चुनावमा गठबन्धन गर्ने कि नगर्ने अन्तिम निर्णय सम्बन्धित तहकै : महत- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनावमा गठबन्धन गर्ने कि नगर्ने अन्तिम निर्णय सम्बन्धित तहकै : महत

'७५३ वटै स्थानीय तहमा पार्टी केन्द्रले भन्ने कुरा पनि हैन, स्थानीय अवस्था के हो सो आधारमा तपाइँहरूले नै निर्णय गर्ने हो’
नगेन्द्र अधिकारी

काभ्रे — नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा पार्टीले चुनावी गठबन्धन गर्ने बताएका छन् ।

कांग्रेस धुलिखेलको आयोजनामा पार्टी प्रवेश कार्यक्रममा उनले सम्बन्धित तहको सुझावको आधारमा पार्टीले निर्णय लिने बताए । ‘७५३ वटै स्थानीय तहमा पार्टी केन्द्रले भन्ने कुरा पनि हैन, स्थानीय अवस्था के हो सो आधारमा तपाइँहरूले नै निर्णय गर्ने हो,’ महतले भने, ‘सबै पार्टीको बढीभन्दा बढी सिट जित्ने उद्देश्य हुन्छ, ११ गते बस्ने केन्द्रीय समितिले गठबन्धनबारे सिद्धान्ततः निर्णय गर्छ तर अन्तिम निर्णय सम्बन्धित तहको नै हो ।’

स्थानीय तहमा गठबन्धनलाई लिएर पार्टीका नेताहरूबाट फरक फरक प्रतिक्रिया आइरहँदा नेता महतले यसको जिम्मा स्थानीय तहलाई नै दिनुपर्ने बताएका हुन् ।

अर्को प्रसंगमा उनले अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छरिएको भम्र चिरिएको भन्दै देश विकासको लागि कांग्रेसले सही अडान लिएको प्रमाणित भएको बताए ।

‘कांग्रेस सधैँ सत्य र यथार्थको पक्षमा हुन्छ, सत्तामा हुँदा एउटा र सत्तामा नहुँदा अर्को कुरा गर्दैनौं,’ महतले भने, ‘एमसीसीबारे छरिएको भ्रम बिस्तारै चिरिँदैछ, यो सडक आयोजना, प्रशारण लाइन लगायत विकासे कामको लागि हो भन्ने बुझ्दै गएका छन्, यसको बारेमा अझ बुझाउन जरुरी छ ।’

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुनेमा सन्देह नरहेको भन्दै उनले कांग्रेसले सञ्चालन गरेको ‘घरघर जाऊँ, कांग्रेस जिताऔं’ अभियानले निर्वाचन जित्न सहज हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमा एमालेका प्रदेश कमिटी सदस्य रहेका पूर्वक्षेत्रीय अध्यक्ष रामकृष्ण हुमागाईँ, साविक काभ्रे नित्य चण्डेश्वरी गाविसका अध्यक्ष रहेका पूर्वजिल्ला कमिटी सदस्य साधुराम वडाल, गाविस उपाध्यक्ष विष्णु बस्नेत, माधवमणि हुमागाईँ, अर्जुन भुजेल लगायत १ सयभन्दा बढी एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए । प्रवक्ता महतले उनीहरूलाई सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन्।

कांग्रेस जिल्ला सभापति तिर्थ लामाले राजनीतिमा लामो समय योगदान दिएकाहरुको प्रवेशले पार्टीलाई फाइदा पुग्ने तर्क गर्दै उचित जिम्मेवारी दिने बताए । नवप्रवेशी रामकृष्ण हुमागाईँले ४४ वर्षदेखि कम्युनिस्ट आन्दोलनमा लागे पनि नवौं महाधिवेशनदेखि विधि, पद्धत्ति सबै ध्वस्त पारिएकोले कांग्रेस प्रवेश गरेको प्रतिक्रिया दिए ।

प्रकाशित : चैत्र ९, २०७८ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्

सबै राजनीतिक दललाई स्थानीय तहको निर्वाचनमा भाग लिन गृहमन्त्रीको आग्रह

कान्तिपुर संवाददाता

कपिलवस्तु — स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलहरूलाई भाग लिन गृहमन्त्री बालकृष्ण खाँणले आग्रह गरेका छन् । वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलहरूले सहभागी हुन आवश्यक रहेको गृहमन्त्रीले बताए । 

कपिलवस्तुको चन्द्रौटामा बुधबार सशस्त्र प्रहरी बल बाहिनी नम्बर ५ बिन्ध्यवासिनीको मुख्यालयको उद्घाटन गर्दै गृहमन्त्री खाँणले मुलुकको विकासमा हातेमालो गर्दै अगाडि बढ्न र स्थानीय निर्वाचनमा सबै राजनीतिक दल सहभागी हुन आवश्यक रहेको बताएका हुन् ।

गृहमन्त्री खाँणले स्थानीय निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष तरिकाले सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए । नागरिकको आफूले उपयुक्त ठानेका प्रतिनिधि छान्ने अधिकार प्रत्याभूत गराउनका लागि आवधिक निर्वाचन बेलैमा गर्न सरकार प्रतिबद्ध रहेको पनि उनको भनाइ थियो ।

त्यस्तै, सशस्त्र प्रहरीका अधिकृत र जवानहरूको लामो समयदेखि रोकिएको वृत्तिविकास सुचारु गर्ने तयारीमा सरकार रहेको पनि गृहमन्त्रीले जानकारी दिए । लामो समय सशस्त्र प्रहरी बलमा सेवा गरेर अवकाश भई घर फर्किँदा समाज र परिवारमा कसरी सम्मानित बनाउन सकिन्छ भन्ने विषयमा सरकार लागिपरेको उनले बताए ।

प्रकाशित : चैत्र ९, २०७८ १३:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×