मिर्गौलापीडितलाई सहकारीको साथ- वाग्मती - कान्तिपुर समाचार

मिर्गौलापीडितलाई सहकारीको साथ

केदार सिवाकोटी

दोलखा — तीन वर्षअघिसम्म घरनजिकैको ढुंगा खानीमा काम गर्थे । घर फर्कने क्रममा बाटोमा बेहोस भएर लडे । उपचार गर्न काठमाडौं लगियो । त्यसपछि खुल्यो भीमेश्वर नगरपालिका–७ का ४३ वर्षीय हरि श्रेष्ठको दुवै मिर्गौलाले काम गर्न छाडेको रहेछ ।

चिकित्सकले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताए । त्यसका लागि २५ लाख रुपैयाँ र मृगौला दान गर्ने परिवारभित्रकै व्यक्ति चाहिने भयो । अब चिन्ता एउटै थियो– ढुंगा खानीमा काम गर्ने मजदुरको परिवारले कसरी त्यत्रो रकम जुटाउने ?

खानीमा काम गर्दा दैनिक २ हजार रुपैयाँसम्म कमाउने उनले केही रकम बचत भने गरेका थिए । बाँकी रकम गाउँले र आफन्तले जुटाइदिए । श्रीमती होमकुमारीले मिर्गौला दिने भइन् । अन्ततः हरिको मिर्गौला प्रत्यारोपण भयो । ‘तर शरीरमा पहिलेको जस्तो स्फूर्ति रहेन,’ उनले भने, ‘परिवारको आम्दानी घट्यो, औषधि खर्च जुटाउन र परिवार पाल्न नै सकस हन थाल्यो ।’

चलचित्र क्षेत्रमा लाइटम्यानको काम गर्ने उनका छोरा पनि कोरोना महामारीका कारण काम प्रभावित बनेपछि बुबाजस्तै ढुंगाखानीमा काम गरिरहेका छन् । त्यसले पनि भरथेग नहुने देखेपछि हरिले घरमै कुखुरा पाल्ने सोच बनाए । तर काम गर्छु भनेर ऋण माग्न जाँदा कसैले पत्याएनन् ।

‘सहकारी होस् या बैंक, मिर्गौला प्रत्यारोपण गरेका मान्छेलाई रोगी हो भनेर ऋण पत्याउँदा रहेनछन्,’ उनले भने, ‘घरमै केही गरेर तिर्छु भन्दा सानो रकम पनि दिएनन् ।’ अहिले महिनामा सरदर १० हजार रुपैयाँ त उनको औषधिमै खर्च हुन्छ । अन्य पारिवारिक खर्च त छँदै छ । व्यावसायिक कृषि गरेर जीवन चलाउने सोच बनाएका उनलाई अन्ततः हाम्रो जनकल्याण सहकारीले साथ दियो । कुखुरा पाल्ने हरिको योजनालाई मूर्त रूप दिन सुरुमा ५० हजार रुपैयाँ बिनाधितो ऋण दिएको सहकारीका प्रबन्धक दीपक बस्नेतले बताए । ‘कुखुरा पाल्नका लागि सहकारीले आफैं गाउँमा आएर थोरै लगानी दियो,’ हरिले सुनाए, ‘मिर्गौलापीडित भएको थाहा पाए पनि सहकारीले बरु हौसला दियो ।’

५० हजार बीउ पुँजी लगानी गरी कुखुरापालन थालेका उनले अहिले मासिक ४० हजार रुपैयाँ कमाउँछन् । ‘सहकारीको ऋण तिर्दै गएँ, थप ऋण पत्याउन थाल्यो,’ उनले भने, ‘अहिले गाई पनि पालेको छु, आलु खेती पनि गरेको छु । यसबाटै भएको कमाइले औषधि र अन्य खर्च जुटिरहेको छ ।’ रोग लागेकै आधारमा केही गर्छु भन्दा अगाडि बढ्न नदिने नीति र प्रवृत्तिप्रति असन्तुष्ट छन् उनी ।

‘समाजमा मिर्गौला फेल भएका व्यक्तिलाई बिरामी हो भनेर हाम्रै लागि खुलेका संस्थाले ऋणसम्म पत्याएनन्,’ उनले भने, ‘मिर्गौला फेरर नयाँ जीवन त पाइयो तर गरी खान्छु भन्दा बिरामी भनेर नपत्याउँदा दुःख लाग्छ ।’ ठूला काम गर्न नसकिए पनि कृषिलगायतका काममा आफूजस्तालाई सरकारले हेर्नुपर्ने उनको सुझाव छ ।

मिर्गौलापीडितले पनि इलम गरेर आत्मनिर्भर बन्न सक्छन् भनेर हरिलाई ऋण दिएको बताउँछन्, सहकारी प्रबन्ध दीपक बस्नेत । ‘मिर्गौलापीडित पनि काम गर्न सक्छन्, बिरामी होइनन्,’ उनले भने, ‘घरमै व्यवसाय गरेर औषधि किनेर खाने बनाउन ऋण दिन थालेका हौं ।’ उक्त सहकारीले व्यावसायिक कृषि गर्नेका लागि घरमै पुगेर बिनाधितो ऋण दिने गरेको छ । हालसम्म जिल्लाका ३ सय साना किसानलाई ५ करोडभन्दा बढी लगानी गरिसकेको उनले जनाए ।

प्रकाशित : चैत्र ९, २०७८ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्

रोल्वालिङको काममा रोक

केदार सिवाकोटी

दोलखा — काम थालेको एक वर्षपछि अचानक गौरीशंकर संरक्षण क्षेत्रले माथिल्लो तामाकोसी आयोजनाले निर्माण गर्न लागेको रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माणमा रोक लगाएको छ । संरक्षण क्षेत्रले तामाकोसीलाई पत्र लेखेर आयोजनाको काम रोक्न भनेको हो ।

सरकारले निर्माण गरिरहेको आयोजनालाई सरकारकै अर्को निकायले रोक लगाएपछि आयोजना र संरक्षण क्षेत्रबीच द्वन्द्व चर्किने देखिएको छ । संरक्षण क्षेत्रमा पर्ने उक्त आयोजनामा जानसमेत अनुमति लिन भनिएको छ । माघ १७ मा सरक्षण क्षेत्रले ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको प्रवर्द्धक अपर तामाकोसी हाइड्रोपावरलाई पत्र लेखी ‘यस कार्यालयको अनुमतिबिना रोल्वालिङ खोला जलविद्युत्को काम तत्काल अघि नबढाउन’ भनेको छ । संरक्षण क्षेत्र प्रमुख डा. मधु क्षेत्रीद्वारा हस्ताक्षरित पत्रमा स्थानीयको उजुरी र निर्माणस्थलको अवलोकन प्रतिवेदनका आधारमा यस्तो निर्णय लिइएको उल्लेख छ ।

संरक्षण क्षेत्रले आयोजनाका सबै कर्मचारीको विवरण मागसमेत गरेको छ । संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ र निर्देशिका २०५६ अनुसार तामाकोसी आयोजना र अन्य प्रसारण लाइनमा काम गर्ने स्वदेशी र विदेशी कर्मचारी, कामदार सबैलाई अनुमति लिनसमेत पत्रमा भनिएको छ । रोल्वालिङ खोला आयोजनाको काम रोक्नू भनेर पत्र आएको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले पुष्टि गरे । पत्रपछि हाल आयोजनाको काम रोकिएको उनले बताए ।

तामाकोसी आयोजनाले रोल्वालिङ खोला डाइभर्सन गरे थप २२ मेगावाट विद्युत् उत्पादन हुने गरी काम अघि बढाएको छ । यो आयोजनाको पानी माथिल्लो तामाकोसी आयोजनाको बाँधमा खसालेपछि तामाकोसीले थप एक घण्टा अत्यधिक माग भएका बेला (पिकिङ इनर्जी) ४ सय ५६ मेगावाट विद्युत् उत्पादन गर्न सक्नेछ ।

यस्तै, निजी क्षेत्रको नासाले चीनको सीमानजिक बिगु गाउँपालिका–१ लप्चीमा बनाइरहेको १ सय ६० मेगावाटको लप्ची खोला जलविद्युत् आयोजनाको काम पनि संरक्षण क्षेत्रले रोकिदिएको छ । उक्त आयोजनाले कुनै वातावरण प्रभाव मूल्यांकनको सम्झौता नगरी संवेदनशील क्षेत्रमा जंगल मासेर ८ किलोमिटर सडक बनाएको छ । यहाँ डोजर प्रगोग गरी सडक खनिएको छ । तर डोजर लैजान हेलिकप्टर प्रयोग गर्नुपर्छ ।

आयोजनाको कामको अनुगमनमा पुगेको संरक्षण क्षेत्रको टोलीले ठूलो मात्रामा जंगल फँडानी गरेको फेला पारेपछि सबै कागजात माग गरेको थियो । उक्त आयोजनालाई पत्र काटेर प्रष्टीकरण पनि सोधेको संरक्षण आयोजनाका प्रमुख डा. क्षेत्रीले बताए । यता, संरक्षण क्षेत्रले जानाजानी दुःख दिन थालेको आयोजनाहरूले बताएका छन् । खासगरी आयोजनाले स्थानीय स्रोत साधन ढुंगा, गिटी, बालुवालगायतको रोयल्टीमा संरक्षण क्षेत्रले बढी चासो राखेको प्रवर्द्धकहरूले बताएका छन् ।

प्रकाशित : माघ २५, २०७८ १२:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×