२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सहर केन्द्रित योजनाका लागि २० करोड

टीकाप्रसाद भट्ट

रामेछाप — सहरी विकास मन्त्रालयले सहरलाई व्यवस्थित बनाउनका लागि आगामी आर्थिक वर्ष २० करोड रकम विनियोजन गर्ने भएको छ । मन्त्रालयले सहरलाई धुलो र हिलोबाट मुक्त बनाउन सहर केन्द्रित योजनामा जोड दिएसँगै उक्त योजना यसै वर्षभित्र छनोट गर्ने र आउँदो आर्थिक वर्षमा कार्यान्वयनमा जाने भएको छ । 

सहर केन्द्रित योजनाका लागि २० करोड

मन्त्रालयले आगामी आर्थिक वर्षमा शहर केन्द्रित योजनाका लागि देशभरका ४४ वटा नगरपालिका छनोट गर्दा रामेछापको मन्थली नगरपालिका समेत समेटिएको छ । ‘मन्थली नगरपालिकामा धुलो र हिलो हुने थुप्रै स्थान छन्‚’ नगर प्रमुख रमेशकुमार बस्नेतले भने‚ ‘अब हामी सहरलाई धुलो र हिलोमुक्त बनाउने पूर्वाधार छनोट गरी कार्यान्वयनको चरणमा जुटेका छौं ।’

सहरी विकास तथा भवन निर्माण विभागका उप-महानिर्देशक रामचन्द्र दंगालको नेतृत्वमा गठन भएको कार्यदलले योजनाले समेट्ने क्षेत्र र कार्यान्वयनको मापदण्डको विषयमा नगरपालिकासँग समन्वयात्मक बैठक समेत गरेको छ । उक्त कार्यक्रमअन्तर्गत कुल बजेटको ५० प्रतिशत सडक पूर्वाधार, ३५ प्रतिशत बसपार्क, हाटबजार लगायत पूर्वाधार र बाँकी वडा भवन र सामुदायिक पूर्वाधारमा खर्च गर्ने सीमा तोकिएको छ ।

‘धेरै जनघनत्व भएका क्षेत्रमा लगानी गर्दा प्रतिफल राम्रो हुने हाम्रो बुझाइ छ‚’ सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका आयोजना प्रमुख सुरेशकुमार वाग्लेले भने‚ ‘त्यसैले ग्रामीण भेगमा भन्दा सहर केन्द्रित योजनामा जोड दिन्छौं ।’ सहरी विकास मन्त्रालयले ठूलो लगानी हुने उक्त योजना कार्यान्वयनमा आइपर्ने समस्या समाधानका लागि नगर प्रमुखको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरेको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७८ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?