१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

निजी अस्पतालद्वारा कोरोना उपचारबापत १२ करोड माग

उपचार गरेको रकम बुझाएको भन्दै अस्पतालविरूद्ध बिरामीले दिए उजुरी
रमेशकुमार पौडेल

चितवन — कोरोना संक्रमित बिरामीको निःशुल्क उपचार गरेको भन्दै चितवनका दुई मेडिकल कलेजका शिक्षण अस्पतालहरूले सरकारसँग १२ करोड रुपैयाँ भुक्तानी दिन सरकारसँग माग गरेका छन् । चितवन मेडिकल कलेजले ९ सय ६६ जना र कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) ले १ सय ७६ जनाको उपचार गरेको विवरण पेस गरेका छन् । तर अस्पतालले निःशुल्क उपचार गरेको भनिएका केही बिरामीले भने आफूहरूले शुल्क तिरेको दाबी गर्दै जिल्ला प्रशासनमा उजुरी दर्ता गराएका छन् । 

निजी अस्पतालद्वारा कोरोना उपचारबापत १२ करोड माग

निःशुल्क उपचारबापत चितवन मेडिकल कलेजले १० करोड ९५ लाख रुपैयाँ भुक्तानी दिन सरकारलाई आग्रह गरेको छ । त्यसैगरी, पुरानो मेडिकल कलेजले १ करोड ३५ लाख रुपैयाँ दाबी गरेको प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले बताए । प्रशासनले निःशुल्क उपचारसम्बन्धी गुनासो वा उजुरी पेस गर्न बिरामीको विवरण नै सार्वजनिक गरेर अपिल गरेको थियो ।

‘मेरी श्रीमतीको पनि निःशुल्क उपचारमा नाम समावेश भएको देखें । मलाई पहिल्यै एक पटक स्वास्थ्य मन्त्रालयबाट सोधीखोजी भएको थियो । मैले पैसा तिरेको र निःशुल्क भएको होइन भनेको थिएँ । फेरि अस्पतालले नाम निकालेछ,’ चितवन चुम्लिङटारका तेजकृष्ण प्रजापतिले भने ।

उनले श्रीमतीलाई उपचारका लागि चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना गराएका थिए । निको भएर अस्पतालबाट घर आउने दिन बिल तिर्न जाँदा उनले शुल्क लाग्ने–नलाग्नेबारे सोधेका पनि थिए । ‘त्यो बेला मलाई पैसा तिर्नुपर्छ भनेका थिए । पछि मन्त्रालयबाट फोन आउँदा दंग परे । मन्त्रालयका मान्छेलाई त्यो बेला सबै कुरा भनेको हो । फेरि अस्पतालले निःशुल्क उपचार गरेको भनेर नाम राखेको देख्दा छक्कै परेको छु,’ प्रजापतिले भने । अस्पतालले उनकी श्रीमतीको निःशुल्क उपचार गरेको भनेर ७५ हजार रुपैयाँ दाबी गरेको छ 

प्रशासनका सूचना अधिकारी पौडेलले पुरानो मेडिकल कलेजको नामावलीबारे हालसम्म कुनै उजुरी नपरे पनि चितवन मेडिकल कलेजको विवरणविरुद्ध ५ वटा लिखित उजुरी आएको बताए । ‘हामीले शुक्रबारसम्मको म्याद दिएर उजुरी आह्वान गरेका थियौं । चितवन मेडिकल कलेजको सूचीका सम्बन्धमा मात्रै लिखितमा ५ वटा उजुरी परेका छन्,’ पौडेलले भने । उनले इमेलमा पनि उजुरीहरू आएको र ती आइतबार मात्रै हेरिने बताए ।

प्रजापतिले पनि उजुरी इमेल गरेका छन् । लिखित उजुरी दिएकामध्ये सम्पर्कमा आएका एक जनाले आफूले उपचारबापत लाखौं रकम तिरेको र नामावली हेर्दा निःशुल्क भनेर सरकारसँग माग गरेको देखेपछि उजुरी गरेको बताए । ‘त्यो बेला लामो समय अस्पताल बसियो । पैसा तिरेकै हो । अहिले निःशुल्कमा कसरी नाम पर्‍यो ?,’ उनले प्रश्न गरे ।

चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. हरिश न्यौपाने नियमअनुसार नै आफूहरूले रकम माग गरेको बताउँछन् । ‘हामीले बिरामीसँग कोभिड प्रमाणित हुनुअघि र कोभिड भएर उपचार गरेपछि नेगेटिभ आए पनि डिस्चार्ज गर्न नमिल्ने अवस्थामा रहेकालाई यहीं राखेर उपचार गरेको खर्च मात्रै लिएका हौं । कोभिड प्रमाणित भएर नेगेटिभ नआउँदासम्मको पैसा लिएकै छैन । सरकारसँग त्यही पैसा दाबी गरेका हौं,’ उनले भने ।

प्रकाशित : माघ १५, २०७८ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?