२५ प्रतिशत स्वास्थ्यकर्मीमा संक्रमण

मकवानपुर, काभ्रे — मकवानपुरमा कार्यरत स्वास्थ्यकर्मीमध्ये २५ प्रतिशतभन्दा बढीलाई कोरोना संक्रमण भएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा स्वास्थ्य कार्यालय प्रमुख भीमसागर गुरागाईंले कोरोना संक्रमण र खोपको अवस्थाबारे जानकारी गराउँदै कोरोनाको तेस्रो लहर सुरु भएयता जिल्लामा कार्यरतमध्ये २५ प्रतिशत अर्थात् १ सय २५ जना स्वास्थ्यकर्मी संक्रमित भएको बताएका हुन् ।

२५ प्रतिशत स्वास्थ्यकर्मीमा संक्रमण

उनका अनुसार सबैभन्दा बढी हेटौंडा अस्पतालका ५९ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भइसकेको छ । यसैगरी, मनहरी प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका २२ जना, हेटौंडा उपमहानगरपालिकाभित्रका स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रका १६ जना, कैलाश गाउँपालिकाअन्तर्गत कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना पाइएको हो । ‘संक्रमित पाइएका १/२ जना स्वास्थ्यकर्मी त हरेक स्वास्थ्य संस्थामा छन्,’ उनले भने, ‘स्वास्थ्यकर्मी संक्रमित भएका कारणले स्वास्थ्य संस्थामा जनशक्तिको अभाव हुन थालेको छ ।’ जिल्लामा कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाउनेको संख्या ८२ प्रतिशत पुगेको छ भने ६१ प्रतिशतले दोस्रो मात्रा लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको उक्त बैठकमा चेपाङ बाहुल्य क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिकामा ३ दिनमा २ हजार ५ सय जनाले खोप लगाएको विवरण गुरागाईंले प्रस्तुत गरेका थिए । दुवै गाउँपालिकामा शुक्रबारदेखि घरदैलोमार्फत खोप अभियान सञ्चालन गरिएको छ ।

जिल्लामा आइतबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३८ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट १ सय ३२ जनाको परीक्षण गर्दा ७९ जनाको रिपोर्ट पोजिटिभ पाइएको स्वास्थ्य कार्यालयको तथ्यांक छ । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ७१ पुगेको छ । जसमध्ये १ हजार ५ सय ६१ संक्रमित होम आइसोलेसनमा छन् ।

१० जनाको उपचार हेटौंडा अस्पतालमा भइरहेको अस्पतालका रजिस्ट्रार राजेश प्रसाईंले जानकारी दिए । यसैबीच, मास्क नलगाई सार्वजनिक स्थानमा हिँडडुल गर्नेलाई सोमबादेखि सय रुपैयाँ जरिवाना गरिने भएको छ । समितिको आइतबारकै बैठकले उक्त निर्णय गरेको हो । कोरोना संक्रमण व्यापक रूपमा विस्तार हुँदै गइरहेको सन्दर्भमा त्यसलाई नियन्त्रण गर्न मास्क नलगाई हिँड्नेलाई सचेत गराउने उद्देश्यले जरिवाना लगाउने व्यवस्था गर्न लागिएको प्रजिअ पाण्डेले बताए ।

अक्सिजन र जनशक्ति तयारी अवस्थामा

काभ्रेमा कोरोना संक्रमितको उपचारको लागि अक्सिजन र जनशक्ति तयारी अवस्थामा रहेको जिल्लाका १३ वटै पालिकाका स्वास्थ्य शाखाले जनाएका छन् । चौरीदेउराली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तेजकुमार घिसिङले करिब १ करोड ४ लाख रुपैयाँ लागतमा अक्सिजन प्लान्ट जडान गरिएको बताए । पाँचखाल नगरपालिका स्वास्थ्य सहसंयोजक विष्णु गौतमले ५० वटा अक्सिजन कन्सन्ट्रेटर र त्यति नै संख्यामा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको बताए ।

पनौती नगरपालिका स्वास्थ्य शाखा संयोजक पुरुषोत्तम तिमल्सिनाले ९ जना मेडिकल अफिसरसहितको स्वास्थ्यकर्मीको टोली उपचारमा खटिइरहेको बताए । कोरोनाको दोस्रो लहरमा अक्सिजन अभाव भएपछि स्थानीय तहले दातासमेतको सहयोगमा अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर र प्लान्टको जोहो गरेका थिए ।

स्वास्थ्य कार्यालय काभ्रेको तथ्याकंअनुसार शनिबारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार १ सय ९९ पुगेको छ । जसमध्ये ११ जनाको जिल्लाका विभिन्न अस्पतालमा र १ हजार १ सय ८८ जना घरमै छन् ।

प्रकाशित : माघ १०, २०७८ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?