कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

पालिका पुग्ने सडक जहिल्यै जर्जर

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछाप सदरमुकाम मन्थलीबाट लिखु तामाकोशी गाउँपालिकाको केन्द्र धोवी पुग्ने सडक जम्मा २७ किलोमिटरमात्र छ । तर‚ उक्त सडकमा भएका खाल्डाखुल्डीले गर्दा यात्राका लागि भने झन्डै ३ घण्टा समय लाग्ने गर्छ । 

पालिका पुग्ने सडक जहिल्यै जर्जर

सडकको अधिकांशमा भागमा ठूल्ठूला खाडल छन् । वर्षायाममा परेका उक्त खाडलहरू अझै पुरिएका छैनन् । ट्याक्टर र जलविद्युत् आयोजनाका गह्रौं उपकरण बोक्ने ढुवानीका साधन निर्वाध गुडेकाले सडक जर्जर बनेको हो । बढी पानी पर्ने क्षेत्रमा पर्ने उक्त सडकमा हिउँद महिनामा पनि साना सवारी साधन गुड्न सक्दैनन् ।

पालिका जोड्ने सडक लिखु जलविद्युत् आयोजनाका ठुला सवारी साधनको कारण बढी क्षति भएको बुझाइ गाउँपालिकाको छ । दुई वर्षअघि गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्काले सडकमा निर्वाध ढुवानीका साधन गुडाएको तर मर्मत सम्भारको काममा चासो नदिएको भन्दै आयोजनाका ढुवानी साधनलाई उक्त सडकमा गुड्न निषेध गरेको सूचना जारी गरेका थिए । तर स्थानीय प्रशासन उक्त सूचनाविरुद्ध उभियो । प्रशासनले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना भएकाले जलविद्युत् आयोजनाका साधन रोक्न नमिल्ने भन्दै पालिकाको सूचनालाई खारेज गरेको थियो ।

प्रशासनको उक्त आदेशपछि ढुवानी साधन गुडाएको लिखु-४ जलविद्युत् आयोजनाले निर्माण कार्य सकेर व्यावसायिक उत्पादन गर्दा समेत सडक मर्मतमा चासो दिएन । उक्त पालिकामै लिखु-३ जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छ । उक्त आयोजनाले समेत सडक मर्मतको चासो दिएको छैन ।

वर्षायाममा परेका खाडल पुरेर सडक राम्रो बनाउन गाउपालिकाले २ वर्ष खर्च गरेको थियो । त्यसपछि धान्न सकिने अवस्था भएन । जति लगानी गरे पनि सडक उस्तै हुन थालेपछि पालिकासमेत मर्मत कार्यबाट पछि हटेको स्थानीय बताउँछन् । लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का आफ्नो पालिकाको केन्द्र धोवि हुँदै सिरीसे ढाँडेसम्मको सडक कालोपत्रे गर्ने अभियानमा रहेको बताउँछन् ।

प्रदेश सरकारले अन्य पालिकामा पुग्ने सडक कालोपत्र गर्न थालेको भए पनि लिखु तामाकोशी गाउँपालिका जोड्ने सडकलाई प्राथमिकतामा नराखेकोमा उनको आपत्ति छ । पालिकाले संघीय सरकारमार्फत उक्त सडक कालोपत्रेका लागि पहल गरिरहेको खड्काले बताए ।

जिल्लाका अन्य गाउँपालिकाका केन्द्रसम्मको सडक वर्षायाममा केहि असहज भए पनि हिउँदमा सवारी साधनका लागि सहज हुने गरी मर्मत हुन्छन् । तर‚ लिखु तामाकोशी गाउँपालिकाका सडक सधैं उस्तै जोखिमपूर्ण रहने गरेको स्थानीय चन्द्रबहादुर सुनुवारले बताए । दुरागाउँ सैपु र नागदहका सडक सबैभन्दा बढी जोखिममा छन् । खिम्तीदेखि शिवालय बिर्ता हुँदै धोवी जोड्ने सडकको अवस्थासमेत राम्रो छैन ।

प्रकाशित : माघ १३, २०७८ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?