पानीको संकटसँगै हट्यो विभेद- वाग्मती - कान्तिपुर समाचार

पानीको संकटसँगै हट्यो विभेद

केदार सिवाकोटी

दोलखा — बिहान ४ बजे नै उठेर एक घण्टा हिँडेर घट्टे खोलामा पुगेर पानी भरेर ल्याउनुपर्ने बाध्यतामा थिइन्, शान्ता नेपाली । शैलुङ गाउँपालिका–५ खुम्चाङमा घट्टे खोलाको सिममा कुवा बनाएर पानी भर्नुपर्थ्यो ।

खोलाको सिम, त्यसमाथि बर्खामा धमिलो, हिउँदमा सुक्ने समस्या । पानीकै निहुँमा छिमेकीसँग झगडा र बोलचालसमेत बन्द हुन्थ्यो । गाउँमा केही ढुंगे धारा र एक–दुई अन्य धारा पनि थिए तर त्यहाँ शान्तालाई दलित भनेर भेदभाव गरिन्थ्यो । अहिले अवस्था फेरिएको छ । उनको घरमै धारा जडान भएको छ । घरमा धारा जडान भएपछि छिमेकीसँग पानीको निहुँमा झगडा गर्नुपर्ने बाध्यता हटेको छ । ‘पानीकै निहुँमा दैनिक खोलाको सिममा झगडा हुन्थ्यो,’ उनले भनिन्, ‘माथिल्लो टोलमा भएका धारामा पानी भर्न गए दलित भनेर भेदभाव गर्थे ।’

चन्द्रबहादुर नेपाली पनि वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । बस्तुभाउका लागि समेत घण्टौं पानी लिन जानुपर्ने बाध्यता रहेको उनी सुनाउँछन् । ‘भएका ढुंगेधारामा दलितले पानी भर्न पाउँदैनथ्यौं,’ उनले भने, ‘कहिलेकाहीं पानी भर्न पुग्यौं भने सबैले दलितले धारा छोयो भनेर भन्थे ।’ वर्षौंदेखि पानीकै निहुँमा दलित भएकै कारण भेदभावको सिकार भएको उनले गुनासो गरे । ‘अझै पनि भेदभाव बाँकी छ,’ उनले भने, ‘तर अब पानीकै निहुँमा भेदभावको सिकार हुन भने पर्दैन ।’

‘वाटरएड’ को आर्थिक सहयोगमा सामुदायिक विकास मञ्चले गाउँमा धारा बनाइदिएपछि दलित बस्तीमा खानेपानीको समस्या हटेको छ । काटाकुटीको सबलचोक र खुम्चाङका ७ दलित घरसहित गाउँभरि ६१ वटा धारा बनेका छन् । दुई वटा सामुदायिक धारा पनि छन् । अहिले सबैभन्दा खुसी दलित बस्तीमा छाएको छ ।

वर्षौंदेखि कथित उपल्लो जातिको भेदभावबाट पानीकै निहुँमा हुने भेदभाव टरेको चन्द्रले बताए । पानीको वर्षौंदेखिको संकटसमेत टरेको छ । दाताको ३८ लाख ३० हजार, गाउँपालिकाको ६ लाख ४५ हजार र स्थानीयको ८ लाख ८७ हजार रुपैयाँ लगानीमा धारा बनाइएको सामुदायिक विकास मञ्चका कार्यकारी निर्देशक प्रेमप्रसाद अधिकारीले बताए ।

प्रकाशित : चैत्र १६, २०७८ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय परिचयपत्र बनाउन रातभर लाइनमा

एक दिनमा ४० जनाले मात्रै परिचयपत्र बनाउन पालो पाउने भएकाले वैदेशिक रोजगारीमा जान चाहनेलाई सास्ती
केदार सिवाकोटी

दोलखा — कोरियाका लागि भाषा तथा सीप परीक्षणको आवेदन खुलेपछि राहदानी बनाउन आएकी भीमेश्वर–३ की सञ्जिता श्रेष्ठले जिल्ला प्रशासन कार्यालयको मूल ढोकामा एक रात अनिँदै बिताउनुपर्‍यो । सरकारले राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि प्रशासन कार्यालयमा अचेल राति ८ बजेबाटै युवाहरूको लाइन लाग्छ ।


राति ९ बजे प्रशासन कार्यालयको मूल ढोकामा लाइन बसेकी सञ्जिताले राहदानी बनाउन आवश्यक भएकाले परिचयपत्र बनाउने लाइनमा बस्नुपरेको बताइन् । ‘भोलि राष्ट्रिय परिचयपत्र बनाएपछि राहदानी बनाउने हो,’ उनले भनिन्, ‘जे काममा पनि लाइन नबसी नपाइने रैछ, बहिनीसँगै आगो तापेर रात बिताउनुपर्ला ।’

राहदानी बनाउन आएका सयौं युवा हरेक दिन जिल्ला प्रशासनको मूल ढोकामा राष्ट्रिय परिचयपत्रका लागि राति ८ बजेबाटै लाम बस्ने गरेका छन् । प्रशासनको गेटमा युवाहरू कोही खाना खाँदै गरेका देखिन्छन्, कतिले कम्बल ओढेर रात काट्ने सुरसार गरेका भेटिन्छन् । कोहीले भने आगो तापेर रात काट्ने गरेका छन् । कालिञ्चोक–३ का सविन सेन्चुरी राहदानी बनाउन आएको तीन दिन बित्यो । उनले दुई दिन–रात लाइन बसेर राष्ट्रिय परिचयपत्र बनाए । ‘विदेश जान हतारमा थिएँ, तीन दिन लाइनमै बसेर बिताएँ,’ उनले भने, ‘हामी जस्ता हतार हुने धेरै युवा लाइनमा बसेरै रात काट्न बाध्य छन्, सरकारले कहिले सहज गरिदिन्छ ।’

जिल्ला प्रशासन कार्यालयमा हरेक दिन ४० जनाको मात्रै राष्ट्रिय परिचयपत्र बन्ने गरेको छ तर लाइनमा भने सयौं युवा हुन्छन् । राहदानी बनाउन आउनेहरू तीन दिनसम्म लाम बसेर परिचयपत्र बनाउने र त्यसपछि राहदानी बनाएर फर्कने गरेका छन् । रातभरि लाइनमा बस्ने भीड बढेपछि दोलखामा सेवा केन्द्र थप गरिने भएको छ । राहदानी बनाउनेहरूले अनिवार्य राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने नियम भएकाले प्रशासनमा सेवाग्राहीले रातभर लाइन बस्नुपरेको हो ।

जिल्लाका जनप्रतिनिधिहरूले परिचयपत्रका लागि सेवाग्राहीले प्रशासनमै रात काट्नुपर्ने बाध्यता परेको गुनासो गरेपछि सेवा केन्द्र थप गरिने भएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बिहीबार गरेको जिल्लास्तरीय सार्वजनिक सुनुवाइमा जनप्रतिनिधिले राष्ट्रिय परिचयपत्र सहज बनाइदिन आग्रह गरेका थिए । जिल्लामा दैनिक ४० जनाले मात्रै परिचयपत्र बनाउने व्यवस्था गरिएको छ ।

तामाकोसी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले राष्ट्रिय परिचयपत्र बनाउने नाममा नागरिकलाई प्रशासनको ढोकाबाहिर सुताउनुपर्ने बाध्यता रहेको बताए । ‘परिचयपत्र बनाउन पनि दुई/चार रात प्रशासनको गेटमा सुत्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘प्रशासनले अझ आलोपालो सेवा भनेर नागरिकलाई अधिकारबाट थप वञ्चित गरेको छ । हतारमा राहदानी बनाउनेहरू थप मर्कामा परेका छन् ।’

रातभर प्रशासनमै बास बसेर राष्ट्रिय परिचयपत्र बनाउनेको भीड बढेपछि प्रशासनले स्थानीय तहका सेवाग्राहीका लागि आलोपालो सेवा थालेको छ । विदेश जान हतारमा आएकाहरूले राहदानी बनाउन आलोपालोले झनै सकस बढेको भीमेश्वर–९ का वडाध्यक्ष चित्रबहादुर भुजेलले बताए । ‘४० जनाको परिचयपत्र बनाउने कोटा छ,’ उनले भने, ‘त्यसमा पनि आलोपालो तालिका राखेर सेवाग्राहीलाई झन् सकस दिइएको छ,’ उनले भने । रातभरि राष्ट्रिय परिचयपत्रको लाइनमा बसे पनि भोलिपल्ट ४१ औं नम्बरमा परे पुनः अर्को दिन राति लाइनमा बस्नुपर्ने बाध्यता रहेको उनले गुनासो गरे ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले जिल्ला प्रशासन कार्यालयमा रातभरि लाइन बस्नुपर्ने बाध्यता हटाइदिन सेवा केन्द्र थप गरिदिने बताए । ‘एक साताभित्र सेवा केन्द्र थप गरिदिन्छौं,’ उनले भने, ‘४० जनाको कोटाबाट बढाएर ८० जनाले एक दिनमा सेवा पाउनेछन् ।’

राष्ट्रिय परिचयपत्रका लागि आउँदो वैशाखमा टोली खटाइने उनले बताए । विदेश जानेहरूले राहदानी बनाउँदा अनिवार्य राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने नियम भएको उनले बताए । ‘सरकारले तीन वर्षभित्र सबैको परिचयपत्र बनाउने अभियान थालेको हो,’ उनले भने, ‘कोही पनि नछुटुन् भन्नका लागि राहदानी बनाउँदा अनिवार्य गरेका हौं ।’

कर्मचारी व्यवस्थापन गर्न नसक्दा देशभर सेवा केन्द्र थप गर्न नसकिएको उनले बताए । प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले टोकन प्रणाली लागू गरेर पनि राष्ट्रिय परिचयपत्र बनाउनेका लागि सहज गरिने बताए ।

प्रकाशित : चैत्र १२, २०७८ ०८:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×