वसन्तपुरका कंक्रिट संरचना भत्काइयो

विश्व सम्पदा क्षेत्रमा प्रतिकूल असर गर्ने संरचना नबनाउन स्थानीयबासी र संरक्षणकर्मीले आवाज उठाएका थिए
दामोदर न्यौपाने

काठमाडौँ — काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको निर्देशनमा विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबारक्षेत्रको वसन्तपुर डबलीमा बनाइएको कंक्रिट संरचना उपप्रमुख हरिप्रभा खड्गीको नेतृत्वमा भत्काइएको छ ।

वसन्तपुरका कंक्रिट संरचना भत्काइयो

महानगरले प्राचीन स्मारक संरक्षण ऐन र विश्व सम्पदाको मान्यताविपरीत शनिबार राति राष्ट्रिय झन्डा राख्ने भन्दै हनुमानढोकामा कंक्रिट संरचना निर्माण गरेको थियो । पुरातत्त्व विभाग, हनुमानढोका दरबार हेरचाह अड्डालगायतले संरचना नबनाउन पत्राचार गरे पनि महानगरको सार्वजनिक निर्माण विभागले अटेरी गर्दै संरचना बनाएको थियो । मंगलबार साँझ उपप्रमुख खड्गी र हनुमानढोका दरबार हेरचाह अड्डा प्रमुख सन्दीप खनालको उपस्थितिमा झन्डा राख्न बनाइएको फलामको डन्डी काटिएको हो ।

‘कंक्रिटका सबै संरचना हटाइनेछ,’ खड्गीले भनिन्, ‘आज फलामका डन्डी काटेर पिलर ठड्याउन नसक्ने बनाएका छौं ।’ मंगलबार बिहान कंक्रिट संरचना निर्माणस्थलको निरीक्षणको क्रममा खड्गीले महानगरको बोर्ड बैठकमै प्रस्ताव नलगी प्रमुख शाक्यले सुटुक्क काम अघि बढाएको बताइन् । पुरातत्व विभागले काम रोक्न पत्र पठाएकोबारेमा समेत आफू अनविज्ञ रहेको उनको भनाइ छ ।

बिहान निरीक्षणको क्रममा जसरी पनि भत्काएरै छाड्ने बताएकी खड्गी साँझ ५ बजे टोलीसहित संरचना भत्काउन पुगेकी थिइन् । ‘महानगर बोर्डमा ४१ जना छौं । तर मेयर एक जनाबाहेक अरु ४० जनालाई यो कामबारे थाहै छैन,’ खड्गीले भनिन्, ‘सम्पदा बचाउने काम स्थानीय सरकारको हो तर यहाँ त मास्ने काम भएको रहेछ । मेयर के गर्नु हुन्छ, थाहै हुँदैन । बोर्डमा कुरा ल्याए पो थाहा हुनु र विरोध गर्नु । सधैं मेयरको पछि लाग्ने कुरा पनि भएन ।’

खड्गीले विश्वसम्पदामा खलबल पुग्ने कुनै काम गर्न नहुने बताइन् । पुर्खाको पौरख, हाम्रो गौरवलाई जोगाउनुपर्नेमा झन् आफ्नै निकायले मास्ने काम गर्दा आफूलाई दुःख लाग्ने गरेको उनको भनाइ छ । ‘महानगर मेरो पनि संस्था हो । मेरो संस्थाले सम्पदा मास्यो भन्दा नरमाइलो लाग्छ,’ खड्गीले भनिन्, ‘आज मैंले भत्काइदिएँ सम्पदाको मूल्यमान्यताविपरीत बनेका संरचना । मेयरले खै कसरी लिनु हुन्छ ? यसलाई ठूलो बनायो भने ठूलो इस्यु हुन्छ, सानो मान्यो भने सानो । कस्तो बनाउने हो मेयरको हातमा छ ।’

आफूले झन्डाको विरोध गरेको नभई कहाँ राख्न हुने कहाँ राख्न नहुनेमा ध्यान दिन जरुरी रहेको उनले स्पष्ट पारिन् । ‘झन्डा त घर–घरमा राख्नुपर्छ । टोल–टोलमा राख्नुपर्छ,’ उनले भनिन्, ‘तर हाम्रा सम्पदा कुरुप हुने गरी त राख्नु भएन नि !’

महानगरले शनिबार राति कंक्रिटका ८ वटा संरचना बनाएको थियो । कंक्रिटका संरचनालाई इँटाले छोप्ने अनि त्यसमाथि नेपाली झण्डा फहराउने तयारी थियो । बाँकी काम सोमबार राति सम्पन्न गरेर झन्डा ठड्याइहाल्ने तयारीका साथ दाची अप्पा (विशेष इँटा) समेत ल्याइएको थियो । तर, स्थानीयले सोमबार राति इँटा ढुवानी गर्ने ट्रकलाई अवरोधको प्रयास गरेका थिए । स्थानीयको प्रयास विफल भएपछि प्रहरी आएर ट्रकलाई निर्माणस्थलबाट फर्काइदिएको थियो । ‘ट्रक फिर्ता लैजानुको साटो उल्टै हामीलाई घेरा हालेर भिडियो पो खिच्न थाले,’ अभियानकर्मी गणपतिलाल श्रेष्ठले भने, ‘अझ धम्की दिन थाले ।’

ट्रकलाई इँटा झार्न नदिन प्रहरी नायब उपरीक्षक दिलबहादुर मल्लको नेतृत्वमा टोली खटिएको थियो । निर्माण सामग्री फिर्ता लगेपछि पनि फेरि झुक्याएर ल्याउलान् भनेर स्थानीयवासीले रातभर पहरा दिएका थिए । ‘ओछ्यान लगाएर यहीं सुत्ने कुरा भएको थियो,’ श्रेष्ठले भने, ‘तर सामान ल्याएको थाहा पाउने बित्तिकै आइहाल्ने गरी निर्माणस्थलमा रातभर सुराकी राख्यौं ।’

प्राचीन स्मारक संरक्षण ऐनविपरीत कंक्रिट राखेर संरचना निर्माण गर्न लागेको थाहा पाएपछि एक महिनाअघिदेखि स्थानीयले विरोध जनाउँदै आएका थिए । डबलीमा जग खन्न सुरु गरेदेखि नै हनुमानढोका दरबार हेरचाह अड्डाले काम रोक्न पत्राचार गरेको थियो । पुरातत्व विभागले पनि काम रोक्न निर्देशन दिएको थियो । अड्डा र विभागको पत्राचार तथा स्थानीयवासीको विरोधपछि एक महिना काम रोकिएको पनि थियो । तर, शनिबार पुनः काम थालिएपछि विरोध सुरु भएको हो ।

सोमबार मात्रै पुरातत्त्व विभागले संरचना भत्काउन महानगरलाई पत्र पठाएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि प्रहरीलाई पत्र लेख्दै संरचना भत्काउन आदेश दिएको थियो । यसको जानकारी प्रहरीले महानगर प्रमुख शाक्यलाई समेत दिएको थियो । ‘तर मेयरले टेरेनन् । झन् राति–राति काम गर्न मान्छे खटाए,’ सम्पदा संरक्षण अभियानकर्मी मीरा महर्जनले भनिन्, ‘सम्पदा संरक्षण गर्न जसले आवाज उठाउँछ, त्यसलाई पेलेरै जाने नीति मेयरले लिएपछि हामी भत्काउन तम्सिएका थियौं । हामीले भत्काउनै परेन, उपप्रमुखले नै भत्काइदिनु भयो ।’

पुरातत्त्व विभाग र हनुमानढोका दरबार हेरचाह कार्यालयले विश्वसम्पदा क्षेत्रमा कुनै पनि संरचना बनाउन नपाइने भन्दै महानगरलाई सचेत गराएका थिए । विश्वसम्पदा क्षेत्रमा यस्ता संरचना बनाउँदा युनेस्कोले खतराको सूचीमा राखिदिनेतर्फ विभागले महानगरको ध्यानाकर्षणसमेत गराएको थियो ।

‘काठमाडौं उपत्यका विश्व सम्पदा स्थलाई खतराको सूचीमा राख्न वर्ल्ड हेरिटेज कमिटीबाट पटक–पटक प्रस्ताव भइरहेको र नेपाल सरकारले अस्विकार गर्दै आएको वर्तमान परिप्रेक्षमा बिना अध्ययन स्थनीय सरकारबाटै गरिने यस्ता कार्य विश्व सम्पदा स्थलको संरक्षण एवम् व्यवस्थापनको विपरीत हुन जाने भएको हुँदा अभिलम्ब भत्काउन’ विभागले अनुरोध गरेको थियो । यही अनुरोध गरेको रातमै सबै काम सक्ने गरी काम सुरु भएको थियो । ‘हामीले पटक–पटक पत्र पठाउँदा पनि महानगरले टेरेन,’ अड्डा प्रमुख खनालले भने, ‘अटेर गरेपछि कंक्रिट भत्काउने काममा हामी पनि संलग्न भयौं ।’

महानगर प्रमुख शाक्यले विरोधमा संलग्न अभियानकर्मीसँग फोन गरेर झन्डा फहराउने काममा अवरोध नगर्न आग्रह गरेका थिए । मेयर शाक्यले ‘झन्डा हाल्न लागेको हो, अवरोध नगर्नुस्’ भन्दै सम्झाएको अभियानकर्मी श्रेष्ठले जानकारी दिए । कंक्रिट हटाउन सोमबार शाक्यलाई ज्ञापनपत्र बुझाएका कांग्रेस महानगर समिति अध्यक्ष नीलकाजी शाक्यलाई पनि फोन गरेर विरोध नगर्न सम्झाएका थिए ।

‘तपाईंले बनाएको सेतो मत्स्येन्द्रनाथको सत्तलमा पनि कंक्रिट हालेको छ, त्यहाँकंक्रिट हालेर यहाँ विरोध गर्ने भन्नुभयो,’ नीलकाजीले भने, ‘तर त्यो विश्वसम्पदा होइन, यो त विश्वसम्पदा हो नि भनेर मेयरलाई सम्झाएँ ।’

प्रकाशित : चैत्र २, २०७८ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?