वाग्मती प्रदेश सरकारले श्वेतपत्र जारी गर्ने

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सरकारले श्वेतपत्र जारी गर्ने भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार गठन भएको चार वर्ष अवधिको समीक्षा गर्दै श्वेतपत्र जारी गर्ने निर्णय गरेको हो ।

वाग्मती प्रदेश सरकारले श्वेतपत्र जारी गर्ने

‘प्रदेश सरकार स्थापना भएदेखि हालसम्म गरिएको कामको अनुभवसहित प्रगति, कमीकमजोरी र वर्तमान अवस्थालाई समेटेर प्रदेश सरकारले श्वेतपत्र जारी गर्नेछ’, स्वास्थ्यमन्त्री निमा लामाले भने । आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलको संयोजकत्वमा श्वेतपत्र लेखन समिति गठन गरिएको छ । समितिमा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णराज खनाल, स्वास्थ्यमन्त्री लामा र प्रदेश नीति तथा योजना आयोग उपाध्यक्षलाई सदस्य तोकिएको छ ।

बैठकले मुख्यमन्त्री राजेन्द्र पाण्डेको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समितिसमेत गठन गरेको छ । ‘बैठकले मन्त्रीहरूकै संयोजकत्वमा तीनवटा विभिन्न समितिहरू निर्माण गरेको स्वास्थ्यमन्त्री लामाले बताए । उनका अनुसार राजनीतिक, प्रशासन तथा विधेयक, आर्थिक सामाजिक तथा पूर्वाधार समितिसमेत गठन गरिएको छ ।

मन्त्रिपरिषद्को बैठकले मन्त्रालयहरूको कर्मचारी संगठन संरचना र दरबन्दीसमेत स्वीकृत गरेको छ । प्रदेश सरकारले मन्त्रालयको संख्या थपेसँगै कर्मचारी संगठन संरचना नहुँदा काम गर्न समस्या भएको गुनासो मन्त्रीहरूले नै गरिरहेका थिए ।

‘अब कर्मचारीको दरबन्दी र संरचनाको काम टुंगिएको छ’, मन्त्री लामाले भने । प्रादेशिक संरचना निर्माण गर्न प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा जग्गा पहिचान समिति गठन गरिएको छ । समितिलाई प्रतिवेदन बुझाउन सात दिनको म्याद दिइएको उनले बताए ।

बैठकले प्रदेशको वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि-२०७८ समेत स्वीकृत गरेको छ ।

प्रकाशित : माघ ६, २०७८ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?