कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

संक्रमण बढेपछि काभ्रेमा सरकारी सेवा धमाधम बन्द

काभ्रे — कर्मचारीहरूमा कोरोना संक्रमण देखिन थालेपछि जिल्लाका सेवाप्रदायक सरकारी कार्यालयले सेवा स्थगन गर्न थालेका छन् ।

कोरोनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेले अत्यावश्यक बाहेकका सेवा आइतबारदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मको लागि स्थगन गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार आइतबारदेखि केही दिनसम्मका लागि अत्यावश्यक सेवा मात्रै दिइनेछ ।

‘नागकरिता, राष्ट्रिय परिचयपत्र लिन आउनेको कारण अत्यन्त भीड बढ्यो,’ प्रजिअ पाण्डेले भनिन्, ‘केहीमा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भयो, अरुमा पनि मिल्दोजुल्दो लक्षण भएपछि आइतबारदेखि केही दिनका लागि अत्यावश्यक सेवा मात्रै दिने निर्णय भएको हो ।’

कर्मचारीमा समेत संक्रमण देखिएको र अन्यमा समेत संक्रमणको जोखिम भएको भन्दै यसअघि नमोबुद्ध नगरपालिका, भुम्लु, रोशी गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवा स्थगन गर्ने निर्णय गरिसकेका छन् । जिल्ला अदालत काभ्रेपलाञ्चोकले पनि सेवा ‘संकुचन’ गरेको जनाएको छ । सबै प्रकृतिका मुद्दामा आदेश बमोजिम हुने बकपत्रको कार्य र मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १२३ बमोजिम गरिने बयान कार्यहरू मात्रै हुने श्रेस्तेदार गोविन्द घिमिरेले जानकारी दिए ।

शुक्रबारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार २ सय १ पुगेको छ । शुक्रबार १ सय ८४ संक्रमित थपिएका छन् । माघ पहिलो सातामा मात्रै १ हजार २८ संक्रमित थपिएका छन् ।

कोरोना संक्रमण बढ्दैगएको भन्दै कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्ल प्रशासनले यसअघि नै २६ बुँदे आदेशसमेत जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेद्वारा हस्ताक्षरित आदेश अनुसार आमसभा, भेला, जुलुस, गोष्ठी लगायत भीडभाड हुने कार्यक्रम नगर्न भनिएको छ । साथै सार्वजनिक निकायमा खोप कार्ड अनिवार्य गरिनुका साथै विवाह, ब्रतबन्ध, पास्नी जस्ता कार्यक्रम बढीमा ५० जनाको उपस्थितिमा प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।

यद्यपि नीजी, सार्वजनिक यातायात, विभिन्न पसल, व्यवसाय सञ्चालन भइरहेका कारण प्रमुख सहरमा भीड नियन्त्रण भएको छैन । साथै मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी लगायत स्वास्थ्य मापदण्ड पनि उल्लंघन भएको पाइएको छ ।

प्रकाशित : माघ ७, २०७८ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?