चेपाङ बस्तीमा एकै दिन हजार बढीलाई खोप- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चेपाङ बस्तीमा एकै दिन हजार बढीलाई खोप

कान्तिपुर संवाददाता

मकवानपुर — मकवानपुरको चेपाङ बाहुल्य राक्सिराङ र कैलाश गाउँपालिकामा शुक्रबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको छ । अभियानको पहिलो दिनमै एक हजारभन्दा धेरैले खोप लगाएका छन् ।

राक्सिराङका ४ वडामा खटिएको स्वास्थ्यकर्मीको १० वटा टोलीले कुल ५ सय ८७ जनालाई खोप लगाएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विजय कापरीले बताए । उनका अनुसार हालसम्म गाउँपालिकाका ४० प्रतिशत स्थानीयले पहिलो मात्रा र २७ प्रतिशतले मात्र दोस्रो मात्रा खोप लगाएका छन् । स्थानीय खोप लगाउन स्वास्थ्यचौकीमा नआएकाले अहिले घरदैलो गर्दै खोप अभियान सञ्चालन गरिएको हो ।

यसैगरी, कैलाशका ८ स्थानमा ४ सय ५२ जनालाई खोप लगाइएको छ । जसमध्ये पहिलो मात्रा लगाउनेको संख्या २ सय ८९ र दोस्रो मात्रा लगाउनेको संख्या १ सय ६३ रहेको स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर महतोले बताए । अभियान एक साताभरि सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

‘घरघरमै गएर खोप लगाउने लक्ष्य लिएका छौं,’ राक्सिराङ अध्यक्ष राजकुमार मल्लले भने । माघ १५ सम्म खोप नलगाउने स्थानीयलाई कुनै पनि सेवासुविधा उपलब्ध नगराउने निर्णय दुवै पालिकाले गरेका छन् ।

प्रकाशित : माघ ८, २०७८ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्

तातोपानी नाकामा चीनको मनपरी

भूकम्पको चार वर्षपछि एकतर्फी आयातका रुपमा मात्रै खुलाइएको तातोपानी नाका चिनियाँ मनखुसीमा खुल्ने र बन्द हुने प्रवृत्ति अझै रोकिएन
अनिश तिवारी

सिन्धुपाल्चोक — गत पुस १६ मा चीनको खासा र न्यालम क्षेत्रमा बाक्लो हिमपातका कारण चिनियाँ कन्टेनर आउजाउ रोकिएपछि तातोपानी नाका ठप्प बन्यो । हिउँले आधा छोपिएकाले खुला टेलरमा लोड गरिएका स्याउलगायत अन्य रेडिमेड सामग्री कुहिए, बिग्रिए । चीन र नेपालतर्फ कोरोना संक्रमित भेटिएपछि २०७७ असोजमा यही नाका दुई पटक दुई महिना बन्द भयो । सयौं कन्टेनर उतै थन्किँदा व्यापारीले करोडौं रुपैयाँ घाटा सहे ।

२०७६ को जेठमा तिब्बतको स्थानीय प्रशासन नेलाम काउन्टीले खासाभन्दा करिब ३५ किमिमाथिको ‘क्यानोन कु’ ताल फुट्ने सम्भावना भएकाले तातोपानी नाकाबाट कारोबार नगर्न भन्दै सूचना जारी गरेपछि यही बहानामा लामो समय बन्द रह्यो ।

लामो समय पटकपटक नाका बन्द भएपछि चीनमै थन्किएका व्यापारिक सामग्री ल्याउन ढिलाइ भएपछि अधिकांश नेपाली व्यापारी पेसाबाटै पलायन भए । भूकम्प, भोटेकोसीको बाढी, वर्षा र सुक्खा पहिरोसहित हिमपात, कोरोना संक्रमण जस्ता अनेक कारण देखाएर नेपाललाई साह्रोगाह्रो परेकै बेला उत्तरी चिनियाँ नाका बन्द भएपछि नेपाली व्यापारीले कठिनाइ बेहोर्नुपरेको छ ।

राजधानी काठमाडौंबाट चीनको व्यापारिक क्षेत्र खासा १ सय २४ किमि र रसुवागढी १ सय ६४ किलोमिटरको दूरीमा पर्छन् । केरुङभन्दा तातोपानी नाकाबाट सिगात्से ३० किलोमिटर कम दूरीमा पर्छ । चीनको जुनसुकै बजारका या कम्पनीबाट झिकाएका सामग्री भए पनि खासाबाट तातोपानी आइपुग्न कम्तीमा १२ देखि बढीमा १५ दिन लाग्छ ।


चीन जोड्ने उत्तरी तातोपानी नाकाको क्षतिग्रस्त लिपिङ बजार । तस्बिर : अनिश/कान्तिपुर

नजिकैको दूरीमा रहेको छिमेकी देश चीनले तातोपानी नाकाप्रति देखाएका यी व्यवहार भने एकदमै टाढाको जस्तै रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेत बताउँछन् । भारतले २०७२ सालमा नाकाबन्दी गरेका बेला भूकम्पले क्षति पुर्‍याएको कारण देखाउँदै चिनियाँ तातोपानी नाका बन्द थियो । त्यति बेला नेपालतर्फबाट निकै पटक अनुरोध गरिए पनि वर्ष दिनपछि मात्रै नाका खोलियो । ‘अहिलेसम्म दर्जनौ पटक यही नाका खुल्ने, बन्द हुने भइरहेकै छ, अहिले कोभिडको तेस्रो लहरको महामारीले च्यापेका बेला तातोपानी र केरुङ नाका पनि अघोषित रूपमा नाकाबन्दीमा झैं देखिन्छन् । यहाँबाट व्यापारी उता जान पाउँदैनन्, केवल मनखुसी कन्टेनर भित्रन्छन्,’ उनले भने ।

भूकम्पपछि व्यापारीका सयौं कन्टेनर सामान तातोपानी खासा सडकमा पाँच महिना अलपत्र परे । भूकम्पका कारण गएको पहिरोले कतिपय कन्टेनर पुरिँदा सामान छरपस्ट भए । त्यतिबेला व्यापारीहरू मितेरी पुलबाट एक किमि टाढा सडक आसपास, जंगलमा छरिएका र पानीले भिजको सामान हेर्न विवश भए । निकै लामो प्रयासपछि मात्रै चीनले ती सामान नेपाल भित्र्याउन दिएको थियो । सयौं कन्टेनर सामान पानीले भिज्दा व्यवसायीले करोडौं रुपैयाँ नोक्सानी बेहोरेका थिए । ‘त्यतिबेला सामान ल्याउने धेरै परको कुरा, व्यवसायीलाई उता छिर्नसमेत दिइएन । महिनौंसम्म चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालय धाउँदाधाउँदै कति सामान त्यहीँ कुहिए, कति डेट एक्स्पायर भए, त्यही नोक्सानी सहन नसक्दा कतिपय व्यवसायी पेसाबाटै पलायन भए,’ बस्नेतले भने ।


भूकम्पको चार वर्षपछि एकतर्फी आयातका रूपमा मात्रै खुलाइएको तातोपानी नाका चिनियाँ मनखुसीमा खुल्ने र बन्द हुने प्रवृत्ति अझै रोकिएको छैन । कोभिडको पहिलो लहरमा बन्द नाका चीनको खासा र न्यालमक्षेत्रमा थन्किएका डेढ सय कन्टेनरका रेडिमेड र अन्य सामग्री राजधानी पुर्‍याउने लक्ष्य राखेर ‘आइसोलेट एरिया’ सहित सञ्चालनमा ल्याइएको थियो । तर सीमित कन्टेनरबाट हुने आयातका कारण १०/१५ दिनभित्र आइपुग्ने सामान काठमाडौं भित्रन महिनौं लाग्दा करोडौं रुपैयाँ घाटा बेर्होनुपरेपछि नेपाली व्यापारी आयातका लागि भारतीय नाकामा निर्भर हुन थालेको व्यवसायी बताउँछन् ।

‘निर्यात व्यापारी सबै पलायन भएका छन्, आयात गर्ने हामी चिनियाँ मनपरीको तनावमा छौं, सरकारी पहलकदमी त्यति पुगेको देखिँदैन,’ व्यवसायी दोर्जे लामाले भने । गत बर्खामा लिपिङ पुल भास्सिएर अवरुद्ध हुँदा सामग्री बोकेर लिपिङ बजारबाट यता रहेका कन्टेनरमा ओसार्दा ढुवानीमा झन्डै दोब्बर मूल्य परेको उनको भनाइ छ । ‘यहाँको भौतिक संरचनाकै कारण कन्टेनर धरापमा राखेझैं हुन्छ, जसले व्यापारिक समस्या बनाएकै छ । त्यहीमाथि ‘चाइनिज रुट सिस्टम’ले सीमित कन्टेनरबाट ढिलो गरी सामग्री भित्रिँदा व्यापारी मारमा छन्,’ उनले भने । गत महिना चीनको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा नेपाल र चीनका उच्च अधिकारीबीच ‘कार्गो’ कन्टेनर आयात बढाउने विषयमा लामो छलफल भएको थियो ।

तातोपानी र केरुङ नाकाबाट २०/२० कन्टेनर सामान छाड्ने चीनको ल्हासामा भएको ‘कार्गो’ बैठक तथा छलफलको प्रमुख सहमति र निर्णय ल्हासामै सीमित रह्यो । चीनले ठाउँको अभाव, कोरोना महामारी र मौसम प्रतिकूलताका कारण देखाउँदै ‘कार्गो’ कन्टेनर आयात तत्कालका लागि नबढाउने सूचना दिएको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए ।

‘प्रतिदिन ६ देखि ७ कन्टेनरबाट अधिकांश रोल कपडा र मेसिनरी, रेडिमेड सामग्री भित्रिरहेका छन् । तर सीमित कन्टेर आउजाउ भइरहेकाले राजस्व बढ्न सकेको छैन,’ उनले भने । तातोपानी भन्सार भित्रिएका दुई कन्टेनर स्याउ कुहिएको भेटिएको र चिनियाँ पक्षलाई यो समस्या राख्दा यसको जिम्मा व्यापारी र सप्लायर्स कम्पनीले लिनुपर्ने जवाफ दिएको उनको भनाइ छ ।

‘नाकाबारे चीन पक्षबाट छलफल नभएको महिनौं भयो, नेपाली व्यापारीको समस्यालाई चीनले त्यति गम्भीर रूपमा लिएको देखिँदैन, चिनियाँ अधिकारी सामाजिक सञ्जालबाट मात्रै जोडिएका छन्, उनीहरूले चाहे मात्रै गफ हुन्छ,’ उनले भने । भूकम्पअघि तातोपानी नाका पूर्ण खुला थियो, नेपाली व्यापारीले खासा र अन्य बजार गएर दुई सय कन्टेनरसम्म सामग्री ल्याउन पाउँथे ।

ज्ञापन बुझाउँदै हैरान

ताल फुट्ने जोखिम र कोभिडको अनेक कारण देखाएर सरकारको गैरजिम्मेवारीकै कारण चिनियाँ पक्षले एकतर्फी आयात मात्रै खुलाएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए । ‘अहिले तातोपानी नाका नाम मात्रैका रूपमा खुलाइएको छ, चिनियाँ मनमौजीमा मात्रै कन्टेनर भित्रिरहेछन् । यहाँको क्षतिग्रस्त भौतिक संरचना बलियो बनाइयोस्, नाकाका लागि ज्ञापनपत्र र पहलकदमी गर्दागर्दै हैरान भइसकेका छौं,’ उनले दुखेसो गरे ।

तातोपानी नाका पुनः पहिलेझैं चल्ने आसमा बसिरहेका झोलेपोकेदेखि ठूला व्यापारी, कन्टेनर, होटल व्यवसायी नाका खण्डहर झैं हुँदा निराश भएको उनको भनाइ छ । नाका सहज बनाउन ज्ञापनपत्र बोकेर ढोकाढोका धाउन थालेको महिनौं बितिसकेको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठ सुनाउँछन् । भूकम्प, बाढीपहिरो र कोभिडको बहानामा चीनले स्थल नाका हुँदै आएको सामग्री आयातनिर्यात व्यापारलाई निरुत्साहित गरेको देखिन्छ ।

तातोपानीबाट व्यापार गर्दै आएका सयौं व्यवसायी चिनियाँ कठोर नीतिका कारण दक्षिणको भर पर्न बाध्य भएको उनको भनाइ छ । ‘उत्तरी नाकाबाट आयात गर्दा ढुवानी भाडा कम पर्ने र सामान छोटो समयमा भित्रने भएकाले व्यवसायी सकभर दक्षिण जान चाहँदैनन् । तर प्रतिदिन १० देखि १२ कन्टेनर छाडेर कति दिनमा सामान ल्याउने ?,’ उनले भने ।

बैंकको ब्याज, गोदाम भाडा र कर्मचारी तलबका कारण सयौं व्यापारी पेसाबाटै र केही विदेश पलायन भएको उनले बताए । व्यापारी, उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघले तातोपानी नाका सहज बनाउन माग गर्दै ६/६ महिनामा प्रधानमन्त्री, मन्त्री र कर्मचारीलाई ज्ञापनपत्र बुझाउँदै आए पनि समाधान हुन सकेको छैन ।

प्रकाशित : माघ ८, २०७८ ०७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×