यो । विष्टको प्रभाव घटेपछि जिल्लामा एमाले पहिलो शक्तिको रुपमा २०४९ सालदेखि मकवानपुरमा शासन गरिरहेको थियो । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मकवानपुरको चारवटै निर्वाचन क्षेत्र माओवादीको कब्जामा गएको थियो ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालिन मकवानपुर- १ बाट कांग्रेस नेता तथा हाल वाग्मती प्रदेशसभा सभापति इन्द्रबहादुर बानियाँ विजयी भए । उनको विजयसँगै मकवानपुरमा कांग्रेसको संरचना क्रमशः बलियो हुँदै गएको हो । पूर्वी मकवानपुरबाट सुरु भएको कांग्रेसको संरचना विस्तार अहिले जिल्लैभर पुगेको छ । बानियाँको प्रभावले तत्कालिन समय राप्रपामा रहेको कार्यकर्ताहरु सबै कांग्रेसतर्फ आकर्षित भएपश्चात् संगठन संरचना थप बलियो भएको हो । हाल जिल्लामा कम्युनिष्टविरुद्धको जनमत कांग्रेसतर्फ सोझिएको छ ।

लामो समयसम्म कम्युनिष्टले जित्दा पनि विकासको काममा ध्यान नदिएको, आफ्नो कार्यकर्ताको ठाउँमा मात्रै विकास र सेवा सुविधावितरण गरेका कारण आमजनता माझ अलोकप्रिय भएको दाबी कांग्रेसको छ । कांग्रेसले अघिल्लो स्थानीय तहमा जितेको स्थानमा उदार र निष्पक्षरुपमा सेवा प्रवाह गरेका कारण पनि कांग्रेसप्रति जनविश्वास बढेको दाबी कांग्रेस जिल्ला सभापति बुद्ध लामाको छ । ‘हामीले संसदीय निर्वाचन जितेपश्चात् जिल्लामा विकासे लहर सुरु भएको हो । त्यसकै बलमा हामीले जनताको मत जित्दै यहाँसम्मको यात्रा तय गर्‍यौं’, लामाले भने ।

‘हामीले नयाँ र लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउँदा यो सफलता हात पारेका हौं । जनताले पनि नयाँ अनुहार र आफ्नो शासक परिवर्तन गर्न खोजिरहेका रहेछन् । हामीले सोही अनुसार रणनीति बनाउन सफल भयौं’, लामाले भने,‘अहिले कांग्रेसको पार्टीगत संरचना टोलटोलमा पुगेको छ । जसको कारण पनि हामीलाई चुनावमा मतदाता माझ आफ्नो उपस्थिति देखाउन सहज भइरहेको छ ।’

कांग्रेसको जिल्ला अधिवेशनलगत्तै स्थानीय तहको निर्वाचन हुँदा अझै कम सिटमा विजयी भएको ठम्याइ केही कांग्रेस नेताहरुको समेत रहेको छ । पार्टीभित्रको विवादलाई उम्मेदवारसँग सोध्न खोज्दा कतिपय वडा गुमाउन पुगेको समेत नेताहरु बताउँछन् ।

कांग्रेसमा अहिले देखिएको उभार र जनताले प्रदान गरको मौकालाई अवसरको रुपमा परिणत गर्दै कार्यकर्ता र जनतामा ताजापन भरिराख्नुपर्ने चुनौती आफूहरुमाझ रहेको सभापति लामाको भनाइ छ ।


प्रकाशित : जेष्ठ ४, २०७९ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?