वाग्मतीमा क्षयरोगीको संख्या बढ्दो- वाग्मती - कान्तिपुर समाचार

वाग्मतीमा क्षयरोगीको संख्या बढ्दो

प्रताप विष्ट

हेटौंडा — घरमा रहेका तीनै जना औषधि सेवन गरिरहेका छन् । त्यो पनि भिन्न/भिन्न रोगको होइन एउटै रोगको । मकवानपुरका मनहरी गाउँपालिका–१ घैयाडाँडाका दलबहादुर चेपाङसहित तिनै जना क्षयरोगको औषधि सेवन गरिरहेका छन् ।

विगत ३ महिनादेखि उनीहरूले क्षयरोगको औषधि सेवन गरिरहेको स्थानीय स्वयंसेविका सुनीता चेपाङले बताइन् । यो परिवार विगतमा काठमाडौंका विभिन्न भागमा ढुंगागिट्टी कुट्ने कार्य गर्दै आएका थिए ।

तीन महिनाअघि मात्र उनीहरू गाउँ फर्केका हुन् । खोकी लागेपछि खकार हेटौंडा अस्पतालको ल्याबमा खकार परीक्षण गरेपछि दलबहादुरको पत्नी र छोरीमा क्षयरोगको जीवाणु फेला परेको थियो । खकार परीक्षण गराउन पनि उनले गाउँकै स्वयंसेविका सुनीताले अस्पतालमा ल्याएकी थिइन् । दलबहादुरको १४ वर्षीया छोरी ५ कक्षामा पढ्छिन् । सधैं धूलोधूवाँमा काम गर्ने र चुरोट, सुर्तीसँगै मादक पदार्थ अत्यधिक मात्रामा सेवन गर्ने कारणले गर्दा उनीहरूमा क्षयरोग देखापरेको हुन सक्ने स्वास्थ्यकर्मीहरूको दाबी छ ।

घैयाडाँडामा मात्र होइन, मकवानपुरमा क्षयरोगीको संख्या बर्सेनि बढ्दो छ । धूलोधूवाँ, चुरोट, सुर्ती, मादक पदार्थ सेवन कारणले क्षयरोगीको संख्या बर्सेनि बढ्दै गइरहेको स्वास्थ्यकर्मीहरूको दाबी छ । क्षयरोगीहरूको संख्या जुन अनुपातमा वृद्धि भए पनि डट्स प्रोग्रामका कारणले क्षयरोगीहरूको मृत्यु हुन भने पाएको छैन । आव ०७६/०७७ मा मकवानपुरमा ४ सय ४५ जना क्षयरोगी फेला परेका थिए भने आव ०७७/७८ मा ५ सय ३० जना फेला परेका छन् ।

चालु आवको ६ महिनामा ३ सय १ जना क्षयरोगीहरूले विभिन्न स्वास्थ्य संस्थाहरूबाट औषधि सेवा गरिरहेको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईंले बताए । चुरेक्षेत्रमा बस्ने अधिकांश बासिन्दा बालुवा चाल्ने र गिट्टी कुट्ने क्रममा उड्ने धूलोका कारण उनीहरूमा क्षयरोग देखापरेको हो । क्रसर उद्योगको धूलोको कारणले पनि उद्योगनजिक रहेका बस्तीका बासिन्दामा यो रोग बढ्दो छ ।

मकवानपुरको साविकको मनहरी, हाँडीखोला, बसामाडी, पदमपोखरी, चुरियामाई, हर्नामाडी, छतिवन, फापरबारी राईगाउँ गाविस र हेटौंडा उपमहानगरपालिकाको केही क्षेत्र क्षयरोगबाट प्रभावित क्षेत्र हुन् । ‘धूलो र धूवाँका कारण क्षयरोगीको संख्या बढ्ने गर्छ,’ स्वास्थ्य कार्यालयका प्रमुख गुरागाईंले भने, ‘मकवानपुरमा एक दर्जनभन्दा बढी बहुऔषधि प्रतिरोधी क्षयरोग (एमडीआर) का रोगी छन् । उनीहरूले स्वास्थ्य संस्थाबाट सेवा लिइरहेका छन् ।’

मकवानपुरका सबै स्वास्थ्य संस्थाबाट डट्स कार्यक्रम सञ्चालन भइरहेको छ । वाग्मती प्रदेशमा अघिल्लो आवमा ६ हजार १ सय २५ जना क्षयरोगीको संख्या थियो भने गत आवमा ६ हजार ६ सय ६३ जना क्षयरोगी फेला परेको वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाका क्षयकुष्ठ रोग प्रमुख जितेन्द्रकुमार कर्णले बताए । चालु आवको ६ महिना अर्थात् साउनदेखि पुससम्म ३ हजार ८ सय ५३ क्षयरोगी फेला परेका छन् । चालु आव २३ जना क्षयरोगीको मृत्यु भएको छ । वाग्मती प्रदेशको १३ जिल्लामध्ये सबैभन्दा धेरै गत आवमा काठमाडौंमा २ हजार ९ सय ८१ जना क्षयरोगी फेला परेका थिए ।

चालु आवको ६ महिनामा १ हजार ६ सय ३६ जना फेला परेको प्रमुख कर्णले बताए । वाग्मती प्रदेशको रसुवा जिल्लामा गत आवमा ३१ जना क्षयरोगी थिए भने चालु आवको ६ महिनामा १७ जना फेला परेका छन । यस प्रदेशको काठमाडौंपछि सबै धेरै क्षयरोगी भएको जिल्ला चितवन रहेको छ । चितवनमा गत आवमा ८ सय ८९ क्षयरोगी थिए भने चालु आवको ६ महिनामा ५ सय ३५ फेला परेका छन् ।

प्रकाशित : चैत्र १०, २०७८ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्

व्यक्तिगत पहलले फेरियो बगर

प्रताप विष्ट

हेटौंडा — निष्ठाका साथ एउटै व्यक्तिले काम गर्दा पनि परिणाम दिन सकिन्छ भन्ने कुरा हेटौंडा उपमहानगरपालिका–९ का ईश्वरी न्यौपानेले देखाएका छन् । हेटौंडा–९ स्थित कुखुरेनी खोलाको बगर झन्डै दशकयता त्रिवेणीधाम नाममा धार्मिक एवं पर्यटकीय स्थलमा परिणत भएको छ ।


२०६७ सालसम्म यो ठाउँमा न कुनै भौतिक संरचना बनेका थिए, न मठमन्दिर र मूर्तिहरू नै स्थापना गरिएका थिए । थियो त केवल बगर मात्र । बहुदलप्राप्तिपछि वडाध्यक्षसमेत बनेका न्यौपाने यो ठाउँको ऐतिहासिक महत्त्व रहेको योगी नरहरिनाथ, होमनाथ मिश्र र पण्डित देवीप्रसाद कोइरालाबाट जानकारी पाएपछि राजनीतिलाई चटक्कै छाडिदिए र बगरलाई धार्मिक स्थलमा परिणत गर्न कस्सिए । २०६७ जेठ ५ बाट थालेको उनको अभियान अझै जारी छ । अझै पनि उनी हरेक दिनको सुरुवातसँगै बेलुका अबेरसम्म त्रिवेणीधाममै भेटिन्छन् । बगरबाट धार्मिक स्थलमा परिणत भएको त्रिवेणीधामको चर्चा र पहिचान देशभरि नै बनिसकेको छ ।

साढे ७ बिघा क्षेत्रफलमा फैलिएको उक्त धार्मिक स्थल निर्माण गर्न तत्कालीन जिविसअन्तर्गतको पर्यटन विकास समितिले ४ लाख रुपैयाँ उपलब्ध गराएको थियो । त्यही रकमबाट सुरुवात गरेको यो अभियानअन्तर्गत हालसम्म करोडौं रुपैयाँ खर्च भइसकेको छ । भौतिक पूर्वाधार र मठमन्दिर निर्माणलगायतमा उक्त खर्च गरिएको हो । कुष्माण्ड भगवतीलाई पाँच पाण्डवले परिक्रमा गरिरहेको देखिने आकर्षक शिश महल निर्माण गरिएको छ । शिश महल प्रवेश गर्नुअघि मुलुकका २९ स्थानका मन्दिरको तस्बिर र मूर्तिहरू राखिएको देख्न सकिन्छ । पशुपति, मुक्तिनाथ, स्वर्गद्वारी, पाथिभरालगायत मन्दिरको एकै स्थानबाट दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ । शिश महलको बाहिरी भागमा सुन्दर बगैंचा र कुष्माण्ड पोखरी छ । यो क्षेत्रमा सेल्फी खिच्ने र टिकटक भिडियो बनाउनेहरूको भीड लाग्ने गरेको छ ।

कुष्माण्ड सरोवर त्रिवेणीधाम विकास समितिले शिश महल, बगैंचा, कुष्माण्ड पोखरीको अवलोकन गर्न गत माघ १ देखि प्रवेश शुल्कको व्यवस्था गरेको छ । शिश महलको बाहिरी भाग अवलोकन गर्न प्रतिव्यक्ति २५ रुपैयाँ र भित्र प्रवेश गर्न सय रुपैयाँ लाग्छ । मन्दिरभित्र प्रवेश गरेर १०८ गौमुखी धारामा स्नान गर्न, पूजाआजा तथा धार्मिक कार्य गर्न भने शुल्क लाग्दैन ।

‘शुक्रबार र शनिबार ज्यादै भीड लाग्ने गरेको छ,’ समितिका अध्यक्ष न्यौपानेले भने, ‘अन्य दिन सरदर २ सयदेखि ३ सय जना अवलोकन गर्न आउँछन् ।’ समितिले अहिले अतिथि गृहको निर्माण गरिरहेको जनाएको छ । ‘३३ लाख रुपैयाँको अक्षय कोष खडा गरेका छौं, जसमा हेटौंडा उपमहानगरपालिकाले २० लाख रुपैयाँ जम्मा गरिदिएको छ,’ न्यौपानेले भने, ‘कुनै बेला सुक्खा बगर रहेको त्रिवेणीधाम अहिले हराभरा र आकर्षक देखिएको छ । यसमा संघीय, प्रदेश र स्थानीय सरकारको सहयोग रहँदै आएको छ ।’

महाभारतमा उल्लेख भएअनुसार पाँच पाण्डव वनवासका क्रममा यो स्थानमा आइपुगेका थिए । त्यतिबेला हेडम्बा राक्षससँग युद्ध हुँदा भीमसेनले हेडम्बालाई मारिदिए । हेडम्बा मारिएको ठाउँका रूपमा चिनिँदा–चिनिँदै अपभ्रंश भएर यो स्थानको नाम हेटौंडा रहन गएको किम्वदन्ती छ । धार्मिक आस्थाको केन्द्र रहेकाले यहाँ कुष्माण्ड भगवतीको मन्दिर, गणेश मन्दिर, ब्रम्हकुण्ड, विष्णुपादूका, १०८ गौमुखी धारा, शिवालय, राधाकृष्ण मन्दिर, हवन कुण्डलगायत संरचना निर्माण गरिएको न्यौपानेले बताए । उनका अनुसार विशेष गरी माघेसंक्रान्ति र कुष्माण्ड नवमीका दिन यहाँ नुहाएर कुभिन्डो दान गर्न श्रद्धालुको ठूलो भीड लाग्छ । ‘कुष्माण्ड सरोवरमा सयर गर्न र त्यसको मध्यभागमा रहेको कुष्माण्ड भगवतीको मन्दिरमा पूजा गर्न ५ वटा डुंगाको व्यवस्था राखिएको छ,’ न्यौपानेले भने, ‘दैनिक रूपमा यस क्षेत्रको महत्त्व र चर्चा बढ्दै गएको छ । १० जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन् ।’

६७ वर्षीय न्यौपानेको खटाई र इमानदारिताको साथै धार्मिक स्थलको विकासका कारणले दातृसंस्था, भक्तजन र अन्य सहयोगी हातहरूले आर्थिक सहयोग गरिरहेका छन् । अहिलेसम्म ७ करोड रुपैयाँभन्दा बढी त्रिवेणीधाम निर्माणमा खर्च भइसकेको न्यौपानेले बताए । ‘इमान्दारीपूर्वक लगनशील भएर कुनै पनि काम गरेपछि सफल होइन्छ भन्ने ईश्वरी न्यौपानेबाट प्रेरणा लिनुपर्छ,’ वडाध्यक्ष लक्ष्मण भण्डारीले भने, ‘उहाँको खटाइकै कारण बगरलाई सुन्दर धार्मिक एवं पर्यटकीय स्थलका रूपमा परिणत भएको छ ।’

प्रकाशित : चैत्र ६, २०७८ १०:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×