एमसीसीमा मेरो गोरुको बाह्रै टक्का नगरौं : गजुरेल

राजकुमार कार्की

सिन्धुली — माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री हरिबोल गजुरेलले नेपाल र अमेरिका दुवै अलिकति पछाडि हटेर एमसीसीमा सहमति बनाउनुपर्ने बताएका छन् । 

एमसीसीमा मेरो गोरुको बाह्रै टक्का नगरौं : गजुरेल

'अमेरिकाले यथास्थितिमा पारित गर नत्र लैजान्छु भन्ने, हामीले पारित गर्दैनौं, हुँदै हुँदैन खारेज गर भन्ने हुँदा टसल भएकाले सहमतिमा पुग्न कठिन हुन्छ,' नेता गजुरेलले कान्तिपुरसित भने ।

शुक्रबार सिन्धुलीमाडीमा आएका नेता गजुरेलले यसबारे बोलेका हुन् । एमसीसीको विषयमा नेपाल र अमेरिका दुवै पक्षले 'मेरो गोरुको बाह्रै टक्का' गर्न नहुने उनको सुझाव थियो ।

तर अमेरिकाले एमसीसीमा भएका बुँदा थोरै परिमार्जन गर्न पनि तयार नभएकाले समस्या भएको गजुरेलको भनाइ थियो । सरकारमा भएका दलहरूसँग सहमति बेगर एमसीसी टेबल भएमा अर्को जटिलता निम्तिने भन्दै नेता गजुरेलले गठबन्धन दल र अन्य दलबीच सहमति हुनुपर्ने बताएका थिए ।

'कसरी संसद्मा‍ टेबल कसरी गर्ने भनेर गठनबन्धन, प्रतिपक्ष र अन्य दलहरूसँग सहमति हुनुपर्छ,' उनले भने । एमसीसी पास गर नभए सबै सहयोग रोक्छौं भनेर नेपाललाई चेतावनी दिँदा अमेरिका आफैं अप्ठेरोमा पर्ने नेता गजुरेलको जिकिर थियो । नेपाल जस्तो सानो मुलुकसँग निहुँ खोजेर अमेरिकाले कुनै बहादुरी नकमाउने भएकाले थोरै परिमार्जन गर्न केही पछाडि हट्नु पर्नेमा गजुरेलले सुझाव दिएका थिए ।

एमसीसीमा उल्झन आउनुमा दुई वटा प्रमुख कारण रहेको नेता जगुरेलले औंल्याएका थिए । संसद्‍बाट पास हुनुपर्ने शर्त र एमसीसी इन्डो प्यासिफिकको अंग भएको कुराले जटिलता निम्त्याएको उनको भनाइ छ । यद्यपि एमसीसीका कारण गठनबन्धन नटुट्ने गजुरेलले ठोकुवा गरेका थिए ।

प्रकाशित : माघ २८, २०७८ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?