मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड

कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक — गत असार १ र साउन १६ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा चार करोड रुपैयाँ विनियोजन गरेको छ ।

मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड

भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत मन्त्रालयले ३१ योजनासहित तत्काल चार करोड रुपैयाँ स्वीकृत गरेको हो । पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म ३१ योजनाका लागि उक्त रकम तत्काललाई विनियोजन गरे पनि बाँकी सात करोड रुपैयाँ पनि यही आर्थिक वर्ष २०७८/७९ मा स्वीकृत भई कार्यान्वयनमा आउने प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले बताए ।

प्रदेश सभा सदस्य दुलालको पहलमा बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि सरकारले बजेट विनियोजन गरेको बताइएको छ । मेलम्ची र इन्द्रावती नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि पहिलो चरणमा पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म योजना मुताविक विनियोजित रकमबाट काम हुने दुलालको भनाइ छ ।

उक्त बाढीका कारण मेलम्ची बजारका अधिकांश मानिस प्रभावित बनेका छन् । साथै ठूलो जनधनको क्षति भएको छ ।

प्रकाशित : फाल्गुन २५, २०७८ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?