कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

राष्ट्रिय सभा निर्वाचनमा विवेकशीलले मतदान नगर्ने

सुवास विडारी

मकवानपुर — राष्ट्रिय सभा अन्तर्गत बुधबार हुने निर्वाचनमा विवेकशील साझा पार्टीले मतदान प्रक्रियामा सहभागी नहुने जनाएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा विवेकशीलले मतदान नगर्ने

मंगलबार काठमाडौंमा बसेको विवेकशील पार्टी संसदीय दलको बैठकले मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो । विवेकशील साझाको वाग्मती प्रदेशसभामा ३ जना सदस्य रहेका छन् ।

‘हामीलाई हाल उम्मेदवार रहेका कोही पनि ठीक लागेन । त्यसकारण मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेका हौं,’ सांसदीय दलका नेता रमेश पौड्यालले भने । विवेकशीलले अघिल्लो राष्ट्रिय सभाको निर्वाचनमा समेत मतदान गरेको थिएन ।

पौडेलले निर्वाचन आयोगले ‘नो भोट’को व्यवस्था गर्न जरुरी रहेको समेत औंल्याए । ‘सर्वोच्च अदालतले २०७१ सालमै नो भोटको व्यवस्था गर्न आदेश दिइसकेको छ । नो भोटको व्यवस्था नभएका कारण हामी निर्वाचन प्रक्रियामै सहभागी नहुने भएका हौं,’ उनले भने ।

राष्ट्रिय सभा सदस्य बन्न ६ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । सत्तारुढ गठबन्धनका २ जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट २ जना गरी आधा दर्जनले मनोनयन दर्ता गरेका छन् । गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एस) की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन् । विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ चुनावी मैदानमा रहेका छन् ।

प्रकाशित : माघ ११, २०७८ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?