३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा

सुवास विडारी

मकवानपुर — राष्ट्रिय सभा सदस्यअन्तर्गत वाग्मती प्रदेशमा खाली रहेको दुई सिटका लागि बुधबार मतदान हुँदैछ । मतदानको सम्पूर्ण तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश निर्वाचन अधिकारी तथा सहायक निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलका अनुसार दुईवटा मतदान केन्द्र निर्माण गरिएको छ ।

राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा

‘प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने गरी दुईवटा मतदान केन्द्र निर्माण गरिएको हो,’ पोखरेलले भने । उनका अनुसार मतदान केन्द्रमा अधिकृतसहित ८–८ जना गरी १६ जना कर्मचारी खटाइएको छ ।

‘मतदान केन्द्रका अनुसार मतपत्रको रङ पनि फरक-फरक रहेको छ । कोभिड–१९ महामारीको कारणले स्वास्थ्य सुरक्षामा केही चुनौती देखिए पनि यसको व्यवस्थापन गर्ने गरी व्यवस्था मिलाएका छौं,’ पोखरेलले भने ।

पोखरेलका अनुसार मतदान गर्न आउने मतदाताहरूले कोरोनाविरुद्धको दुई मात्रा खोप लगाएको कार्ड ल्याउनुपर्ने र कोरोना संक्रमित भए वा लक्षण देखिएका मतदातालाई छुट्टै व्यवस्थापन गरिएको छ । मतदान स्थलमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले हेल्प डेस्कसहित २ जना स्वास्थ्यकर्मी राख्ने भएको छ ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदान प्रक्रिया बिहान ९ बजेबाट सुरु भएर दिउँसो ३ बजे टुंगिनेछ । ४ बजेपछि मतगणना सुरु गर्ने श्रेष्ठले जानकारी दिए । मंगलबार उम्मेदवार र दलहरुले मतदान स्थलको अनुगमन गरिसकेको बताइएको छ ।

राष्ट्रिय सभा सदस्य बन्न ६ जना उम्मेदवारबीच प्रतिष्पर्धा हुँदै छ । सत्तारुढ गठबन्धनका २ जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट २ जना गरी ६ जनाले मनोनयन दर्ता गरेका छन् । गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एस) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन् । विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ चुनावी मैदानमा रहेका छन् ।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा (एस), जनता समाजवादी पार्टी र जनमोर्चा रहेका छन् । राष्ट्रियसभा निर्वाचनमा वाग्मतीमा ३ सय ४६ मतदाता रहेका छन् । मतदातामा प्रदेशका ११९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३७ रहेका छन् ।

निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुन्छ । जसअनुसार निर्वाचनमा १०९ जना प्रदेश सभा सदस्यको ५ हजार २३२ मतभार रहेको छ भने स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको ४ हजार २६६ मतभार रहेको छ । जसअनुसार वाग्मतीमा कुल ३४६ जना मतदाताको ९ हजार ४९८ मतभार गणना हुनेछ ।

प्रकाशित : माघ ११, २०७८ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?