काङरिङमा १४ वर्षपछि विद्यालय भवन

राजकुमार कार्की

रानीवास,सिन्धुली — स्थानीयले माग गरेको १४ वर्षपछि कमलामाई नगरपालिका–१३ को काङरिङमा जस्ताको छाना लगाएर तीन कोठे विद्यालय भवन निर्माण सम्पन्न भएको छ । २०६४ सालमा थाकलको छाना लगाएर काठले बेराघेरा गरी सञ्चालनमा ल्याएको विद्यालय पछिल्लो समय जीर्ण बनेको थियो । रंगीन जस्ताको छाना लगाएर चिटिक्क पारिएको बालज्योती प्राविको भवन निर्माण सम्पन्न भएपछि स्थानीय हर्षित भएका छन् ।

कमलामाई नगरपालिकाको चार लाख र त्यति नै रकम बराबरको स्थानीयको श्रमदानमा निर्माण भएको विद्यालय भवनको कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले उद्घाटन गरेका छन् । विद्यालयमा खानेपानी, शौचालय, बालविकास कक्षा, थप शिक्षकको व्यवस्था गर्न स्थानीयले माग गरेका छन् । विद्यालयको भवन निर्माण भएपछि अब पठनपाठनमा सहज हुने भन्दै स्थानीय रमाएका थिए ।

पाँच कक्षासम्म सञ्चालन भएको विद्यालयमा ४५ जना विद्यार्थी रहेका छन् । नजिकको अर्को विद्यालय पुग्न दुई घन्टा हिँड्नुपर्ने भन्दै विद्यालय टिकाउन स्थानीयले गरेको प्रयास प्रशंसनीय भएको नगरप्रमुख खत्रीको भनाई थियो । मदन भण्डारी राजमार्ग भएर कमलामाई नगरपालिका–१३ को रानीवास पुगेपछि कमलानदी झोलुंगे पुलबाट पार गर्दै एक घण्टाको उकालो काटेपछि काङरिङ गाउँ भेटिन्छ । गाउँको सिरान सालघारी जंगलको आडमा विद्यालय छ । काठको पटाहले बेरेर सानो झुुपडी जस्तो विद्यालय भवन तीनकोठाको चिटिक्क बनाउन सकेको व्यवस्थापन समितिका अध्यक्ष हस्तबहादुर मोक्तान दंग थिए । 'नगरपालिकाबाट सुरुमा तीन लाख परेको थियो', उनले भने, ‘भवनमा चाहिने सामान खरिद गरि २८ घरधुरीले महिनादिन श्रमदान गरेपछि ठडियो । जस्ताको लागि एक लाख थप रकम आयो । केही रिण लागेको छ ।’ काम सुरु भएको दुज्ञ महिना बित्दानबित्दै विद्यालय भवन सम्पन्न भएकोमा अध्यक्ष मोक्तान लगायतलाई नगरपालिकाका तर्फबाट नगरप्रमुख खत्रीले बधाई ज्ञापन गरेका थिए । भवन निर्माण सम्पन्न गर्दा ५५ हजार ऋण लागेको छ ।

स्थानीय तह भएर जनप्रतिनिधिले सरकार चलाएको पाँच वर्ष पुग्न लाग्दा अन्तिममा आएर भवन बनेको छ । काङरिङमा विद्यालय जाने उमेर समूहका ५०/६० जना विद्यार्थी रहेका छन् । सक्नेले बेसीमा झरी अर्को विद्यालयमा पठाएका छन् । बिहान खाए बेलुकी के खाउँ भन्ने अभिभावक धेरै भएकाले अर्को विद्यालयमा पठाउन नसकेकोमा वल्ल भवन बनेकाले अब राम्रो हुनेमा स्थानीय कुलबहादुर विक आशावादी छन् । 'बालबालिकाहरु अर्को विद्यालय पुग्न घण्टौं हिँड्नु पर्ने भएपछि माग बमोजिम प्रावि स्वीकृत भयो', उनले भने, ‘विद्यालय त आयो तर पढाउने ठाउँ छैन् । सामुदायिक वनको केही लगानी र स्थानीयको श्रमदानमा नाम मात्रको भवन ठड्याएका थियौं । अहिले तीन कोठे बनेपछि हामी विपन्नको लागि यो महल नै भएको छ ।’

भएभरका विद्यार्थीहरुलाइ एउटै कक्षामा राखेर पढाउनु पर्ने बाध्यताको अन्त्य भएको प्रअ पवित्रा कट्टेलले सुनाइन् । बालविकास कक्षा र शिक्षकको माग गरेकी उनलाई नगरप्रमुख खत्रीले पहल लिने वचन दिए । एक जना राहत शिक्षक र विद्यालय कर्मचारीले मात्र सबै कक्षा धान्न गाह्रो भएको उनको गुनासो थियो । प्रअ कट्टेल राहत शिक्षक हुन् । विद्यालयमा अध्ययनरत बालबालिकालाई छात्रवृत्ति प्रदान गर्न स्थानीय यादव सुवेदीले छोराको विहेभोज खर्च जोगाएर ५० हजार रुपैयाँ अक्षय कोषका लागि प्रदान गरेका छन् ।

प्रकाशित : फाल्गुन ३०, २०७८ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्

सहर केन्द्रित योजनाका लागि २० करोड

टीकाप्रसाद भट्ट

रामेछाप — सहरी विकास मन्त्रालयले सहरलाई व्यवस्थित बनाउनका लागि आगामी आर्थिक वर्ष २० करोड रकम विनियोजन गर्ने भएको छ । मन्त्रालयले सहरलाई धुलो र हिलोबाट मुक्त बनाउन सहर केन्द्रित योजनामा जोड दिएसँगै उक्त योजना यसै वर्षभित्र छनोट गर्ने र आउँदो आर्थिक वर्षमा कार्यान्वयनमा जाने भएको छ । 

मन्त्रालयले आगामी आर्थिक वर्षमा शहर केन्द्रित योजनाका लागि देशभरका ४४ वटा नगरपालिका छनोट गर्दा रामेछापको मन्थली नगरपालिका समेत समेटिएको छ । ‘मन्थली नगरपालिकामा धुलो र हिलो हुने थुप्रै स्थान छन्‚’ नगर प्रमुख रमेशकुमार बस्नेतले भने‚ ‘अब हामी सहरलाई धुलो र हिलोमुक्त बनाउने पूर्वाधार छनोट गरी कार्यान्वयनको चरणमा जुटेका छौं ।’

सहरी विकास तथा भवन निर्माण विभागका उप-महानिर्देशक रामचन्द्र दंगालको नेतृत्वमा गठन भएको कार्यदलले योजनाले समेट्ने क्षेत्र र कार्यान्वयनको मापदण्डको विषयमा नगरपालिकासँग समन्वयात्मक बैठक समेत गरेको छ । उक्त कार्यक्रमअन्तर्गत कुल बजेटको ५० प्रतिशत सडक पूर्वाधार, ३५ प्रतिशत बसपार्क, हाटबजार लगायत पूर्वाधार र बाँकी वडा भवन र सामुदायिक पूर्वाधारमा खर्च गर्ने सीमा तोकिएको छ ।

‘धेरै जनघनत्व भएका क्षेत्रमा लगानी गर्दा प्रतिफल राम्रो हुने हाम्रो बुझाइ छ‚’ सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका आयोजना प्रमुख सुरेशकुमार वाग्लेले भने‚ ‘त्यसैले ग्रामीण भेगमा भन्दा सहर केन्द्रित योजनामा जोड दिन्छौं ।’ सहरी विकास मन्त्रालयले ठूलो लगानी हुने उक्त योजना कार्यान्वयनमा आइपर्ने समस्या समाधानका लागि नगर प्रमुखको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरेको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७८ १२:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×