कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

रामेछापका २२ स्वास्थ्य संस्था पुनर्निर्माण हुँदै

३ अस्पतालका सेवा नयाँ भवनबाट दिन सुरु, २ वटाको निर्माण अन्तिम चरणमा

रामेछाप — भूकम्पले क्षति पुर्‍याएर जीर्ण बनेका भवनबाटै स्वास्थ्य सेवा दिँदै आएका रामेछापका २२ स्वास्थ्य संस्थाको पुनर्निर्माण धमाधम भइरहेको छ । बिरामीलाई सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सेवा दिने उद्देश्यले पूर्वाधार निर्माणको काम तीव्र रूपमा अघि बढाइएको हो ।

रामेछापका २२ स्वास्थ्य संस्था पुनर्निर्माण हुँदै

२०७२ वैशाखको भूकम्पले क्षति पुगेका जिल्लाभरका २५ स्वास्थ्य संस्थाको पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई थियो । हालसम्म जिल्ला अस्पताल, बाम्ती अस्पताल र कठजोर स्वास्थ्य चौकीको भवन मात्रै निर्माण सकिएर सञ्चालनमा आएको छ । सरकारले प्राधिकरण खारेज गरेसँगै बाँकी स्वास्थ्य संस्थाको भवन निर्माणको जिम्मा पाएको सघन सहरी तथा भवन निर्माण आयोजनाका अनुसार देउराली र खाँडादेवी स्वास्थ्य चौकी भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यसैगरी, मन्थली र गेलु प्राथमिक अस्पतालको काम धमाधम भइरहेको छ । मन्थलीमा १५ शय्या र गेलुमा ५ शय्या क्षमताको भवन निर्माण भइरहेको हो ।

कुभुकास्थली, चुचुरे, तिल्पुङ, बिजुलीकोट, सालु, गोठगाउँ हिमगंगा, रामपुर, ओख्रेनी, दुरागाउँ र भलुवाजोरमा पनि भवन निर्माण कार्य धमाधम भइरहेको आयोजना प्रमुख सुरेशकुमार वाग्लेले दाबी गरे । ती भवनहरू २० करोड ५२ लाख रुपैयाँमा बनाउने गरी निर्माण कम्पनीसँग सम्झौता भएको हो । पश्चिमी रामेछापको गोश्वारा, डडुवा, गेलु, चनखु, चिसापानी, पिङखुरी, मझुवा र खनियापानीमा समेत स्वास्थ्य संस्थाका लागि भवन बनिरहेको वाग्लेले बताए । ती भवन निर्माण गर्न १९ करोड ३७ लाख रुपैयाँमा सम्झौता भएको हो । मन्थली अस्पतालको भवन बनाउन आयोजनाले ९ करोड ३२ लाख रुपैयाँमा सम्झौता गरेको आयोजनाले जनाएको छ ।

मन्थली नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा गत साउनदेखि १५ शय्याको सेवा सञ्चालन गर्ने निर्णय गरे पनि पूर्वाधार अभावमै निर्णय पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । हाल नगरपालिकाले आफ्नै खर्चमा अस्थायी भवन निर्माण गरी कठिनाइका साथ सेवा सञ्चालनको तहमा पुगेको नगर प्रमुख रमेशकुमार बस्नेतले बताए । ‘पूर्वाधारको अभाव भएका बेला सरकारले सुविधा सम्पन्न अस्पतालको निर्माण निर्धारित समयमा गरिदिए प्रभावकारी र गुणस्तरीय सेवा सञ्चालनमा सघाउ पुग्ने थियो,’ उनले आग्रह गरे ।

प्रकाशित : माघ ९, २०७८ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?