कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

दोलखामा एक लाखभन्दा बढीले लगाए खोप

केदार शिवाकोटी

दोलखा — जिल्लाभर १२ वर्षमाथिका एक लाखभन्दा बढीले खोप लगाएका छन् । दोलखामा बुधबारसम्म एक लाख १० हजारले पहिलो डोज खोप लगाएका छन् भने ९७ हजारले दोस्रो डोज खोप लगाएका छन् ।

दोलखामा एक लाखभन्दा बढीले लगाए खोप

जिल्लाका १७ हजार विद्यार्थीलाई कोरोनाविरुद्धको पहिलो डोज खोप लगाइएको छ । विद्यालयमै पुगेर १२ वर्षदेखि १७ वर्ष उमेर समूहका १७ हजार विद्यार्थीलाई पहिलो डोज खोप लगाइएको हो ।

तीन स्थानीय तहका ८ हजार विद्यार्थीलाई बुधबार दोस्रो डोज खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अर्जुन पौडेलले बताए । उनका अनुसार विद्यार्थीलाई विद्यालयमै बोलाएर दोस्रो डोज खोप लगाइएको हो । हालसम्म ६० प्रतिशत १२ देखि १७ वर्ष उमेर समूहकालाई खोप दिइएको उनले बताए । सरकारले खोप लगाउन विद्यालय खोल्ने अनुमति दिएपछि जिल्लाभरका विद्यालयमा धमाधम खोप अभियान सुरु भएको प्रमुख पौडेलले बताए ।

जिल्लाभरका १२ देखि १७ वर्ष उमेरका समूहलाई खोप लगाउन थालेका छौं,’ उनले भने, ‘जिल्लाका सबै विद्यालयमै पुगेर छुटेकालाई पहिलो डोज खोप दिइरहेका छौं, लगाइसकेकालाई दोस्रो डोज खोप दिन्छौं ।’ जिल्लाभर आलोपालो गरेर स्थानीय तहका विद्यालयमा खोप अभियान सुरु गरिएको उनले बताए । जिल्लामा अहिलेसम्म १८ वर्षमाथिका ९४ हजारलाई पहिलो डोज खोप लगाइसकेको उनले बताए । उनका अनुसार ९० हजारले दोस्रो डोज खोप लगाइसकेका छन् । बुस्टर डोज खोप भने अत्यन्तै न्यून रहेको छ । बुधबारसम्म जम्मा २४ सय २२ जनाले मात्रै खोप लगाएका छन् । ‘सरकारले अग्रपंक्तिकालाई मात्र बुस्टर डोज खोप लगाउन भनेपछि खोप लगाउनेको संख्या कम भएको हो,’ उनले भने, ‘खोप अपुग भएकाले कतिपयले बुस्टर डोज लगाउने संख्या पनि न्यून छ ।’ पहिलो डोज खोप लगाउन छुटेकालाई चरिकोटमा हरेक शुक्रबार खोप दिइने गरेको उनले बताए । तेस्रो लहर सुरु भएपछि खोप लगाउन आउनेको संख्या बढेको कार्यालयले जनाएको छ ।

दुर्गममा पुगेन खोप
जिल्लाको विकट विगु गाउँपालिका-१ लप्चीका बासिन्दाले पहिलो डोज खोप लगाएको ६ महिना बितिसक्दा समेत दोस्रो डोज खोप पाएका छैनन् । जिल्लाको विकट क्षेत्र लप्चीमा ३० जना जतिलाई मात्रै पहिलो डोज खोप दिइएको थियो । उनीहरूले अहिलेसम्म दोस्रो डोज खोप पाएका छैनन् । अझै ४० भन्दा बढीले पहिलो डोज खोपसमेत लगाउनै छुटेको स्वास्थ्य कार्यालयका प्रमुख पौडेलले भने ।

अन्दाजका भरमा अति विकट क्षेत्रमा कम खोप लैजाँदा लप्चीबासीले खोप नपाएका हुन् । ‘लप्चीमा खोप लैजाने बेला जनसंख्या कम होला भनेर अन्दाजका भरमा लग्यौं,’ उनले भने, ‘आधाभन्दा बढीले खोप लगाउनै पाएनन्, सेनाको हेलिकोप्टर प्रयोग गरेर भए पनि खोप लैजान्छौं ।’ उनका अनुसार विकट क्षेत्र भएकाले हिँडेर खोप लैजान असम्भवजस्तै भएकाले पहिलो डोज खोप लगाएकालाई पनि दोस्रो डोज दिन नसकिएको हो ।

हाल हिमपातले लप्चीबासी लुमनाङ झरेका छन् । जिल्लाको विकट गौरीशंकर गाउँपालिका-९ को बेदिङमा भने दोस्रो डोज खोप दिइएको छ । २ दिनको पैदल हिँडेरै स्वास्थ्यकर्मीले बेदिङमा खोप लगाएको कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ १३, २०७८ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?