विकासे खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह

रासस

चितवन — भरतपुर महानगरले विकास निर्माणका काम गर्दागर्दै सिर्जना हुने खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह गरेको छ । महानगरले विकासका काम तीव्रगतिमा भइरहेको जनाउँदै त्यसक्रममा दुर्घटना हुनसक्नेतर्फ सचेत गराएको हो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले भौतिक पूर्वाधारका काम गर्नका लागि खनिएका खाल्डाखुल्डीमा दुर्घटना हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको बताए । सार्वजनिक स्थानमा विकास निर्माणका क्रममा खनिएका खाल्डाखुल्डीमा परी जुनसुकै बेला दुर्घटना हुने सम्भावना रहेको उनको भनाइ छ ।

विकास निर्माणस्थलमा सवारीसाधनको आवतजावत, पैदलयात्रीलगायत बालबालिकाले हिँड्डुल गर्दा विशेष सावधानी अपनाउन महानगवासी, टोल विकास संस्थालगायत निर्माणकार्यसँग सम्बन्ध राख्ने सबैलाई आग्रह गरिएको छ । निर्माण व्यवसायीले काम गर्दा सुरक्षाका उपाय अपनाउन, खाल्डाखुल्डी शीघ्ररूपमा पुर्न, सूचना/सावधानी बोर्ड अनिवार्य राख्न, अँध्यारो स्थानमा उज्यालोको व्यवस्था गर्न, आपसी समन्वयन गरेर प्रचलित कानुनी प्रावधानको पालना गरी दुर्घटना कम हुने गरी काम गर्न महानगरले आग्रह गरेको छ ।

भरतपुर महानगरपालिका–१२ स्थित निर्माणाधीन नालीमा खसेर एक जनाको मृत्यु भएको छ भने वडा नं ९ को गोन्द्राङमा हालै निर्माणाधीन सडकको नालीमा फसेर एकस्गिे गैँडा मरेको थियो ।


प्रकाशित : माघ १५, २०७८ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?