धादिङमा खुकुरी प्रहारबाट एमाले कार्यकर्ता घाइते

सरिता श्रेष्ठ

धादिङ — त्रिपुरासुन्दरी गाउँपालिका १ डाडाँगाउँमा खुकुरी प्रहारबाट एमाले कार्यकर्ता घाइते भएका छन् । घरदैलो अभियानका क्रममा मंगलबार साँझ कांग्रेस कार्यकर्ताले खुकुरी प्रहार गरेको हो ।

आक्रमणबाट त्रिपुरासुन्दरी गाउँपालिका १ का २५ वर्षीय हरि श्रेष्ठ, २६ वर्षीय रामशरण श्रेष्ठ र ३५ वर्षीय लेकबहादुर विक गम्भीर घाइते भएका छन् । घटनाका घाइतेहरुलाई सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ । आक्रमणमा सामान्य घाइते १० जनाभन्दा बढी रहेको एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जानकारी दिए ।

आक्रमणपश्चात् एमाले धादिङले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कडा कारबाही माग गरेका छन् ।

घटनामा कांग्रेस कार्यकर्ताहरुको संलग्नता रहेको अध्यक्ष त्रिपाठीले आरोप लगाए । वडाध्यक्षका उम्मेदवार भिमप्रसाद भट्टको आदेशमा एमालेको जुलुसमा अन्धाधुन्ध खुकुरी प्रहार गरेको एमालेको आरोप छ ।

प्रकाशित : वैशाख २८, २०७९ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्

थप खस्कियो विदेशी मुद्रा सञ्चिति

कान्तिपुर संवाददाता

काठमाडौँ — मुलुकको विदेशी मुद्रा सञ्चिति थप घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि चैत महिनासम्मको वित्तीय प्रतिवेदनअनुसार चैत मसान्तसम्म ११ खर्ब ६७ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति छ । फागुनसम्म यस्तो सञ्चिति ११ खर्ब ७१ अर्ब थियो । २०७८ असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब रुपैयाँ बराबर रहेको विदेशी मुद्रा सञ्चिति ९ महिनामा १६.५ प्रतिशतले घटिसकेको छ । 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा चैत मसान्तमा १८.२ प्रतिशतले घटेर ९ अर्ब ६१ करोड डलर कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा १० खर्ब २१ अर्ब छ भने बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ४६ अर्ब बराबर छ । विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ । नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रकाशित : वैशाख २८, २०७९ १६:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×